Logo

आयात नियन्त्रण गरेर वैदेशिक मुद्रा सञ्चिति वृद्धि हुन्छ भन्ने हुँदैन

दोस्रो पुस्ताको ब्यापारी रमेश शेर्पा सिल्क गु्रपको अध्यक्ष हुन् । सिल्क गु्रपले ब्यापार, जलविद्युत, यातायात तथा पारवहनलगायतका १२ विभिन्न ब्यवासाय गर्दछ । नेपालकै सबैभन्दा ठूलो ढुवानी सेवाको निर्माणमा संलग्न सिल्क ग्रुपले हालैका दिनमा चीनबाट मल पनि आयात गर्दछ । हरेक वर्ष खेतीको समयमा मल अभाव हुने नेपालमा चीनबाट ठूलो परिमाणमा मल आयात गर्ने सिल्क ग्रुपका अध्यक्ष शेर्पासँंग नेपाल चीन ब्यापार, आयात तथा निर्यातको अवस्था एवं सरकारले निर्यात प्रवद्र्धन गर्ने उपाय, आयातमा कठोर भएपछिका समस्यालगायतका विविध विषयमा कारोबारले गरेको कुराकानीको सार :

सरकारले आयात धेरै भयो भनेर नियन्त्रण गरिरहेको छ । राष्ट्र बैंकले पनि आयातमा थप कडाइ गर्ने निर्देशन दिएको छ । एउटा ब्यापरीको नजरबाट हेर्दा आयात नियन्त्रण गर्नु नै विदेशी मुद्रा सञ्चितिको उपाय हो ?
अब यो सञ्चितिको उपाय राज्यले बुझ्ने उपाय हो । तर पनि मेरो विचारमा व्यापारलाई निरत्साहित गरेर र आयातमा नियन्त्रण गरेर वैदेशिक मुद्राको सञ्चिति वृद्धि हुन्छ, अर्थतन्त्रको सूचकमा सुधार आउँछ भन्ने मलाई लाग्दैन । किनभने यो आयातलाई निरुत्साहित गर्नेबित्तिकै त्यसको अल्टरनेटिभ उपायको केही भिजन मिसन नभईकन एकैपटक रोक्दाखेरि अर्थतन्त्र झन् कुन स्थितिमा पुग्छ भन्ने कुराको विश्लेषणचाहिँ भएन । किनकि सरकारले अब आगामी नीति, यो मितिबाट यो योजना जाने भन्ने नीति अख्तियार गरेको भए अर्थतन्त्र र डलर सञ्चितिमा सुधार हुने, राहत हुने देखिन्थ्यो । तर, सरकारले अहिले तत्कालै लागू गर्न नियन्त्रण गरेर निजी क्षेत्रलाई निरुत्साहित गरेर कसरी अर्थतन्त्रमा सुधार आउँछ ?

यहाँहरूले मल आयात गर्नुहुन्छ, मल नेपालमा हरेक वर्ष समस्या हुने कमोडिटीमा पर्छ । नेपालमा मल हरेक वर्ष किन समस्या हुन्छ ?
नेपालमा हरेक वर्ष मलको समस्या योजना नहुँदा हुने गरेको छ । मलको आयात गर्नका लागि टेन्डर गर्न कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ नेपालले मात्र निकाल्ने गरेको छ । कृषिको मिसन भिजन छुट्टै हुन्छ, कम्पनीको छुट्टै हुन्छ । कम्पनीले कम्पनी मोडेलमा आयातका लागि प्रक्रिया अगाडि बढाउने भयो, संस्थानले सरकारी (मन्त्रालय) प्रक्रियाबाट अगाडि बढाउने भयो, मन्त्रालयले आयातका लागि गरेको प्रक्रिया कम्पनीले गर्न नसक्ने, कम्पनीले आयातका लागि गर्ने प्रक्रिया मन्त्रालयले गर्न नसक्ने र समन्वयको अभावले गर्दा आयातमा समस्या भएको मैले बुझेको छु ।

