दुई वर्षमा ३५९ योजना निर्माण
सडक, सिँचाइ र शिक्षामा जोड

जुम्ला-स्थानीय सरकारले गाउँको विकटता र नागरिकको आवश्यकतालाई मध्यनजर गरी पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएका छन् । सोहीअनुसार बितेको पाँच वर्षमा जुम्लाका आठै स्थानीय तहका ६० वटै वडामा सडक पुगेका छन् ।
खानेपानी, कृषि, सिँचाइ, स्वास्थ्य, शिक्षा, पर्यटन क्षेत्रको भौतिक पूर्वाधार विकासदेखि नीति निर्माणमा पनि स्थानीय तह अग्रसर भएको देखिन्छ । यसैबीच जुम्लाको तातोपानी गाउँपालिकाले पनि विगत दुई आर्थिक वर्षमा पूर्वाधार विकासलाई जोड दिँदै आएको पाइएको छ ।
शुक्रबार पालिकामा आयोजित आव २०७६-०७७ र आव ०७७-०७८ को सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रगति विवरणअनुसार शिक्षा, स्वास्थ्य, यायातात पूर्वाधार, खानेपानी, सिँचाइ, पर्यटनलगायतका क्षेत्रमा पूर्वाधार विकासलाई जोड दिँदै ३ सय ५९ वटा योजना निर्माण गरेको पाइएको हो । कोरोना महामारीले गत दुई आवको सार्वजनिक सुनुवाइ रोकिएको थियो ।
असीमित नागरिकका आवश्यकता र सीमित स्रोतका बीच पनि तातोपानीले पालिकाका ८ वटै वडाको विकटता र आवश्यकतालाई मध्यनजर गरी पूर्वाधार विकासमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए । उनले सार्वजनिक सुनुवाइमा पालिकाको आयव्ययसमेत प्रस्तुत गरे । स्रोत भएर पनि आन्तरिक आयमा स्थानीय तह कमजोर भएकाले आयवृद्धिमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
त्यस्तै तातोपानीका अधिकृतस्तर छैटो ओमबहादुर चन्दले आव २०७६÷०७७ र आव ०७७÷०७८ को प्रगति विवरण प्रस्तुत गरेका थिए । जसमा आव २०७६÷०७७ मा ६ करोड २४ लाख ७० हजार लागतका १ सय ४७ वटा योजना निर्माण सम्पन्न भएका छन् । पुँजीगततर्फ विनियोजित १२ करोड ३९ लाख ५८ हजारमध्ये कोरोना कहरका बीच ५० दशमलव ३९ प्रतिशत विकास खर्च भएको छ । यस आवमा सबैभन्दा बढी यातायात सडक पूर्वाधारका ४१, सिँचाइका २४, भवन १३ लगात १ सय ४६ योजना निर्माण सम्पन्न भएका हुन् ।
त्यस्तै, आव ०७७-०७८ मा तातोपानीले झण्डै १२ करोड ७१ लाख ४५ हजार ४ सय रुपैया खर्चेर झण्डै २ सय १३ वटा विभिन्न योजना निर्माण गरेको छ । बजेट खर्च हुने समय चैत यता दोस्रो लहरको कोरोना फैलिएपछि लक्ष्य अनुसार बजेट खर्च हुन सकेन । जसका कारण पुँजीगततर्फ विनियोजित कुल २१ करोड १४ लाख ८१ हजार बजेटमध्ये ६० दशमलव १२ प्रतिशत अर्थात् साढे १२ करोड बढीमात्रै खर्च भएको छ ।
विशेष गरी सडक, सिँचाइ, कृषि र शिक्षाको विकासमा प्राथमिकता दिइएको छ । दुई वर्षमा सिँचाइका ३८ र सडकका झण्डै १ सय योजना निर्माण भएका छन् भने शिक्षामा स्थानीय खष भाषाको पाठ्यक्रम निर्माण र शिक्षकको क्षमता विकामा जोड दिइएको छ ।
दुई आर्थिक वर्षको प्रगति विवरणअनुसार कोरोना कहरका बीच १८ करोड ९६ लाख १६ हजारबढी रकम खर्चेर पालिकाका ८ वटामा शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइका करिब ३ सय ५९ वटा योजना निर्माण भएका छन् । सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको सम्बोधन गर्दै तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले सुरुवातदेखि नै पूर्वाधार विकासलाई जोड दिँदै समृद्ध पालिका बनाउने अभियानमा जुटेको बताए । उनले भने, “सीमित स्रोतले नागरिकका सबै अपेक्षा पक्कै पूरा भएका छैनन् । तर गाउँगाउँमा सडक, खानेपानी, सिँचाइ पुगेको छ । पालिकाका २८ वटै विद्यालयमा अर्गानिक खाजा खुवाउने नीति बनेको छ । आफ्नै एम्बुलेन्स छ । कृषिमा यान्त्रीकरण बढेको छ । वर्षौदेखि पानीले काकाकुल बाइराँका गाउँमा पानी पुगेको छ । १ हजार जनालाई विभिन्न दिइसकेका छौ । पालिकाको नाममा जग्गा पास गरेका छौ । यस्तै थुपै्र काम भएका छन् । तर नागरिक सधै भएन मात्रै भन्छन् । सबैथोक एकैपटक हुँदैन । समग्र विकास हुन सयम लाग्छ ।”
कार्यपालिका सदस्य आदिप्रसाद न्यौपानेले विगतको भन्दा विकास निर्माण र सेवा प्रवाह राम्रो भए पनि अपेक्षित रूपमा नागरिकले संघीयताको महसुस नगरेको बताए ।