ठेकेदारको उजुरीले सडक विस्तारमा अवरोध

वीरगन्ज-त्रिभुवन राजपथ अन्तर्गत वीरगन्जको रजतजयन्ती चोकदेखि नेपाल–भारत जोड्ने मितेरी पुलसम्मको सडकमा ठेकेदारले दिएको उजुरीका कारण निर्माण कार्यमा अवरोध सिर्जना भएको छ । व्यापारिक मार्ग विस्तार आयोजनाले रजतजयन्ती चोकबाट नेपाल–भारत मितेरी पुलको आधा भागसम्म १.३ किलोमिटर कालोपत्रेका लागि ३ महिनाभित्र सडक मर्मत सक्ने गरी गत पुस ५ गते जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बसेको बैठकले निर्णय गरेको थियो ।
उक्त सडक नेपालको प्रमुख प्रवेशद्वार भएकोले चाँडै मर्मतका लागि सडक विभागले सात दिनको आकस्मिक सूचना निकाल्न व्यापारिक मार्ग योजना कार्यालय पथलैयालाई निर्देशन दियो । तर, सार्वजनिक खरिद ऐनअनुसारकै प्रक्रिया पु-याएर ३० दिनको लागि टेण्डर आह्वानको व्यापारिक मार्ग योजना कार्यालयले सूचना प्रकाशित ग-यो । त्यसको एक महिनापछि माघ ५ गतेसम्ममा समा कन्स्ट्रक्सनको मात्रै टेण्डरका लागि प्रस्ताव परेको थियो । प्रक्रिया पूरा गरेर आह्वान गरिएको सूचनामा समेत एउटा कम्पनीको मात्रै प्रस्ताव परेपछि योजना कार्यालयले त्यसलाई नै अघि बढाउने निर्णय गरेर समा कन्स्ट्रक्सनसँग सडक कालोपत्रे गर्नका लागि ५ करोडको सम्झौताा माघ २५ मा ग¥यो । तर, अहिलेसम्म काम अघि बढ्न सकेको छैन ।
सडक निर्माणका लागि आह्वान गरेको टेण्डरमा मिलेमतो रहेको भन्दै सगरमाथा इन्फ्राटेकका प्रतिनिधि दीपेशमान महर्जनले माघ १३ गते सर्वोच्चमा रिट हालेपछि सडक मर्मत हुन नसकेको हो । उनले एउटा निर्माण कम्पनीले मात्रै ‘बिडिङ’ गरेकोले मिलेमतो भएको दावी सहित हालेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले ठेक्का प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको यो ।
कानुनी रुपमा अवरोध नभएकोले आर्थिक प्रस्ताव र आशयको प्रस्ताव समेतको सूचना प्रकाशित गरेर काम अगाडि बढाएर टेण्डर स्वीकृत भएको ठेकेदार कम्पनीले २ महिनादेखि सो सडक खण्डमा कालोपत्रेका लागि बालुवा, गिटी र निर्माण उपकरण थुपारेर राखेको छ । तर, सर्वोच्चमा परेको मुद्दाले निर्माण कार्य अवरोध भएको छ । विगत ६ वर्षदेख एकपटक पनि उक्त सडक मर्मत हुन सकेको छैन । यसले गर्दा वीरगन्जबाट रक्सोल आवतजावत गर्ने सवारी आवागमनमा सास्ती हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको स्थानीयको भनाइ छ । इ–बिडिङ मार्फत गरिएको ठेक्का आह्वानमा एकजनाको मात्रै प्रस्ताव परेपनि यस विषयमा थप आयोजनाले आह्वान गरेको टेण्डरका प्रावधानहरुको हेरफेर, सुधार, गुनासो र उजुरी सुन्ने उद्देश्यले टेण्डर खुल्नु सात दिनअघि प्रिबिडिङ बैठक पनि राख्ने गरिएको नियम अनुसार पुस १९ गते आयोजनाले टेण्डर खोल्नुअघि राखेको प्रिबिडिङ बैठकमा समेत कोही पनि नआएपछि प्रक्रिया अगाडि बढाउँदा निर्माण कम्पनी उजुरीमा गएको कार्यालयको भनाइ छ । अबको एक महिनापछि बर्खा सुरू हुने भएकाले यो वर्ष काम नहुने सम्भावना बढेको आयोजनाको भनाइ छ । ठेक्का पाएको निर्माण कम्पनीले काम अघि बढाउन तयार भए पनि सर्वोच्चको आदेशका कारण काम रोकिएको समा कन्स्ट्रक्सनका सञ्चालक जहुर आलमले बताए ।
व्यापारिक मार्ग योजना कार्यालयका प्रमुख इञ्जिनियर मनिष कुमार साहले टेण्डर आह्वान गर्दा प्रस्ताव पेश नगर्ने तर नियमानुसार प्रक्रियामा आएका कम्पनीहरुलाई पनि काम गर्न नदिने नियत देखिएको बताए । टेण्डर भर्न नआउने, इ–बिडिङमा पनि सहभागी नहुने, प्रिबिडिङको बैठकममा पनि उपस्थित नहुने तर, मिलेमतो भयो भनेर उजुरी मात्रै हाल्नुले पनि कुनै निर्माण कम्पनीको नियत लुकेको देखिएको भन्दै प्रमुख साहले सोही व्यहोरा अनुसारको प्रतिवेदन पनि सम्बन्धित निकायहरुमा बुझाइसकिएको बताए ।