यतिमात्र हो कि अन्य केही कारण रहेका छन् ? मूल्यको अन्तरमा पनि खेल्ने गरिन्छ भनिन्छ नि ?
यसमा पनि मन्त्रालयले र कम्पनीको प्रक्रियागत ढिलाइमा हुने समस्याले गर्दा म्यानुपुलेसन सुरु हुने नै भयो । अब सप्लाइमा भनूँ वा पेमेन्टमा भनूँ वा हरेक चिजमा समस्या हुने नै भयो ।

यो मलको कुरा गर्दाखेरि हरेक वर्ष दोहोरिरहने समस्या भएकाले गर्दा अर्काे वर्षमा आउने समस्या समाधानका लागि यो वर्ष नै प्रक्रियागत रूपमा समस्या समाधान गर्न सकिँदैन ?
यो वर्ष कोभिड–१९ कोे कारणले गर्दा विश्वभर नै समस्या रहेको छ । साथै विश्वमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा पनि समस्या आएको छ । यसका अतिरिक्त हामीले गर्ने योजन सही समयमा नहुँदा पनि पछिल्लो समयमा समस्या बढेर गएको छ । भारतबाट मात्र किन सप्लाइमा जोड दिएको छ । सरकारले जीटूजीमा जोड दिएको त्यो पनि भारत सरकारसँग नै, यता चीनबाट पनि आयात गर्न सकिने अवस्था छ । विश्वभर नै चीनले आपूर्ति गरिरहेको अवस्था छ, हामीले चीनसँग चाहिँ किन जीटूजी नगर्ने ? उत्तरी नाकाबाट आयात गर्न सहज रहेको छ । यसमा हाम्रो कम्पनीले प्रमाणित गरेर देखाएको पनि छ । यसले गर्दा चीनबाट आयात किन नबढाउने त ?

उत्तरी नाका सहज छ भन्नुहुन्छ, तर सन् २०१५ यता अन्य आयात गर्ने व्यापारीले आपूर्तिमा चीनले सहज नगर्दा समस्या आएको भन्दै आएका छन् । मल भने समयमा आउँछ भन्नेमा कसरी ग्यारेन्टी छ ?
यसमा कस्तो रह्यो भने भूकम्पपछि चाहिँ बोर्डर शून्यबाट सुरु भएको थियो । त्यो चिजमा हाम्रो कम्पनीले सुरुमा इनिसिएसन लिएको थियो । यसमा अप्स एन्ड डाउन हामीले नै पाएका थियौं । उतारचढाव हुँदाहुँदै पनि भोगाइ र भोगाइबाट धेरै चिज सिकियो । भूकम्पले चीन तथा नेपालको भन्सार प्रशासनमा केही ढिलाइ र सप्लाइको चेनमा ब्रेक लगायो । नेपालतर्फ भने केही समयमा नै सक्रिय भयो, किनभने नेपाल आयातमुखी देश हो । आयात सक्रिय नगर्दा समस्या हुने हुँदा नेपाल पहिलेको लयमा फिर्ता भयो । चीनले भने विस्तारै यसमा सुधार गरेको छ । यसले गर्दा विगतमा दुवै देशको प्रशासनिक प्रक्रियागतमा मिलन भएको थिएन, पछिल्लो समयमा भने दुवै देशमा भनेको प्रशासनिक कार्यमा मिलेर गएको अवस्था रहेकाले गर्दा सहज भएको छ ।

भारतसँग जस्तै नेपालले चीनसँग जीटुजी गरेमा समयमा नै मल सप्लाइ हुन्छ भन्ने ग्यारेन्टी के छ त ?
यसको ग्यारेन्टी के छ भने नेपालको बोर्डरभन्दा नजिकै उद्योग छ । त्यो आन्तरिक उद्योग हो । यो नेपालबाट धेरै नजिक रहेको छ । त्यहाँबाट नेपालको ट्रान्जिट समय ३ देखि ४ दिनको हो । यो कारणले गर्दा हामीले काम गर्न सक्ने अवस्था छ हामीले गरिरहेका छौं पनि । सरकारले यसमा सुधार गर्नुपर्छ । हामीले चीनसँग गर्ने कुराकानी सहज नहोला, हामीले गर्ने प्रशासनिक उल्झन होला । तर, किन प्रयास नगर्ने ? सरकारले अब यो तबरबाट पनि सोच्नुपर्ने अवस्था आएको छ । सुरुवात गर्न सकेको खण्डमा सहज रहेको छ ।

