कोभिडमुक्त नेपालका लागि खोप अभियान

नेपालमा कोभिडविरुद्धको खोपबारेमा जनतामा वास्तविक जानकारी उपलब्ध गराउन नसकेकै कारण केही भ्रमपूर्ण सूचना प्रवाह पनि भइरहेकामा सचेतना विस्तार गर्नुपर्ने देखिन्छ ।
विगत दुई वर्षदेखि विश्वलाई गाँजिरहेको कोरोना (कोभिड–१९) संक्रमणका विरुद्धको खोप अभियान सञ्चालन कार्य नेपाल सरकारले तीव्र रूपमा अगाडि बढाइरहेको छ । गत वर्ष माघ १४ बाट खोप अभियान निरन्तर सञ्चालन भए पनि त्यसले अझै पूर्णता पाउन सकेको छैन । नेपाल आफ्नो कुल जनसङ्ख्यामध्ये धेरैलाई कोरोनाविरुद्धको खोप लगाउने दक्षिण एसियाली मुलुकमध्ये चौथो स्थानमा रहेको छ ।
कोभिड संक्रमणबाट बच्ने मुख्य तथा भरपर्दो उपायका रूपमा खोप भएकाले एक वर्षअघि खोप विकास भई प्रयोगमा आएपछि मानव समाजले कोभिडविरुद्ध केही आत्मविश्वास बढाएको हो । अपवादबाहेक खोप लगाएका व्यक्तिहरू तुलनात्मक रूपमा यो संक्रमणबाट बच्न सफल भएका छन् । साथै विश्वव्यापी रूपमा नै संक्रमितको मृत्युदरमा पनि क्रमशः कमी आइरहेको तथ्याङ्कले देखाएको छ । नेपालमा पनि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएयता संक्रमित तथा यसबाट मृत्यु हुनेको सङ्ख्यामा क्रमशः कमी हुँदै आएको पाइएको छ ।
भौगोलिक रूपमा हिमाल, पहाड र तराई क्षेत्रमा विभाजित नेपालमा सबैभन्दा बढी जनसङ्ख्या तराईमा रहेको छ । २०७८ को जनगणनाअनुसार तराई क्षेत्रमा १ करोड ५३ लाख ६५ हजार ८ सय २८ जनसङ्ख्या रहेको छ, जुन नेपालको कुल जनसङ्ख्याको ५३.६६ प्रतिशत हो । हालसम्म तराई क्षेत्रमा १२ वर्षमाथिका लक्षित समूहको सङ्ख्या १ करोड ३३ लाख ५३ हजार ७ सय ३५ रहेकोमा १ करोड ७ सय ८४ जनाले मात्र पहिलो मात्रा खोप लगाएका छन् । ९० लाख १९ हजार ४५ जनाले मात्र पूर्ण मात्राको खोप लगाएका छन् । समग्रमा तराईका २५ जिल्लामा हालसम्म ६७ प्रतिशत जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाएको देखिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार फागुन १५ सम्ममा हिमाली जिल्लामा लक्षित समूहका ७८ प्रतिशत र पहाडी क्षेत्रका ७५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । नेपालको हिमाली जिल्लामा २० जिल्ला रहेका छन्, जहाँको जनसङ्ख्या १७ लाख ७८ हजार १ सय ४ रहेको छ, जुन नेपालको कुल जनसङ्ख्याको ६.०९ प्रतिशत हो । सरकारी तथ्याङ्कअनुसार हिमाली क्षेत्रमा कोरोनाको खोप लगाउनेको सङ्ख्या लक्षित समुदायको सङ्ख्याभन्दा बढी रहेको देखिन्छ । सरकारी तथ्यांकअनुसार हिमाली क्षेत्रमा २१ लाख ४९ हजार ७१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्, जसमा पहिलो मात्रा खोप लगाउने १६ लाख ६३ हजार ३ सय ८ र पूर्ण खोप लगाउनेको सङ्ख्या १६ लाख ८९ हजार ७ सय ९० देखिन्छ ।
