लघु बिमा : एक परिचय

लघु बचत, लघु कर्जा, लघु बिमा र लघु भुक्तानी सेवा लघुवित्तका वित्तीय आयामहरू हुन् ।
बिमा कम्पनीले पार्टनरका रूपमा प्रोडक्ट डिजाइन, प्रिमियम निर्धारण र अन्डरराइटिङ आदि पक्षमा ध्यान दिई योजनालाई दिगो र विश्वसनीय बनाउन भूमिका खेल्छ भने मध्यस्थकर्ताका रूपमा एजेन्टले सेवाप्रवाह, बजारीकरण, प्रिमियम संकलन गरी योजनालाई कार्यान्वयनमा ल्याउने जिम्मेवारी लिएको हुन्छ ।
बिमितको काबुबाहिरको घटनाबाट सिर्जना हुन सक्ने हानि–नोक्सानीको क्षतिपूर्ति प्रदान गर्न प्रबन्ध गरिएको जोखिम हस्तान्तरणसम्बन्धी संयन्त्रलाई बिमा भनिन्छ । बिमा बचत हो, लगानी हो, जोखिमबाट बच्ने सुरक्षा कवच हो । बिमा न्यून आय भएका व्यक्तिहरूप्रति लक्षित भए लघु बिमा हुन्छ । यसको सबैभन्दा बढी आवश्यकता विपन्न र न्यून आयवर्गलाई हुन्छ, साना उद्यमीलाई हुन्छ । जबकि लघु तथा साना उद्यमीहरू व्यावसायिक रूपले सुरक्षित महसुस गर्छन्, उनीहरूको जोखिम बहन गर्न सक्ने क्षमता विकास हुन्छ । नयाँ व्यवसाय सञ्चालन गर्न सक्छन्, व्यवसाय विस्तार गर्ने आत्मविश्वास अभिवृद्धि हुन्छ, प्रतिफलमा वृद्धि हुन्छ । उपयुक्त स्तरको प्रतिफलले आर्थिक अवस्था मजबुत हुन्छ । यिनै साना उद्यमी÷व्यवसायीहरू पछि ठूला उद्यमी बन्न सक्छन् ।
लघु बचत, लघु कर्जा, लघु बिमा र लघु भुक्तानी सेवा लघुवित्तका वित्तीय आयामहरू हुन् । यसबाहेक लघु वित्त संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाइ, नेतृत्व विकास, उद्यमशीलता विकास, तालिमलगायतका गैरवित्तीय क्रियाकलापहरूमार्फत सचेतनामूलक सेवा उपलब्ध गराउँछ । यस्ता सचेतनासहितको गैरवित्तीय क्रियाकलापले लघुवित्तका ग्राहकहरूमा वित्तीय स्रोतको उचित उपयोग गरी वित्तीय रूपमा अनुशासित हुन अभिप्रेरित गर्छ । लघु बिमाको सन्दर्भमा लघु भन्नाले न्यून आय भएका लक्षित ग्राहक, विशिष्टीकृत सेवा र सरलीकृत प्रक्रिया भन्ने बुझिन्छ ।
कल्पना गरौं, गरिब परिवारको कमाउने प्रमुख सदस्यको मृत्यु भयो भने के हुन्छ ? न्यून आय भएका परिवारका केटाकेटी बिरामी परी अस्पताल भर्ना गर्नुप¥यो भने के हुन्छ ? गरिबको झुप्रो हुरीबतासले उडाइदियो, बाढीले बगाइदियो वा अन्य प्राकृतिक प्रकोपले ध्वस्त भयो भने के हुन्छ ? यी सबै परिघटनाले गरिबीमाथि अझ बढी प्रहार गर्छ, गरिबी झन् गहिरिंदै जान्छ । गरिबीको दुष्चक्र जारी रहन्छ ।