दूरीका हिसाबले तीन दिनमा आउँछ भन्नुभयो तर मूल्यमा फरक पर्ला नि ?
ग्लोबल टेन्डरमा आयात भइरहेको छ । मोर देन ७० प्रतिशत आयात चीनबाट नै भइरहेको छ । यसले गर्दा मूल्यमा कुनै लागत थप लाग्ने कुरा नै भएन ।

नेपालमा सरकारले मल कारखाना खोल्ने योजना अगाडि सारेको छ । नेपालमा मल उत्पादन गर्नु र भारत चीनबाट आयात गर्नु कुन सहज उपयुक्त हो ?
मेरो विचारमा यो ब्लक आइटम हो । उत्पादन गर्ने हो भने पनि ब्लकमा उत्पादन हुनुपर्छ । ग्यासमा पनि ब्लकमा प्रयोग गर्दा एकपटक मात्र प्रयोग गर्नुपर्छ । नेपालमा कुनै पनि ग्यास उत्खननका लागि खानी छैन, हामीसँग हुने भनेको बिजुली हो । बिजुलीले मात्र पनि हुँदैन । यसका लागि ठूलो मात्रामा पूर्वाधारको पनि आवश्यकता पर्ने गर्छ । जीटुजीबाट नै चीन सरकारबाट चाइनाकै बोर्डरमा उद्योग खोलिदिनुस्, हामी त्यहाँबाट यति भोलममा लिन्छौं भनेर फिक्स गर्न सकेको खण्डमा उत्तम हो हाम्रो लागि । तर, व्यवसायीको हिसाबले हेर्दा त ग्लोबल टेन्डरबाट नै मेरो लागि राम्रो हो ।

यसको अर्थ नेपालमा मल कारखाना खोल्नु फिजिबल छैन ?
छैन । फिजिबल त्यो समयमा हुन्छ जुन बेला हामीले मल उत्पादन गरेर भारत तथा अन्य देशमा नियात गर्ने वातावरण विकास हुन्छ । भारतमा निर्यात गर्न सक्ने सम्भावना रहेको छ । तर, ग्यास हामीले भारतबाट नै ल्याउनुपर्छ । भारतबाट नै ल्याउने, भारतमा नै निर्यात गर्ने गर्दा लागत बढ्ने भयो । यसकारण हामीले निर्यातका लागि किन धेरै सोच्ने ?

मलबाहेक अरू अन्य ब्यापारको स्थिती कस्तो छ ?
मलबाहेक उत्तरी नाकाबाट निर्यात गरिन्छ । यसका साथै सिल्क ट्रान्सपोर्ट जोडेका छौं । चीनदेखि काठमाडौंसम्म ढोकाढोकामा सेवा दिइरहेका छौं । उत्तरी नाका सिन्डिकेट, लो लेबलको व्यवसाय भनेर चिनिने परम्परलाई विस्थापित गर्न खोजेको छु । झोले व्यवसायी भन्ने, सामान्य सामग्री ल्याउने भन्ने लगायतका विम्बहरू चिरेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको काम अघि बढाएको छु ।

