उन्नत जातको बाख्रा पालनप्रति कृषक आकर्षित

खोटाङ-दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका कृषक जीवन घिमिरेले उन्नत खालको बोका (वोयर) मार्फत आफूले पालेका बाख्रामा प्रजनन गराएर ६ वटा पाठापाठी उत्पादन गराएका छन् । सलक्क परेका हलक्क बढिरहेका पाठापाठी देख्दा उनी अहिले खुसीले गदगद् हुँदै आगामी दिनमा धेरै बाख्रा पालेर त्यसैबाट व्यावसायिक बन्ने इच्छाका साथ अघि बढिरहेका छन् ।
याम्खाकै अर्का किसान प्रेमकुमार अधिकारी सुरुमा त गाउँमा वोयर बोका देख्दा छक्क परे । कहाँ बाख्रा पनि यति ठूलो हुन्छ होला र ? भन्दै छक्क परेका उनले पनि परीक्षणका लागि भन्दै आफूले पालेका बाख्रालाई (वोयर) बोकामार्फत प्रजनन गराए । अहिले (वोयर) बोकामार्फत ३ वटा पाठापाठी उनकोमा उत्पादन भएका छन् । ती सलक्क परेका पाठापाठी खेलाउँदै उनी भन्छन्, “अब सबैले उन्नत खालका बाख्रा पालेर समृद्धि खोज्नुपर्छ ।”
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले उन्नत जातको बाख्रा पालनबाट कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएर गत असारमा पाँचवटा उन्नत खालका (वोयर) बोका कृषकलाई वितरण गरेको थियो ।
गाउँपालिकाले सिमानथली बोयर बाख्रा फर्म हेटौंडा मकवनपुरबाट प्रतिकेजी २५ सयका दरले २ लाख ५० हजार रुपैंयाँमा पाँचवटा (वोयर) बोका ल्याएर गाउँपालिकाभित्रका ५ कृषक समूहलाई वितरण गरेको थियो । गाउँपालिकाले वडा नम्बर–१ याम्खाको हरियाली कृषक समूह, वडा नम्बर–३ छोरम्बुको जनजागरण कृषक समूह, वडा नम्बर–४ बतासेको हरियाली कृषक समूह, वडा नम्बर–५ सप्तेश्वर छितापोखरीको तृतीया भञ्ज्याङ कृषक समूह र वडा नम्बर–७ टेम्माको सक्रिय सहभागिता कृषक समूहलाई (वोयर) बोका वितरण गरेको थियो ।
पाँच कृषक समूहलाई वितरण गरिएको (वोयर) बोकाबाट अहिले हरियाली कृषक समूहअन्तर्गतमा ३६ वटा बाख्रालाई प्रजनन सेवा दिएको र त्यसमध्ये १६ पाठापाठी जन्मिएका छन् । यस्तै, जनजागरण कृषक समूहअन्तर्गत २७ वटा बाख्रालाई सेवा दिइएको र ९ वटा पाठापाठी जन्मिएका छन् । हरियाली कृषक समूह बतासेमा २५ वटालाई सेवा दिएकोमा ७ वटा पाठापाठी उत्पादन भएका छन्, भने तृतीया भञ्ज्याङ कृषक समूहअन्तर्गत २७ वटा बाख्रालाई सेवा दिएकोमा १६ वटा पाठापाठी जन्मिएको पशु प्राविधिक रमेश निरौलाले जानकारी दिए ।
पाँचवटा कृषक समूहलाई दिएको बोकामध्ये वडा नम्बर–७ टेम्माको सक्रिय सहभागिता कृषक समूहलाई दिएको बोका ‘एन्टेक्स’ पटके रोगको कारणले मरेको निरौलाको भनाइ छ । एक कृषक समूहलाई एउटाका दरले दिएको बोकामार्फत किसानले आफ्ना बाख्रालाई प्रजनन गराउन पाइने उनको भनाइ छ ।
(वोयर) बोकामार्फत अहिले गाउँमा उन्नत खालका बाख्रा पाठा उत्पादन हुन थालेपछि किसानहरू खुसी बनेका छन् । खरी जातका (थोरै मासु भएका) साना बाख्रा पाल्दै आएका किसानहरू उन्नत जातका बाख्रा पालेर त्यसैबाट समृद्धि खोज्न यतिबेला उत्सुक देखिन्छन् ।
१८ महिनाको अवधिमा झण्डै ५२ केजीसम्म हुने उन्नत जातका (वोयर) बाख्रा पाल्नमा उत्सुक बनेका कृषक छोटो समयमा राम्रो फाइदा लिने गरी लागिपरेको देखिन्छ । कृषकहरूले पालेका बाख्राबाट उत्पादन भएका पाठापाठी दैनिक ५० देखि ६० ग्रामको दरले बढिरहेको प्राविधिक निरौलाले जानकारी दिए ।
गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत नै कृषकलाई उन्नत खालका बाख्रा पाल्नका लागि (वोयर) बोका दिएर मासुमा आत्मानिर्भर बनाउँन खोजिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । उनले भने, “गाउँपालिकाभित्रका सबै कृषकलाई उन्नत खालका बाख्रा पाल्नका लागि आगामी दिनमा अभिप्रेरित गर्दै कृषकलाई खसी बाख्रा नै आम्दानीको मुख्य स्रोत बनाई दिने लक्ष्य छ ।”
उन्नत खालका खसीबाख्रा उत्पादन गर्नका लागि गाउँपालिकाको हावापानी उपयुक्त रहेको बताइएको छ । गत असारमा सुरु गरिएको उन्नत खालका बाख्रा पालन अभियान निरन्तर रहने गाउँपालिकाको भनाइ छ ।
यसै आवभित्र गाउँपालिका र किसानको ५०-५० प्रतिशत लगानीमा १० लाख बराबरको बाख्रा फर्म स्थापना गरिने अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाभित्र मासु खपत भएर बढी भएका खसीबाख्रा अन्य ठाउँमा निर्यात गर्नका लागि समेत गाउँपालिकाले प्रबन्ध मिलाइ दिने जनाइएको छ ।
गाउँपालिकाभित्र प्रतिकेजी पाँच सयका दरले खपत हुँदै आएको खसीको मासु समूहमार्फत उपभोग गर्ने गरिएको छ । उन्नत खालको बाख्रा पालन कार्य भर्खर सुरु भएका कारण त्यसबाट कृषकले आम्दानी लिन थालिनसकेको गाउँपालिकाको भनाइ छ । अब केही महिनापछि कृषकले भनेअनुसारको आम्दानी लिने जनाइएको छ ।