गरिबी आफैंमा जोखिम हो, यसले अझ बढी जोखिम जन्माउँछ । गरिबीको आयाम र प्रभाव बहुआयामिक अनि जटिल हुन्छ । गरिबीमाथिको प्रहार पनि बहुआयामिक नै हुनुपर्छ । लघुकर्जा र बचत मात्र गरिबी निवारण र दिगो विकासका लागि पर्याप्त हुँदैन । बिमासहितको वित्तीय सचेतनासहितको गैरवित्तीय उपायहरूद्वारा चारैतिरबाट प्रहार गरे मात्र दिगो रूपमा गरिबी निवारण गर्न सकिन्छ । नेपालमा अधिकांश लघुवित्त संस्थाहरूले बचत तथा ऋणको मात्र कारोबार गर्छन् । पछिल्लो समयमा रेमिट्यान्स र बिमासम्बन्धी कारोबार पनि गर्न थालेका छन् । यस्तो सेवा ग्रामीण क्षेत्रमा प्रभावकारी देखिएको छ । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा गरिबी गहिरो छ, आयतन पनि फराकिलो छ, जोखिम पनि अधिक छ । अशिक्षा, कुपोषण, सरसफाइमा कमी आदिले जीवन नै जोखिममा छ । रोग, मृत्यु तथा दुर्घटनाको दर बढी छ । औपचारिक बिमा सेवाको पहुँच सुगम तथा सहरी क्षेत्रमा सीमित छ, बिमा प्रिमियम पनि उच्च र प्रक्रिया पनि लामो र जटिल छ । त्यसैले न्यून आय भएका गरिबहरू यसको पहुँबाट टाढा छन् । बिमा कम्पनीहरू पनि उच्च प्रशासनिक लागत र व्यावसायिक सम्भाव्यता नभएको ठानी त्यस क्षेत्रमा सेवा प्रवाह गर्न इच्छुक देखिँदैनन् ।
न्यून आय भएका व्यक्तिहरू मूल धारका व्यावसायिक बिमा कम्पनीहरूका प्राथमिकतामा नपर्ने, उनीहरूका प्रोडक्ट, प्रिमियम, बिमा रकम र प्रक्रिया गरिबमैत्री नहुने भएकाले लघु बिमाको आवश्यकता महसुस भएको हो । लघु बिमाले गरिबलक्षित विशिष्टीकृत प्रोडक्ट डिजाइन गरी सोहीबमोजिमको प्रिमियम निर्धारण गर्ने भएकाले न्यून आयमैत्री हुन्छ ।
अन्य बिमा जस्तै लघु बिमा पनि दुई भागमा बाँडिएको छ : लघु जीवन बिमा र लघु निर्जीवन बिमा । लघु जीवन बिमाअन्तर्गत ऋण रकमका साथै मृत्युपश्चात् गरिने संस्कारमा हुने खर्चको समेत बिमा गरिन्छ । लघुजीवन बिमा पनि विभिन्न प्रकृतिका हुन्छन् : म्यादी लघु जीवन बिमा, आजीवन लघु जीवन बिमा, सावधिक लघु बिमा र लघु उद्यमजीवन बिमा । म्यादी जीवन बिमा निश्चित अवधिको लागि गरिन्छ । यस्तो अवधि ५, १०, १५, २० वर्षसम्मको हुन सक्छ । बिमा रकम र प्रिमियम पनि निश्चित गरिएको हुन्छ । आजीवन जीवन बिमा जीवनभरका लागि गरिन्छ, मृत्यु भएमा उक्त रकम मृतकका आफन्तलाई प्रदान गरिन्छ । सावधिक जीवन बिमा तोकिएको बिमा रकम बिमितको मृत्यु वा तोकिएको उमेरमध्ये जुन अगाडि हुन्छ, त्यही समयमा भुक्तानी गर्ने प्रतिबद्धतासहित जारी गरिएको हुन्छ ।