चीनसँगको निर्यात व्यापार एकदमै कम देखिन्छ, आयात मात्र बढेको देखिन्छ, समस्या हो ?
आयात स्वाभाविक हो । ट्रेडिङ व्यवसाय मात्र गरेको हुँदा नेपाली व्यवसायीलाई तुरुन्त पैसा चाहियो । चिनियाँ उत्पादन एसम्बल गरौं, कच्चा पदार्थ ल्याएर उत्पादन बढाऔं भन्ने धैर्यता हामीसँग भएन । यसमा सरकारको कमजोरी छ । आज बैंकिङको कुरा गर्दा एसम्बल, कच्चा पदार्थ ल्याउने व्यवसायीलाई साथ दिएमा उनीहरू उत्साहित हुन्छन् । तर, त्यसो गरेको छैन । बैंकले पनि आयात गर्दा प्रतीतपत्र खोलिदिने तर निर्यात गर्नका लागि उत्पादन गर्दा कर्जा दिनेलगायतका सुविधाहरू दिएर प्रमोसन गरेको छैन । त्यो भएको कारण ट्रेडिङ व्यवसायीमा परिवर्तन भएका छन् भने ठूला व्यवसायीहरूसमेत यसमा लागेका छन् । यसको कारण भनेको सरकारको नीतिको कमजोरी हो । जसले उत्पादन गर्छ, रोजगारी प्रदान गर्छ, उसलाई प्रोत्साहन गर्नु आवश्यक छ ।
जस्तो उत्तरी नाकामा आयात मात्र भएको छ, तर निर्यात भएका छन् । यस विषयमा सरकारले खोजतलास गर्नुपर्ने नि, तर ध्यान नै दिएको छैन । चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण भर्खर भयो, सो समयमा निर्यात खुला गरे भनेर सरकारले प्रेसर दिनुपर्छ नि, बरु आयात जेसुकै गर । उक्त वार्ता गरेको भए निर्यातको सुरुवात हुन्थ्यो नि । अहिले डलर पठाएर निर्यात गर्नुपर्ने अवस्थामा त निर्यात भइरहेको छ भने सीमा खुला गरेमा कति धेरै निर्यात हुन्थ्यो होला । हामी फ्रिजमार्फत नेपालमा उत्पादित तरकारीहरू चीनमा निर्यात गर्ने सोच बनाइरहेका छौं ।

निर्यात प्रोत्साहन गर्नका लागि सरकारले पूर्वाधारमात्र विकास नगरेको हो कि यीबाहेक अन्य समस्या पनि छन् ?
सरकार तथा सरकारी निकाय जतिखेर समस्या आए त्यतिखेर समाधान गर्न तयार हुन्छ । त्यो समाधानको विषय हो । हामीसँग स्रोत छैन भने त्यसका लागि अहिलेदेखि तयारी गर्नुप¥यो । यसका लागि पूर्वतयारी गर्नुपर्ने समस्या छ भने त्यसको पहिचान गरेर समाधानका उपाय खोज्नु आवश्यक छ । लामो समयका लागि पूर्वतयारी गर्नुपर्छ । आज तयारी गरेमा अबको पाँच–छ वर्षपछि समस्या समाधान हुन्छ ।

चोभार सुक्खा बन्दरगाह उद्घाटनपछि त्यसले नेपालको आयात–निर्यात ब्यापारमा कत्तिको सुधार ल्याउँछ ?
यो आयातलाई नै प्रोत्साहन गर्नका लागि सरकारले भन्सार निर्माण गरेको हो । त्यो सँगसँगै के–कस्ता सामग्रीका आयातमा सहजीकरण गर्ने÷नगर्ने भन्ने यकिन गर्नु आवश्यक छ । यो त बैंकले पैसा छ, लिएर जाऊँ भन्ने अहिले पैसा छैन लिन नआऊ भन्ने अभ्यास छ, सरकार पनि त्यही अवस्थाबाट हिँडेको छ । आज तरलता छ भन्ने, फेरि छैन भन्ने । त्यसरी व्यवसाय चल्दैन, सरकार ढल्छ भनेर व्यवसाय सञ्चालन त हुँदैन, व्यवसाय त नियमित चल्नुपर्ने हो । तर, अहिलको अवस्था सरकार ढले व्यवसायी पनि ढल्ने सरकार उठे व्यवसायी पनि उठ्ने पर्ने अवस्था छ यसरी व्यवसाय सञ्चालन हुँदैन । अब आज राष्ट्र बैंकले आयात रोकेका वस्तुहरूको विषयमा अब हामी कहाँ भन्न जाने ? यो व्यवसायीको समस्या होइन नि । यो त सरकारको समस्या हो । सरकार अध्ययन नगर्ने, अनुसन्धान नगर्ने, योजना नबनाउने अनि आफूखुसी निर्णय लिने ।

