Logo

ठेकेदारले प्रतिबद्धता जनाए योजना सम्पन्न गरेनन्

म्याग्दीमा सञ्चालन भएका ठूला विकास निर्माणका योजना कहिल्य सम्पन्न हुने भन्ने निश्चित छैन । चालू आवको चैत मसान्तसम्म निर्माण ब्यवसायीले योजनाहरूको काम थप भएको समयमा सक्ने प्रतिबद्धता जनाए पनि ढिलासुस्ती गरेका छन् । २९ कात्तिकमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा जनप्रतिनिधि, राजनीतिक दल, पूर्वाधार विकास कार्यालय र निर्माण ब्यवसायीबीच विकास योजनाहरूमा चैत मसान्तभित्र सक्ने प्रतिबद्धता जनाएका थिए । चैत महिना सिद्धिन एक हप्ता बाँकी रहेको बेला पूर्वाधार विकास कार्यालयमा योजनाहरूको प्रगति हेर्दा निर्माण ब्यवसायीको प्रतिबद्धता कार्यान्वयन भएको देखिँदैन ।

पूर्वाधार विकास कार्यालयको तथ्यांकअनुसार चालू आवमा संघको सडकतर्फ २७ प्रतिशत, प्रदेशको सडकतर्फ २१ प्रतिशत भएको प्राविधिक अधिकृत अर्जुन शर्माले जानकारी दिए । कार्यालयका अनुसार, प्रदेशको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत बेनी–दरवाङ सडकअन्तर्गत बेनीदेखि सीमचोकसम्मको साढे १२ किलोमिटर सडक कालोपत्रे गर्ने योजनाका लागि २०७६ माघभित्र सम्पन्न गर्ने गरी लामा समानान्तर जेभीले २०७४ साउनमा ४७ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेको थियो । योजना सम्पन्न गर्न पटक पटक गरी थप भएको म्यादसमेत थपिए पनि हालसम्म ६७ प्रतिशतकाम सम्पन्न भएको देखिन्छ ।
त्यसैगरी गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुनको सिफारिसमा एक निर्वाचन क्षेत्र एक सडक आयोजनाअन्तर्गत बेनी–दरबाङ सडकखण्डको रणबाङदेखि दरबाङसम्मको ६ किलोमिटर ८ सय मिटर सडक कालोपत्रे योजनाको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत देखिएको छ । २०७६ जेठमा विरुवा क्याराभान जेभीले २०७८ जेठभित्र सम्पन्न गर्ने गरी २२ करोड ४७ लाखमा ठेक्का लिएको थियो । वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत नै योजना सञ्चालन भएको गलेश्वर–पिप्ले–भगवती कालोपत्रे सडक योजनाको भौतिक प्रगति ६५ प्रतिशत छ भने वित्तीय प्रगति ६० प्रतिशत रहेको छ । आठ किलोमिटर दूरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्रेसहित स्तरोन्नतिका लागि २७ जेठ २०७६ मा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी एपेक्स–खड्का कृष्ण जेभी काठमाडौले भ्याटसहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
त्यसैगरी बेनी–बागलुङ सडकखण्डअन्तर्गत खवरादेखि रत्नेचौर खण्डको योजनासमेत अलपत्र परेको छ । निर्माण सम्पन्न नहुँदै निर्माण कम्पनीले काम रोकेपछि सडक जीर्ण बन्दै गएको छ । यस खण्डको सडक कालोपत्रे गर्न नागार्जुन–देभ एण्ड सायर–विएन जेभीले २०७७ असोजभित्रै सक्ने गरी ठेक्का लिएको भए पनि अहिलेसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ भने काम अलपत्र बनेको छ । बेनी–खबरासम्म एक हजार २ मिटर सडकको प्रगति ६५ प्रतिशत देखिएको छ । भूकम्पप्रभावित सडकअन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सञ्चालन गरेको अन्नपूर्ण गाउँपालिकाको पाखेरेबगरदेखि चित्रेसम्मको साढे १८ किलोमिटर सडक कालोपत्रे गर्ने योजनासमेत अलपत्रजस्तै बनेको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको कामसमेत सुस्त बनेको छ । कालोपत्रे सहित स्तरोन्नतिका लागि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम खण्डको काम पनि सुस्त गतिमा छ । थप भएको समयमा सम्पन्न नहुने देखिन्छ । जिल्लामा सञ्चालित सडक, अस्पताल भवनलगायतका पूर्वाधार योजनामा भएको चरम ढिलासुस्ती प्रति राजनैतिक दल, जनप्रतिनिधि, सम्बन्धित कार्यालय र प्रशासकहरूलाई समेत आलोचित बनाएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले काम नगर्ने निमार्ण ब्यवसायीलाई कारबाहीको प्रक्रिया र भौतिक प्रगति राम्रो र काम गरिरहेको योजनाका निर्माण ब्यवसायीलाई कामको प्रगति हेरेर संघ र प्रदेशले निर्णय लिन आवश्यक रहेको बताए । योजना कार्यान्वयन गर्ने कार्यालय र संघ र प्रदेशले ताकेता गरे पनि ठेकेदार सम्पर्कमा नआउने, आए पनि काम नगर्ने प्रवृत्ति निर्माण ब्यवसायीमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्