Logo

सुरक्षा समिति लमजुङद्वारा मतदानस्थल अनुगमन तीव्रता

लमजुङ – सरकारले आगामी वैशाखमा स्थानीय तह निर्वाचन घोषणा गरेसँगै जिल्लास्थित सुरक्षा समितिले मतदान स्थलको अनुगमन तथा निरीक्षणलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते निर्वाचनको मिति सार्वजनिक गरेसँगै जिल्लास्थित सुरक्षा निकायले विभिन्न स्थानिय तहहरूमा मतदान स्थलको स्थलगत अनुगमन गरेका हुन् ।
सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको नेतृत्वमा सुरक्षा टोलीले जिल्लाका विभिन्न स्थानीय तहहरूमा पुगेर मतदान स्थल एवं केन्द्रहरूको स्थलगत अनुगमन गरेको हो ।
केही साता अघिबाट क्होलासोँथार गाउँपालिकाको मालिङबाट मतदानस्थलको अनुगमन सुरु गरेको सुरक्षा समितिले शनिबार पनि सोही गाउँपालिकाको दुर्गम भेगमा रहेको पसगाउँ, सिङदी, गिलुङ, घाम्राङलगायतका क्षेत्रमा अनुगमन गरेको हो । आगामी बैसाखमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थापनको तयारीका लागि मन्त्रालयबाट आएको परिपत्रअनुसार मतदान केन्द्रको अनुगमन सुुरु गरिएको प्रजिअ वैद्यले बताए ।
यसअघि सुरक्षा टोलीले पहिलो चरणमा क्होलासोँथार गाउँपालिकाअन्तर्गत बाग्लुङपानी र मालिङ क्षेत्रमा अनुगमन गरेको थियो । सोही टोलीले दूधपोखरी गाउँपालिकाअन्तर्गत गौंडा, विचौर र दोर्दी गाउँपालिकाअन्तर्गत विभिन्न मतदान स्थलहरूको अनुगमन गरीसकेको जनाएको छ । अनुगमन र निरिक्षण कार्यलाई निरन्तरता दिइने सुरक्षा समिति लमजुङले जनाएको छ ।
टोलीले मतदानस्थलहरूमा पुगेर विगतमा भएका निर्वाचन गतिविधीहरूका बारेमा जानकारी लिने तथा थप व्यवस्थापनका लागि आवश्यक छलफल गरेको जनाएको छ । मतदान स्थलको अनुगमनबाट सुरक्षा अवस्थाको रणनीति बनाउन सजिलो हुने सुरक्षा समिति लमजुङले जनाएको छ ।
अनुगमन गर्न बाँकी स्थानिय तहहरूमा पनि केही दिनमै स्थलगत अनुगमन गरिने प्रजिअ वैद्यले बताए । सुरक्षा समितिले सबै मतदानस्थलाको पूर्वअनुगमन गरी सुरक्षाका हिसावले प्राथमिकिकरण गर्ने र सुरक्षा व्यवस्थालाई कडाइ गर्ने जनाएको छ ।
आगामी स्थानीय तह निर्वाचनका लागि जिल्लामा एकसय २३ मतदान स्थल कायम गर्न सिफारिस भएको छ । यसअघिका एकसय २३ मतदान स्थलहरूलाई साविकबमोजिम नै सिफारिस भएको र मतदान केन्द्र भने केही हेरफेर हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्