घोराहीमा नगर बस चल्ने योजना अधुरै «

घोराहीमा नगर बस चल्ने योजना अधुरै

दाङ-घोराही उपमहानगरपालिकामा नगर बस सञ्चालन गर्ने भनेको लामोे समय बितिसके पनि सञ्चालनमा आउन सकेको छैन । नगरमा नगर बस सञ्चालन गर्नका लागि उप महानगरपालिकामा तयारी गरिएको थियो ।
जनप्रतिनिधिहरू आएपछि आर्थिक वर्ष २०७५-०७६ को नीति कार्यक्रममार्फत घोराहीमा नगर बस सञ्चालनमा ल्याउने नीति कार्यक्रम पारित गरिएको थियो । नीति ल्याए पनि त्यसको कार्यान्वयन भने हालसम्म हुन सकेकोे छैन । नीति कार्यक्रममा सहरी यातायातअन्तर्गत यातायात व्यवसायीसंँग सहकार्य गरी रुट निर्धारण गरेर नगर क्षेत्रमा सिटीबस सञ्चालन गरिनुका साथै पार्किङ व्यवस्थापनलाई व्यवस्थित गरिने उल्लेख गरिएको थियो । यसरी नीति कार्यक्रममा ल्याए पनि यसको कार्यान्वयन गर्न नसक्दा नागरिकले जनप्रतिनिधिप्रति नागरिकले गुनासो गर्न थालेका छन् । नगर बस सञ्चालन नहुँदा नगरबासीले अटोमा धेरै रकम तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
नगरपालिकामा नगर बस सञ्चालन गर्नका लागि जनप्रतिनिधिहरू आएपछि कुनै पनि निर्णय नभएको घोराही उप महानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी दिए । “अहिलेसम्म नगर ब्स सञ्चालन गर्नका लागि कुनै पनि निर्णय भएको छैन,” चौधरीले भने । नीतिमा भए पनि अहिलेसम्म कुनै प्रक्रियासमेत अगाडि नबढेको उनको भनाइ छ । नगर कार्यपालिकाले निर्णय गरे मात्र काम अगाडि बढने उनको भनाइ छ । तर अहिलेसम्म कुनै प्रक्रिया अगाडि नबढेको सूचना अधिकारी चौधरी बताउँछन् ।
स्थानीय तहका जनप्रतिनिधिहरू नआउँदै नगर क्षेत्रमा नगर बस सञ्चालन गर्ने भनेर निर्णय गरी त्यसका लागि तयारीसमेत थालिएको थियो तर जनप्रतिनिधिहरू आए पनि सो प्रक्रिया अगाडि बढन सकेकोे छैन । नगरका ग्रामीण क्षेत्रमा बस सञ्चालन भएपछि नगरबासीहरूलाई सहज हुने गरी नगर बस सञ्चालन गर्ने तयारी गरेको थियो । पहिलो चरणमा नगरपालिकाभित्र सहज रूपमा यातायात पुग्ने स्थानमा बस सञ्चालन गरिने गरी योजना बनाएको थियो । नगरपालिकामा बस सञ्चालन गर्नका लागि नगर क्षेत्रमा अध्ययनसमेत भएको थियो । नगरभित्र कति बस सञ्चालन गर्ने, रकम कति निर्धारण गर्ने विषयमा सम्बन्धित निकायसँंग छलफल गरेर निर्धारण गरिने त्यसै समयमा निर्णय गरिएको थियो । नगरपालिकाको संयोजनमा यातायात व्यवसायीहरूले नगर बस सञ्चालन गर्ने सहमतिसमेत भएको थियो । यातायात व्यवसायी समितिहरूले समेत सहमति जनाएका थिए । नगरपालिकाले नगर बस सञ्चालन गर्नका लागि रुटसमेत तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्