बिमा कम्पनीको चुक्ता पुँजी दोब्बर

नियामक निकायले बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । बिमा समितिको सञ्चालक समिति बैठकले बिहीबार बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २ अर्ब ५० करोड पु-याएको हो ।
हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बिमा कम्पनीको १ अर्ब छ । बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोअनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने–गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बिमाको पहुँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न तथा जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुनेगरी चुक्ता पुँजी कायम गर्न पुँजी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार बढेको चुक्ता पुँजी २०७९ साल चैत मसान्तसम्ममा कायम गरिसक्नु पर्नेछ र निर्धारित पुँजी उपरोक्त समयावधिभित्र पु¥याउन नसक्ने कम्पनीहरुले बिमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम हुनेगरी पुँजी कायम गर्नु पर्नेछ ।
यसैगरी, विदेशी बिमकको रुपमा दर्ता भई सञ्चालनमा रहेको बिमकले बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी बराबरको निर्धारित पुँजी कायम गर्ने र संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्ने व्यवस्था गरिएको पनि समितिले जनाएको छ ।
कम्पनीहरुले ३० दिनभित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिसमक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको पौडेलले बताए । चुक्ता पँुजी बढ्ने हल्ला चलेका कारण बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आए पनि बिमा कम्पनीहरुका कारण बजार बढेको थियो । तर, बिक्रेताको चाप बढेका कारण परिसूचक फेरि ओरालो लाग्यो । नेप्से परिसूचक बिहीबार १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा ओर्लिएको छ । २६३०.९३ विन्दुबाट खुलेको बजार कारोबार अवधिमा सकारात्मक हुँदै २६३८.६५ को उच्चतम विन्दुसम्म पुगेको थियो । नेप्से परिसूचक घट्दा पनि जीवन बिमा उपसमूह २.५४ प्रतिशत र निर्जीवन बिमा उपसमूह १.०५ प्रतिशत बढेको छ भने अधिकांश अन्य उपसमूहहरु भने घटेका छन् ।
यस्तै, बिमा कम्पनीहरुको पुँजी वृद्धिको हल्लाले कारोबार रकम पनि बढेको छ । यस साता औसतमा सवा दुई अर्बको सेयर कारोबार हुँदै आएकोमा बिहीबार ३ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । जसका कारण बिमा कम्पनीहरुमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको ११ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच हुँदा गुराँस लाइफ र सूर्या लाइफको ८÷८ करोड रुपैयाँ अधिकको कारोबार भएको थियो । यस्तै, नेपाल पुनर्बिमा कम्पनीको पनि ६ करोड रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ ।