एनआरएनएको विश्व सम्मेलन उत्साहजनक

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन चैत १३ गते आइतबार ललितपुरको हिमालयन होटलमा सम्पन्न भयो । सम्मेलन ‘एनआरएनएको प्रतिबद्धता, समृद्ध राष्ट्र निर्माणमा एकता’ भन्ने मूल नाराका साथ आयोजना भएको थियो । विश्वभर छरिएर रहेका नेपालीहरूले आफूले बाहिरबाट ल्याएको पुँजी र सीपलाई स्वदेशमा नै केही लगानी गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोतर्फ अघि बढाउने सम्पूर्ण एनआरएनको प्रतिबद्धता रहेको थियो । कार्यक्रममा विश्वभरिबाट गैरआवासीय नेपालीका लागि प्रतिनिधित्व गरेर आउनुहुने आईसीसीका सदस्य, गैरआवासीयहरू प्रतिनिधिहरू, गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट, जीवा लामिछाने, आईसीसी मण्डलका अध्यक्ष–उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालगायत विशिष्ट व्यक्तिहरूको समेत उल्लेख्य उपस्थिति रहेको देखिन्थ्यो ।
कार्यक्रम स्थलमा होटलको वरपर एनआरएनएको ब्यानरले र विभिन्न बैंक–वित्तीय संस्थाहरूको विज्ञापनयुक्त फ्लेक्सले हिमालयन होटल परिसरमा निकै आकर्षक रूपमा सजिएको देखिन्थ्यो । कार्यक्रमको उद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो भने गृहमन्त्री बालकृष्ण खाँडको पनि उपस्थिति थियो । सुरक्षाको प्रबन्ध निकै कडा पारिएको थियो । सुरक्षा स्थलमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान ब्युरोका सुरक्षाकर्मी, प्रहरी प्रमुख, आन्तरिक सेक्युरिटी तथा तालिम प्राप्त कुकुरहरूले सो होटल परिसर तथा कार्यक्रम स्थलमा अत्यन्तै कडा सुरक्षा दिइरहेका थिए । कार्यक्रममा एनआरएनएका अध्यक्ष, पूर्वअध्यक्षहरूले बोल्ने क्रममा सबैभन्दा ठूलो नागरिकताको विषय रहेको हुनाले यस विषयमा सकारात्मक तरिकाले गैरआवासीय नागरिकहरूलाई नागरिकता विधेयक सहजै उपलब्ध गराइने र सकारात्मक रूपमा अगाडि बढाइने कुरामा पनि राष्ट्रपति विद्यादेवी भण्डारी अनि माननीय गृहमन्त्री मालकृष्ण खाँडले जोड दिनुभयो । २०७२ सालको विनाशकारी भूकम्पले क्षति गरेको गोरखाको लाप्राक बस्तीमा गैरआवासीय नेपाली संघको पहलमा सयौं घर बनाएर हस्तान्तरण गरी उदाहरणीय काम गरेकोमा समेत सम्माननीय राष्ट्रपतिले प्रशंसा गर्नुभयो भने यस सम्मेलनमा तपाईंहरूले गर्नुभएको संगठन निर्माणमा कुनै पनि राजनीतिक हस्तक्षेप नहोस् भन्ने सन्देश दिँदै सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई धन्यवाद पनि दिनुभयो ।
सोही क्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष टीबीआई ग्रुपका अध्यक्ष भवन भट्टले बीबी ट्रस्ट र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा महावीर पुनः अर्थात् राष्ट्रिय आविष्कारक केन्द्रलाई सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वर्षकै ठूलो धनराशि भएको भवन कृति रत्न पुरस्कारस्वरूप नगद रु. १ करोड रुपैयाँ दिने घोषणा पनि गर्नुभयो । पछिल्लो समय भवन भट्ट स्वामी आनन्ददेवको नामबाट पनि परिचित हुँदै आउनुभएको छ । सोही पुरस्कारले कार्यक्रम हल नै हर्ष उल्लासले छाएको थियो । कार्यक्रमको समापनमा रात्रिभोजको आयोजनासमेत गरिएको थियो । त्यस्तै भोलिपल्ट चैत १३ गते पनि सोही होटलमा एनआरएनएको समापनको दिन पनि सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली क्रांग्रेसका महामन्त्री गगनगुमार थापा, संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्वअर्थमन्त्री सुरेन्द्रकुमार पाण्डे, सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट मान्य व्यक्तिहरूको उपस्थिति पनि रहेको थियो भने सबैले गैरआवासीय नागरिकहरूले उठाएका विषयलाई तत्काल सम्बोधन गरी कार्यान्वयनमा लैजानुपर्ने कुरालाई समेत जोड दिएका थिए । कार्यक्रमको समाप्तितिर गैरआवासीय नेपाली संघको महाधिवेशनबाट नयाँ कार्य समितिमा अध्यक्ष पदमा कुल आचार्य, डा. रविना थापा र बद्री केसीलाई सर्वसम्मत रूपमा चयन गरेको छ भने विश्व सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको थियो ।