बिमा कम्पनीको पुँजी बृद्धिले विकृती ल्याउने «

बिमा कम्पनीको पुँजी बृद्धिले विकृती ल्याउने

बिमा समितिले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरेर दोब्बरभन्दा बढी बनाएको छ । समितिको सञ्चालक समिति बैठकले बिहीबार बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २ अर्ब ५० करोड पु-याउँदा विशेषतः पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बिमाको पहुँच विस्तार गर्न तथा ठूलो पुँजी कायम गरी कम्पनीहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न बताए तापनि चुक्ता पुँजी वृद्धि गर्दा नेटवर्थ बढ्ने तथा कम्पनीहरूको जोखिम वहन क्षमता बढ्ने सोच भने तर्कसंगत देखिँदैन । हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बिमा कम्पनीको १ अर्ब छ । अब साढे दुई गुनाले चुक्ता पुँजी वृद्धि गर्दा कसरी नेटवर्थ बढ्छ वा कम्पनीहरूको जोखिम वहन गर्ने क्षमता बढ्छ भन्ने समितिले स्पष्ट पार्नु आवश्यक छ ।
बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाएर तत्कालीन नेपाल राष्ट्र बैंकका गभर्नरले वाहवाही पाएको स्मरण गरेर बिमा समितिले पनि चुक्ता पुँजी बढाएको हुन सक्छ । अन्यथा जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता कायम गर्दै जान सकिनेमा बजारमा यसले विकृति ल्याउने सम्भावना उत्तिकै छ । समितिले बढेको चुक्ता पुँजी २०७९ साल चैत मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पुँजी उपर्युक्त समयावधिभित्र पु-याउन नसक्ने कम्पनीहरूले बिमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६ बमोजिम हुने गरी पुँजी कायम गर्नुपर्ने पनि जनाएको छ । तर, हाल सञ्चालनमा रहेका ४१ बिमा कम्पनीमध्ये पनि ५ नयाँ जीवन बिमा कम्पनी आफ्नो आईपीओमार्फत २ अर्ब रुपैयाँ पुँजी पु-याउने प्रक्रियामा थिए । अब समितिको नयाँ निर्देशनअनुसार उनीहरूको आईपीओ निष्कासनमा ढिलाइ हुन सक्छ ।
किनकि आईपीओ जारी नगरेका कम्पनीहरूले पहिला प्रमोटरले पुँजी थप्ने र त्यसपछि आईपीओ जारी गर्नुपर्छ, जसको असर उनीहरूको प्रवद्र्धक सेयर लिएका बैंक तथा वित्तीय संस्थालाई पनि पर्न सक्ने देखिन्छ । किनकि चुक्ता पुँजी ५ अर्ब पु¥याउनका लागि कम्पनीका प्रमोटरले ३ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नुपर्छ । त्यतिमात्र नभएर हाल १८ वटा कम्पनीको चुक्ता पुँजी ४४ अर्ब ६५ करोड रुपैयाँ छ । नयाँ व्यवस्थाअनुसार कम्पनीहरूको कुल पुँजी न्यूनतम ९० अर्ब रुपैयाँ पुग्नुपर्छ, जसका लागि कम्पनीहरूले ४५ अर्ब ३४ लाख ६४ हजार रुपैयाँ पुँजी एक वर्षभित्र जुटाउनुपर्ने दबाब सिर्जना भएको छ । अब उनीहरूले हकप्रदमार्फत पुँजी बढाउन सक्ने सम्भावना एउटा छ भने बोनस सेयर वा एकआपसमा मर्ज तथा एक्विजिसनको प्रक्रियामा जानुपर्ने अवस्था आउन सक्छ ।
बिमा समितिले कम्पनीहरूले ३० दिनभित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरिएका कारण पनि बिमा कम्पनीहरू दबाबमा छन् । समितिको निर्देशनले निर्जीवन बिमा कम्पनीलाई एक वर्षभित्रै कुल २४ अर्ब रुपैयाँ बढी पुँजी थप्न दबाब परेको छ भने सेयर बजारमा पनि यसले थप नकारात्मक प्रभाव पार्ने देखिन्छ । तत्कालका लागि चुक्ता पुँजी बढ्ने हल्ला चलेका कारण बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आए पनि बिमा कम्पनीहरूका कारण बजार बढेको थियो ।
बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समिति आक्रामक रूपमा प्रस्तुत हुनु राम्रो भए तापनि यसका कारण सेयर बजार तथा समग्र बैंक तथा वित्तीय संस्थाहरूमा पनि पर्न सक्ने नकारात्मक प्रभावको अध्ययनमा चुकेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ६ वटा निर्देशिका जारी गरेर बिमा समितिले नियामकको कार्यमा तदारुकता देखाएकोमा प्रशंसा हुनुपर्नेमा अन्त्यमा चुक्ता पुँजी बढाउने निर्णयले भने बिमा बजारलाई दीर्घकालीन रूपमा व्यवस्थित र प्रभावकारी बनाउन सहयोग नगर्ने देखिन्छ । बिमकको जोखिम आधारित पुँजीको निर्धारणका लागि रिस्क बेस्ड क्यापिटल एन्ड सोल्भेन्सी निर्देशिका, २०७८ लाई नै प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाँदा राम्रो परिणाम आउने थियो ।

प्रतिक्रिया दिनुहोस्