खानेपानीको महसुल वृद्धि

खोटाङको दिक्तेल शहरी खानेपानी तथा सरसफाइ आयोजनाले वितरण सुरु गरेको खानेपानीको महसुल अत्यधिक महँगो भएको उपभोक्ताले गुनासो गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला–माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाको महसुल उपभोक्ताको ढाड सेक्ने गरी महँगो बनाइएको गुनासो गरेका हुन् । जिल्ला सदरमुकाम दिक्तेलका उपभोक्ताले वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै उपभोक्ताको हित अनुकूल हुने गरी खानेपानीको महशुल निर्धारण गर्न माग गरेका छन् । न्यूनतम प्रतियुनिट १५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म महशुल निर्धारण हुँदा कतिपय सामान्य परिवारका उपभोक्ताले खानेपानी उपभोग गर्न सक्ने अवस्था नभएको स्थानीय कृष्ण आचार्यले बताए ।
खानेपानीको निर्धारित नयाँ महसुल दर हेरफेर नभएसम्म उपभोक्तालाई दिइएकोे बिलमा उल्लेख रकम नबुझाउने ध्यानाकर्षण–पत्रमा उल्लेख छ । दिक्तेल शहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानी वितरण अघि मासिक दुई सय महशुल बुझाउँदै आएका कतिपय उपभोक्ताको ३ हजार ९०० सम्म बिल उठेको उपभोक्ताको भनाइ छ ।
नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाइ आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी भ्याटसहित २२ करोड ५५ लाख ५८ हजार ८ सय ७९ रुपैयाँको लागतमा खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । उक्त आयोजना केही समयपछि उद्घाटन गर्ने तयारी छ ।