Logo

रोग लाग्दा अलैंची खेतीबाट घाटा

रुकुम-पछिल्लो समय रुकुम पश्चिमका किसानले व्यावसायिक रुपमा सुरू गरेको अलैंची खेतीबाट घाटा व्यहोर्नुपरेको छ ।
रोग र प्राविधिक ज्ञानको कमी हुँदा अलैंची खेतीबाट जिल्लाका व्यावसायिक किसानले घाटा व्यहोर्नुपरेको हो । थोरै मेहनतले पनि मनग्ये आम्दानी गर्न सकिने अलैंची खेतीले कतिपय किसानको आर्थिक जीवनस्तर बदलिएको छ । तर रुकुम पश्चिमका अलैंची किसानले ओसिलो जमिनमा सुरू गरिएको अलैंची खेतीबाट घाटा भएको बताउँदै आएका छन् । छिर्के रोग तथा अन्य कारण अलैंचीका बोट र पात सुक्दै गएको किसान उज्जवल खड्काको भनाइ छ ।
अलैंची खेतीका लागि जिल्लाका ६ वटै पालिकाको हावापानी उपयुक्त मानिन्छ । यसकारण पनि यहाँको माटो र हावापानी अनुसार जिल्लास्थित पालिका स्तरका सबै कृषि शाखाले अलैंची खेतीका लागि किसानलाई अनुदान समेत दिँदै आएका छन् । तर किसानले लगाएको अलैंची खेती नोक्सान भएर जाने समस्याका कारण जिल्लाभरका व्यावसायिक अलैंची किसान मर्कामा परेका छन् ।
उत्पादन भएको अलैंचीलगायत अन्य कृषिजन्य वस्तुको निर्यात तथा सहज बिक्रीका लागिसमेत समस्या भएको किसानको गुनासो छ । तर मुसिकोट नगरपालिका उपप्रमुख प्रेमकुमारी केसीले किसानले उत्पादन गरेको कृषि उपज सहज रुपमा निर्यात तथा समस्या समाधान गर्न स्थानीय सरकार लागिपरेको बताउँछिन् ।
रुकुम पश्चिममा किसानलाई लक्षित गर्दै विभिन्न पालिकामा स्थापना भएका केही मसलाजन्य उद्योगहरु सञ्चालनमा आएर हाल बन्द भएका छन् । यसबाट जिल्लाका किसान समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्