Logo

पुल निर्माण भएपछि स्थानीय खुसी

लमजुङ-पूर्वीलमजुङको राईनास–१ बोराङखोलामा मोटरेबल पुल निर्माणका लागि दशक अघिदेखि स्थानीयले माग गरेका थिए । कच्ची सडक सञ्जालले जोडिएको बोराङ खोलामा मोटरेबल पुल नहुँदा त्यसभन्दा पूर्वतर्फका साविकका प्यारजुङ, इलमपोखरी, दूधपोखरीलगायत गोरखाका केही भूभागसमेत यातायात सेवा लिनबाट वञ्चित भएका थिए । करिब एक दशकपछि स्थानीयको माग पूरा भई हाल बोराङ खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएपछि स्थानीय खुसी भएका छन् ।
मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै पूर्वी लमजुङको यातायात सेवा सहज भएको स्थानीय चन्दिरा न्यौपानेले बताइन् । “दशक अघिदेखि कच्ची सडक सञ्जालले जोडिएको राईनासमा पुल नहुँदा समस्या थियो,” न्यौपानेले भनिन्, “अहिले मोटरेबल पुल बनेको छ, अब धेरै सहज भएको छ ।” साविक जिल्ला विकास समितिको एक करोड ७५ लाख नौ हजार दुई सय ३८ रुपैयाँको लागतमा पुल निर्माण भएको हो । तार्कुघाट–बोराङखोला–विचौर सडक खण्डमा पर्ने बोराङखोलामा निर्माण गरिएको सो मोटरेबल पुलको लम्बाइ १६.६ मिटर र चौडाइ ४.२५ मिटर छ ।
विगतमा जनप्रतिनिधि नहुँदा विकास निर्माणका कामले गतिलिन नसकेको र अहिले विकास निर्माणको कामले तीव्रता पाएको छ । “पुलको माग त पहिलादेखि नै भएको हो, तर बनाउने पहल भएन,” उपप्रमुख गुरुङले भनिन्, “स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि कामले तीव्रता पाएको छ, जनता खुसी भएका छन् ।”
ग्रामीण भेगलाई प्रत्येक सहरसँग जोड्न प्रत्येक गाउँमा सडक पु-याउने गण्डकी प्रदेश सरकारको योजना अनुरुप बोराङ खोला मोटरेबल पुल निर्माणलाई तीव्रता दिएको हो । गण्डकी प्रदेश, पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रदेशअन्तर्गत २३ स्थानीय तहमा सडक सञ्जाल पुगेको छ भने ६२ स्थानीय तहमा पक्की सडक पुगेको छैन । मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्ठाका अनुसार प्रदेशअन्तर्गतका दुई स्थानीय तहमा सडक ट्रयाकसमेत छैन । प्रत्येक स्थानीय तहलाई पक्की सडक सञ्जालले जोड्नका लागि सात सय ५० किमि सडक निर्माण गरिने र सो सडकअन्तर्गत करिब दुई सय मोटरेबल पुल निर्माण गर्न लागिएको सचिव मरहठ्ठाले बताए ।
बाह्रै महिना यातायात सञ्चालन हुन सक्नेगरी पाँच वर्षभित्र सडक पहुँच पु-याउने प्रदेश सरकारको योजना अनुरुप बोराङखोलाको मोटरेबल पुल निर्माणकार्यलाई तीव्रता दिएको प्रदेश सरकारले जनाएको छ । मोटरेबल पुल सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । पुल बनेपछि राइनास नगरपालिकासँगै दूधपोखरी गाउँपालिका र छिमेकी जिल्ला गोरखाका बासिन्दालाई समेत आवत–जावतमा सहज भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्