त्यस्तै, पहाडी क्षेत्रमा रहेका २९ वटा जिल्लामा १ करोड १७ लाख ४८ हजार ५ सय ४८ जनसङ्ख्या रहेको छ, जुन नेपालको कुल जनसङ्ख्याको ४०.२५ प्रतिशत हो । पहाडी जिल्लाहरूमा १२ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउने लक्षित समूहको सङ्ख्या भने ५३ लाख ४८ हजार १ सय ५७ रहेको छ । पहाडी जिल्लामा हालसम्म ३८ लाख ४१ हजार ७ सय १५ जनाले पहिलो खोप लगाएका छन् भने ४० लाख ५१ हजार ५ सय १५ जनाले पूर्ण खोप लगाएका छन् ।
नेपालमा कोभिसिल्ड, भेरोसिल, जोनसन एन्ड जोनसन, फाइजर र मोर्डना खोप कोरोनाविरुद्ध प्रयोग भइरहेको छ । मन्त्रालयको पछिल्लो जानकारीअनुसार नेपालमा कुल जनसङ्ख्याको ७४ प्रतिशत अर्थात् २ करोड १५ लाख ९४ हजार ८ सय १६ जनाले एक मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् भने ६०.१ प्रतिशत अर्थात् १ करोड ७५ लाख ४७ हजार २ सय ८१ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् ।
त्यस्तै, लक्षित समूहका १८ वर्षमाथिका १ करोड ८२ लाख ५६ हजार ११ अर्थात् ९१.६ प्रतिशतले पहिलो मात्रा र १ करोड ५७ लाख ४७ हजार ८ सय ५५ अर्थात् ७९ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । मन्त्रालयका अनुसार १२ वर्षमाथिका लक्षित समूहका ८९ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्, जसमा पूर्ण मात्रा खोप लगाउने ४८ प्रतिशत रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा कोरोनाविरुद्धको खोप प्राप्त भएको र जसमध्ये ३ करोड ७२ लाख ३३ हजार ८ सय ७२ मात्रा खोप प्रयोग भइसकेको छ । त्यस्तै, स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाको विवरणअनुसार फागुन दोस्रो हप्तासम्म नेपालमा ९९ लाख ५५ हजार ५ सय ६८ खोप मौज्दात रहेको छ ।
वर्तमान सरकारले कार्यभार सम्हालेपछि खोप कार्यक्रमले तीव्रता पाएको स्पष्ट हुन्छ । सरकारको यो सराहनीय कदमलाई कार्यान्वयनमा लैजान प्रदेश र स्थानीय सरकारको समेत सहयोग पुगेको देखिन्छ । सङ्घीय सरकारको योजनाअनुसार पुस मसान्तसम्म कुल जनसङ्ख्याको दुईतिहाइ अर्थात् ६६ प्रतिशतलाई खोप लगाइसक्ने र यस वर्षको अन्त्यसम्म चैतभरिमा सबै नागरिकलाई खोप लगाएर ‘बुस्टर खोप’ समेत लगाउने कार्ययोजना समेत सार्वजनिक गरिएबाट कोभिड नियन्त्रणमा यस सरकारको संवेदनशीलता प्रमाणित हुन्छ । घोषित कार्ययोजनाले पूर्णता नपाए पनि सम्पन्न कार्यमा सन्तुष्टि मान्ने ठाउँ प्रशस्त मात्रामा रहेको देखिन्छ ।
नेपालमा कोभिडविरुद्धको खोपबारेमा जनतामा वास्तविक जानकारी उपलब्ध गराउन नसकेकै कारण केही भ्रमपूर्ण सूचना प्रवाह पनि भइरहेकामा सचेतना विस्तार गर्नुपर्ने देखिन्छ । सबै क्षेत्रका जनता अझ विशेष गरी ग्रामीण स्तरमा खोपबारे यथार्थ जानकारी उपलब्ध गराउन सक्नु नै कोभिडविरुद्धको खोप अभियानलाई सफल बनाउने एक प्रमुख आधार हो । यसैले पनि प्रधानमन्त्री देउवाले गर्नुभएको आग्रहझैँ सङ्घीय सरकारले खोप उपलब्ध गराउने तथा प्रदेश र स्थानीय तहले गाउँघरका सबै घर, टोल र कुनाकाप्चामा छुटेका समुदायमा खोप पु-याउने कार्यमा सहयोग गर्नुपर्छ, तब मात्र कोभिडमुक्त नेपाल यात्रा सम्भव छ ।