Logo

नयाँ प्रविधि भित्राउने सुबिसु क्यान इन्फोटेक मेला

क्यान महासंघ नेपालले नवीनतम प्रविधि भित्राउने उद्देश्यले बर्सेनि क्यान इन्फोटक आयोजना गर्दै आएको छ । यस वर्ष महासंघले सुबिसुसँगको सहकार्यमा ‘सुबिसु क्यान इन्पोटेक–२०१८ बिहीबारदेखि राजधानीमा सुरु भएको छ । मेला मंगलबारसम्म भृकुटीमण्डमा सञ्चालन हुनेछ ।
मेला उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइसिटी क्षेत्रलाई प्राथमिकतामा नराख्दासम्म मुलुकको आर्थिक समृद्धि नहुने बताएका छन् । राजनीतिक गतिरोधका कारण लामो समयदेखि देशमा विकास निर्माणका काम हुन नसकेको चर्चा गर्दै मन्त्री बस्नेतले अब राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धिका लागि प्रविधिमैत्री देश निर्माणमा लाग्नुपर्नेमा जोड दिए । सरकारले सन् २०२७ लाई ‘डिजिटल नेपाल वर्ष’को रूपमा मनाउने तयारी भइरहेको जानकारी दिँदै मन्त्री बस्नेतले यसका लागि सबैको सहयोगको अपेक्षा राखेको बताए । यसको सुरुवातको लागि १४ जिल्लाका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा निःशुल्क उपलब्ध गराउने र आवश्यक सामग्री सञ्चार मन्त्रालयले उपलब्ध गराउने काम प्रक्रियामा गइसकेको र ३ वर्षमा देशैभर यो कार्यक्रम कार्यान्वयन गर्ने गरी काम भइरहेको बताएका छन् ।
महासंघका अध्यक्ष हेमन्त चौरसियाले सूचना प्रविधि क्षेत्रको कुम्भ मेलाका रूपमा राजधानीमा ६ दिनसम्म सुबिसु क्यान इन्फोटेक आयोजना गरेको बताए । “अन्तर्रास्ट्रिय स्तरमा सूचना सञ्चार तथा विज्ञान प्रविधि पहिलो प्राथमिकमा परेका हुन्छन् तर नेपालमा यो क्षेत्र कहिले विज्ञान प्रविधिसँग रहन्छ कहिले सूचना तथा सञ्चार, त्यसैले यो क्षेत्र एउटै मन्त्रालयअन्तर्गत हुनुपर्छ,” अध्यक्ष चौरसियाले भने । राज्यले आइसिटीलाई प्राथमिकतामा राख्ने हो भने डिजिटल नेपाल निर्माणको सपना चाँडै साकार हुनेसमेत बताए । इन्फोटेकका लागि उपयुक्त प्रदर्शनी हलको अभाव भइरहेको बेला अबका दिनमा देशको सातै प्रदेशका मुख्य–मुख्य सहरहरूमा इन्फोटेक सञ्चाल गरी स्थानीय तहसम्म सूचनाको पहुँच विस्तार गर्ने महासंघको लक्ष्य रहेको उनको भनाइ छ ।
प्रविधिको कुम्भ मेलाका रूपमा परिचित इन्फोटेकको यस मेलामा अवलोकनकर्ता एकै थलोमा विज्ञान प्रविधिका नयाँ एवं वस्तुहरूका बारेमा जान्न पाउने र अवलोकनकर्ताले खरिदसमेत गर्न पाउने क्यान महासघंका अध्यक्ष्य हेमन्त चौरसियाले बताए ।
मेलामा २ सय बाइस स्टलहरू छन् भने १६ गतेसम्म चल्ने उक्त मेलामा ४ लाख बढीले अवलोकन गर्न कार्यक्रम आयोजकले बताए । हल भित्रका स्टलहरूमा ब्रान्डिङ फोक्स गर्न र बाहिरका स्टलहरूमा छुट र अफरहरूको पनि व्यवस्था गरिएको छ । यसबाहेक क्यानले काठमाडौं बाहिर नारायणगढ, चितवन, पोखरा, इटहरीमा पनि मेला आयोजना गर्दै छ ।
मेलामा अनलाइन टिकट बुकिङको पनी व्यवस्था गरिएको छ भने यसमा २० प्रतिशत छुट पनि छ । मेलमको अवलोकनका लागि सर्वसाधारणलाई १ सय र विद्यार्थीहरूका लागि भने ५० रुपैयाँ टिकट तोकेको छ । सरकारी विद्यालयहरूले अग्रिम रूपमा लिखित अनुरोधसहितको नामावली दिइएमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको क्यानले जानकारी दिएको छ । माघ २४ गते बिजनेस डेको रूपामा घोषणा गरिएको हुँदा उक्त दिनमा सम्पूर्ण अवलोकनकर्ताका लागि १ सय रुपैयाँ तोकिएको छ ।

रिना खत्री

प्रतिक्रिया दिनुहोस्