लघु निर्जीवन बिमा पनि विभिन्न प्रकृतिका हुन्छन् : बिमित तथा उसको परिवारका सदस्य बिरामी भई उपचार गराउनुपर्ने भए प्रदान गरिने बिमालाई स्वास्थ्य बिमा भनिन्छ । लघु वित्त संस्थाले प्रवाह गरेको ऋण समयमा असुल नहुने तथा लघु ऋण कार्यक्रम असफल हुने प्रमुख कारण नै ग्राहक तथा तिनका परिवारका सदस्यहरूको स्वास्थ्यस्थिति खराब भई आफ्नो आम्दानीको ठूलो हिस्सा त्यसैमा खर्च गर्नुपर्ने बाध्यता हो । अन्न खेती, नगदे बाली, पशुपन्छी पालन, माछापालन, फलफूल खेतीलगायतका कृषिसँग सम्बन्धित क्रियाकलापहरू जोखिमयुक्त हुन्छन् । खडेरी, अधिक वर्षा, असिना, हिउँ, बाढी, रोगव्याधिले कृषि व्यवसायलाई सोझै नोक्सानी पु¥याउँछ । स्वपुँजी र ऋणबाट लगानी गरिएका यस्ता परियोजनाहरू असफल भए यसको नकारात्मक असर किसान र ऋण प्रवाह गर्ने संस्थालाई पर्छ । लघु बिमा कार्यक्रमले किसानका साथै लगानीकर्ताहरूलाई नोक्सानीबाट सुरक्षा प्रदान गर्छ । यसबाट दुवै पक्षमा आत्मविश्वास जागृत हुन्छ, उनीहरूमा जोखिम लिन सक्ने सामथ्र्य बढ्छ । लगानीको उपयुक्त वातावरण बन्छ । यसबाहेक निर्जीवन लघु बिमाअन्तर्गत गार्हस्थ्य बिमा, दुर्घटना बिमा तथा अपांगता वा असमर्थता बिमा, प्राकृतिक प्रकोपबाट सुरक्षा, बेरोजगारी बिमा, पुनर्बिमा, लघु उद्यम बिमा आदि पर्छन् ।
लघु बिमाका पनि विभिन्न मोडल छन् । तीमध्ये धरै प्रचलित समुदायमा आधारित सामूहिक मोडल र साझेदार– एजेन्ट मोडल हुन् । समुदायमा आधारित सामूहिक मोडल लघु बिमाको अनौपचारिक मोडल हो । यसअन्तर्गत व्यक्तिहरूले समूह निर्माण गर्छन् । बिमा योजना आफैं बनाउँछन्, नियम आफैँ बनाउँछन्, यसैमा आफ्नो रकम जम्मा गर्छन् । लघु वित्त संस्थाले आफ्ना सदस्यहरूबाट निश्चित रकम संकलन गरी बिमा कोष बनाउँछन्, सदस्यको मृत्यु वा सम्पत्ति हानि–नोक्सानी भए निश्चित रकम क्षतिपूर्ति प्रदान गर्छन् । साझेदार–एजेन्ट मोडल बिमा कम्पनीले सञ्चालन गर्ने औपचारिक मोडल हो । यसमा बिमा कम्पनी र बिमा एजेन्टबीच पारस्परिक सम्बन्ध स्थापना गरिन्छ । बिमा कम्पनीले पार्टनरका रूपमा प्रोडक्ट डिजाइन, प्रिमियम निर्धारण र अन्डरराइटिङ आदि पक्षमा ध्यान दिई योजनालाई दिगो र विश्वसनीय बनाउन भूमिका खेल्छ भने मध्यस्थकर्ताका रूपमा एजेन्टले सेवाप्रवाह, बजारीकरण, प्रिमियम संकलन गरी योजनालाई कार्यान्वयनमा ल्याउने जिम्मेवारी लिएको हुन्छ । एजेन्टका रूपमा बिमा कम्पनी, लघुवित्त संस्था, गैरसरकारी संस्था, स्वास्थ्य सेवाप्रदायक आदि संलग्न हुन्छन् ।