तपाईं दोस्रो पुस्ताको ब्यवासायी हुनुहुन्छ, तपाईंका अबका योजना के छन् ?
मेरो योजना भनेको हामीले भारतबाट जति पनि व्यवसाय गरेका छौं, त्यो विश्वसनीय, सन्तुलित छ । यही कुरा मैले चीनबाट हुने व्यापारमा स्थापना गर्न खोजिरहेको छु । भारत र नेपालको व्यवसायीबीच जुन प्रकारको कार्यशैली, सोचाइ, व्यवसाय सञ्चालन, व्यवसायको मोडलहरू छन्, उक्त कुरा चिनियाँ व्यवसायमा वितरण गर्ने योजना छ । व्यवसाय भन्नेबित्तिकै आर्थिक पाटो जोडिएको हुन्छ, यो एक प्रकारको वितरण हो । त्यसका साथै सहज वातावरण बनाइदिने मेरो लक्ष्य छ ।

हाम्रो तथ्यांकले भारतसँग त व्यापारघाटा देखाउँछ नै, चीनसँंग पनि बढ्दो क्रममा छ । चीनसँग पनि व्यापारघाटा झन् बढाउँदैन ?
नेपालमा आयात गर्नु हँुदैन भनेर म कहिले पनि लाग्दिनँ । तयारी वस्तुहरू आयात गर्नु हुँदैन, त्यो मान्छु । तर हामी कच्चा पदार्थ आायत गर्न सक्छौं । कच्चा पदार्थ आयात गरेर पनि उत्पादन गर्न नसक्नु भनेको हाम्रो कमजोरी हो नि । चीनबाट कच्चा पदार्थ ल्याउने, प्राविधिक पनि चीनबाट ल्याउने र यहाँ उत्पादन गरेमा त्यो सस्तोमा उत्पादन हुन्छ । जसले गर्दा लागत घट्छ । म निर्यातमा लागेको छु । यो किन सम्भव छ । तातोपानीबाट आठ–नौ सय किलोमिटरमा तिब्बतको राजधानी पर्छ । त्यो उच्च भागमा रहेको एक प्रकारको मरुभूमि हो, जसले गर्दा त्यहाँ केही पनि उत्पादन हुँदैन । जसले गर्दा मेनल्यान्डबाट ल्याउने, जसले गर्दा उच्च मूल्य पर्न जान्छ । चीन आफैं पनि शतप्रतिशत हाइब्रिड छ, अर्गानिक एउटा पनि छैन । हाम्रो मुलुकमा हेरौं भने हाम्रो वातावरण भूबनोट विश्वमा छैन । यहाँ उत्पादित सामग्रीहरू थोरै अर्गानिक बनाएर तिब्बतमा निर्यात गर्ने हो भने उच्च मूल्यमा बेच्न सक्छौं । यसको उपयोग बृहत् छ । त्यसैले म नेपाली किसानहरूलाई कसरी हुन्छ, १०–१५ वर्षअघिको अवस्था जसरी नै उत्पादन गर्न लगाउने । यो कसरी भने उनीहरूलाई आफ्नो उत्पादनको उच्च मूल्य दिएर । उच्च मूल्य दिएमा उनीहरूले मागअनुसारको उत्पादन दिन्छन् नि । अहिले मूल्य नपाएका कारणले गर्दा किसानहरूले अर्गानिक उत्पादन गर्न तयार छैनन् । जसले गर्दा रासायनिक मलमा जानुपरेको हो । जुन उत्पादन तिब्बतमा निर्यात गर्ने उद्देश्य रहेको छ, जुन कुरा चीनसँगको व्यापारमा पनि मेरो योगदान रहन्छ भन्ने म ठान्छु ।

प्रतिक्रिया दिनुहोस्