Logo

उर्जा संकटले उद्योगी मारमा

विद्युत उत्पादनको अवस्था
प्राधिकरणका आयोजनाबाट ५२२ मेगावाट
सहायक कम्पनीका आयोजनाबाट ३११ मेगावाट
निजी उत्पादकबाट ३१० मेगावाट
कुल खपतको ३० प्रतिशत आयात

भारतबाट चर्को मूल्यमा बिजुली किन्दै प्राधिकरण, उद्योगले भने बढी तिर्नु नपर्ने

कोरोना कहरपछि विस्तारै लयमा आउन थालेका उद्योगको ढाडै भाँच्ने गरी अचानक नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गरेपछि दैनिक करोडौं घाटा खान बाध्य भएका छन् । उद्योगीहरूले उद्योग चलाउन मर्का परेको गुनासो गरे पनि विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने दाबी गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या भएकाले मंगलबारदेखि विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुने अवस्था नभएको प्रष्टीकरण दिए ।
उनले पछिल्लो समय भारतमा बिजुलीको मूल्य अत्यधिक मात्रामा अकासिएकोले मंगलबारदेखि प्राधिकरणले विद्युत आयात नगरेका कारण उद्योगमा विद्युत कटौती गर्नुपरेको पनि बताए । प्राधिकरणले बिहीबार राति १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर भए पनि औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको उनले बताए ।
प्राधिकरणले प्रतियुनिट नेपाली ३८ रुपैयाँ दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाइ छ । भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा ४०० मेगावाटसम्म बिजुली आयात गरेर उद्योगहरूमा विद्युत दिने तयारीमा प्राधिकरण रहेको घिसिङले दाबी छ । तर, महँगोमा विद्युत आयात गरे पनि उद्योगहरूलाई विद्युतको मूल्य नबढाउने उनले बताए ।
उनले विश्वभर नै विद्युत आपूर्तिको समस्या बढेकाले नेपालमा समेत त्यसको असर परेको तर यो छोटो समयको मात्र समस्या भएको बताए । घिसिङले भारतमा पनि विद्युत अभाव रहेका कारण प्राधिकरणले गरेको सम्झौताअनुसार विद्युत आयात गर्न नसकेकाले हालको समस्या आएको बताए । भारतमा ७० प्रतिशत कोल बेस्ड विद्युत उत्पादन हो । भारतले पनि आयात गरेको कोलबाट उत्पादित विद्युतमात्रै नेपालले आयात गर्न पाउँछ । रुस र युक्रेनबीचको युद्धका कारण भारतमा कोलको अभाव भएर मूल्य बढेका कारण त्यहाँ विद्युतको मूल्य बढेको घिसिङको भनाइ छ ।
आगामी जेठपछि विद्युत उत्पादन बढ्ने र समस्या नपर्ने दाबी गर्दै उनले असारबाट ५०० सय मेगावाट विद्युत निर्यात गर्नुपर्ने स्थिति रहेको बताए । हाल नेपालमा ८ महिना विद्युत आयात गर्नु नपर्ने अवस्था छ । तर, माग बढेका कारण आन्तरिक उत्पादनले धान्न नसकेर वर्षको ४ देखि ५ महिनाको लागि करिब ४०० मेगावाट विद्युत आयात गर्नुपर्ने अवस्था छ ।
हाल नेपालमा खपत हुनेमध्ये ३० प्रतिशत विद्युत आयातबाट धानिएको छ । घिसिङका अनुसार चालू आर्थिक वर्षको माघ महिनासम्म ४ अर्ब रुपैयाँको विद्युत आयात गरिएको छ । प्राधिकरणले यो वर्ष ८ अर्ब रुपैयाँ बराबरको विद्युत आयात गर्ने आकलन गरे पनि महँगो हुँदै गएकाले करिब १० अर्बको विद्युत आयात हुने उनले बताए । छोटो समयको लागि भए पनि महँगोमा विद्युत किनेर उद्योग सञ्चालन गर्ने र लोडसेडिङ हुन नदिने दाबी पनि उनले गरे । गत वर्ष २५ अर्बको विद्युत आयात गरिएको उनले जानकारी दिए ।
भारतमा बिजुली महँगो हुने भएपछि माथिल्लो तामाकोसी, कालीगण्डकी, मध्यमस्र्याङ्दी र मस्र्याङ्दी आयोजनाको पानी जम्मा गरी साँझ पूर्ण क्षमतामा चलाउँदै आएको प्राधिकरणले बताएको छ । यी आयोजनाबाट दिउँसो कम बिजुली उत्पादन हुने गरेको छ । हाल प्राधिकरणका आफ्ना आयोजनाबाट ५२२, सहायक कम्पनीका आयोजनाबाट ३११ र निजी उत्पादकबाट ३१० मेगावाट विद्युत आपूर्ति भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्