वीरगन्ज उवा संघका पदाधिकारीलाई भक्तपुरमा स्वागत
भक्तपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोशनी मैया धौबन्जाले एक समारोहबीच वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताको नेतृत्वमा आएको पदाधिकारीहरूको टोलीलाई भक्तपुरमा स्वागत गरे ।
टोलीलाई स्वागत गर्दै धौबञ्जाले देशको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको वीरगन्जका उद्यमी व्यवसायीहरूको टोलीलाई संघमा स्वागत गर्न पाउँदा खुशी लागेको छ भन्दै महाभूकम्प र कोभिडको महामारीले थलिएको उद्योग व्यवसायहरू भर्खर उठ्न खोजी रहेको यस अवस्थामा समान समस्या भोगी रहेका हामी व्यवसायीहरूले एक आपसमा सहयोगको भावना लिएर कार्य गर्नुपर्ने आवश्यकता औंल्याए । साथै उहाँले राज्यको लागि निरन्तर कर तिर्ने उद्योगी व्यापारीहरूलाई पनि आफ्नो बृद्धावस्थामा राज्यको तर्फबाट सामाजिक सुरक्षाको प्रत्याभूति गर्न सबैले मिलेर आवाज उठाउने विषयलाई महत्वका साथ लिनुपर्नेमा जोड दिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले ऐतिहासिक र पर्यटकीय सहर भक्तपुरमा आउँदा छुट्टै आनन्दको अनुभूति भएको बताए । भक्तपुरको पर्यटन, हस्तकला र यहाँको मौलिक उत्पादनहरूको व्यापार प्रबद्र्धन गर्न वीरगञ्ज उद्योग वाणिज्य संघले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरे । उद्यमी व्यवसायीहरूको साझा समस्या समाधानका लागि देश भरका उद्योग वाणिज्य संघहरूको एउटै आवाज हुनु पर्ने भएकोले यस भ्रमणको उद्देश्य उद्यमी व्यवसायीहरूलाई एकजूट गर्नु पनि रहेको कुरा बताए ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठ, उपाध्यक्ष श्री गणेश हरी प्रजापति, सचिव श्री विश्वराम दुवाल, कार्य समिति सदस्य गौतम सुवाल, र श्री श्रीया बल्ल लगायत वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूले पनि उद्यमी व्यवसायीहरूको हितका लागि सहकार्य गर्दै अघि बढ्नु पर्ने विषयमा जोड दिँदै आ—आफ्नो बिचार राखेका थिए ।