Logo

वातावरणीय पक्षमा संवेदनशील बन्न जलविद्युत प्रवद्र्धकलाई सुझाव

जलविद्युत प्रवद्र्धकहरूले जलविद्युत आयोजना विकास गर्दा वातावरणीय अध्ययन, सामाजिक व्यवस्थापनमा संवेदनशील हुन सुझाव दिइएको छ । हिमालयन हाइड्रो एक्पोको जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा सामाजिक व्यवस्थापनसम्बन्धी अन्तरकृयाका सहभागीले आयोजनामा हुने लगानीको दिगो प्रतिफल सुनिश्चितताका लागि यस्तो आवश्यकता रहेको औंल्याएका हुन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत मनिशराज पाण्डेले जलवायु परिवर्तनका असर वर्तमानमा मात्र नभएर भविश्यका लागि थप चुनौतीपूर्ण हुने आकलन गरे । नेपालका अधिकाँश जलविद्युत आयोजना पहाडी इलाकामा बन्ने र संरक्षण गर्नुपर्ने क्षेत्रमै आयोजना धेरै हुँदा विकास र वातावरणलाई सन्तुलित रूपमा लैजानुपर्ने आवश्यकता रहेको बताए । “हामीले जलचर संरक्षण पनि गर्नुपर्छ नि । विगतका पाठका आधारमा भावी दिनमा कार्ययोजना बनाउनु पर्ने महसुस हामीले गरेका छौं । एकीकृत जल उपयोग नीतिअनुसार नदी बेसिनमा आधारित विद्युत विकासमा जाँदा जलको उचित व्यवस्थापन सामाजिक आर्थिक वातावरणीय कुरामा संवेदनशील बन्नैपर्छ,” उनले भने ।
सानिमा हाइड्रोका प्रमुख डा. सुवर्णदाश श्रेष्ठले वातावरणीय सामाजिक विषयवस्तुलाई हामीले प्राथमिकतामा नराखेकै कारण क्षति भोग्नु परेको दृष्टान्त प्रस्तुत गरे । “अब जलविद्युतमा लगानी मात्र सोच्ने होइन वातावरण सामाजिक व्यवस्थापनमा सोच्नु पर्छ । जलवायु परिवर्तन, आयोजनाको दिगोपन, स्थानीय सहभागितामा जान सकेमात्र हाम्रा आयोजना र त्यसको प्रतिफल दिगो हुनेछ,” उनले भने । वातावरणीय व्यवस्थापनमा वृक्षारोपणका लागि क्षेत्र पहिचान र विस्तार गर्न सरकारी कार्याशैली गलत रहेको टिप्पणी उनको थियो । उनले भने, “आयोजना बनाउँदा वृक्षारोपण कहाँ गएर गर्ने जमिन नै पाएनौं । हामी विरुवा हुर्काउन तयार छौं । नेपालको नाँगा डाँडा दिनुस न हामी खुसीसाथ गर्न तयार छौं । तर हामी आयोजनास्थल नजिकै किन्दै जाने कुराको समीक्षा गरौं ।”
डोल्मा इम्प्याक्ट फन्डका अधिकारी विद्यावारिधि सिग्देलले विदेशी लगानी ल्याउन विश्व प्रचलित मान्यताअनुसारका प्रतिवेदन खोज्ने बताउँदै पूर्वतयारीमा विशेष ध्यान दिन आग्रह गरे । कतिपय प्रवर्दक लाइसेन्समात्र बोकेर लगानी खोज्न आउँदा सफल नहुने गरेको उनको भनाइ थियो । स्थानीय समुदायका समस्यालाई हेर्ने दृष्टिकोणमा पनि फरक बनाउन आवश्यक रहेको औल्याए । “हामी आयोजना बनाउन आफ्नै ढंगले शान्तरूपमा बसेका अरुको समाजमा छिर्दैछौं । अनि स्थानीयमाथि हामीले पनि त एक खाले हस्तक्षेप गर्दैछौं । खोलै घुमाउन खोज्छौं त्यसको असर उनीहरूले भोगेका समस्या सामान्य कुरा होइन भन्ने बुझौ,” उनले भने ।
एनएमबी बैंकका सरद तुलाधरले वातावरण र सामाजिक पक्षलाई व्यवस्थित गर्न सरकारी निकायको सकारात्मक भूमिकाको अपेक्षा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्