Logo

तमोर करिडोर

पाँचथरदेखि सुनसरीको चतरासम्म सडक सञ्चालन

पाँचथर-तमोर नदीको किनानै किनारबाट पहाड र तराई जोड्ने तमोर करिडोरअन्तर्गत पाँचथरदेखि सुनसरीको चतरासम्मको सडक सञ्चालनमा आउन थालेको छ ।
मूलघाटदेखि पाँचथरको माझिटारसम्म ७५ किलोमिटर खण्डमा ग्राभेलको काम सकिएको छ । माझीटारदेखि भालुचोकसम्म ट्रयाक खोलेर स्तरवृद्धि गरिरहेको मध्यपहाडी राजमार्ग सडक आयोजनाले जनाएको छ । मूलघाटदेखि चतरासम्मको ३६ किलोमिटर खण्ड पनि ग्राभेलस्तरको काम सकिएको छ ।
ग्राबेलस्तरको सडक बनाउने काम सम्पन्न हुन लागेको छ । पाँचथर र धनकुटाको विभिन्न क्षेत्र जोड्ने यो सडक तमोर नदीको नजिकै भएर निर्माण गरिएको छ । यस सडकलाई पूर्वी पहाडलाई सुविधायुक्त सहर जोड्ने द्रुत मार्गको रूपमा लिइएको छ । यो सडक बनेसँगै ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाबासीलाई तराई झर्न सजिलो बन्दै गएको छ । यो सडकको काम ९६ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । चाँडै ग्राबेलस्तरको सडक निर्माणको काम सकिने आयोजना कार्यालयले जानकारी दिएको छ ।
पाँचथरको याङवरक गाउँपालिकाको गणेशचोकदेखि सुनसरीको चतरासम्मको १ सय ५३ किलोमिटर सडक बनेसंँगै पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका स्थानीय लाभान्वित हुने आयोजना प्रमुख दानकुमार शाक्यले बताए  । गत आर्थिक वर्षसम्म यो आयोजना पनि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयमार्फत हेरिँदै आएकोमा अब तमोर करिडोरको आफ्नै कार्यालयबाट हेरिने शाक्यले बताए ।
६ अर्ब १५ करोड १४ लाख रुपैयाँ लागत रहेको सडकको ट्रयाक निर्माणदेखि ग्राबेल स्तरसम्मको स्तरोन्नतिका लागि ठेक्का लागेको थियो । तमोर नदीको किनारैकिनार १० मिटर चौडा भएको सडकको ट्रयाक निर्माण तथा भएको ट्रयाकलाई स्तरोन्नति गर्ने गरी काम अघि बढाइएको थियो । पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरासम्म १ सय ५३ किलोमिटर सडक बनेपछि यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । पाँचथरको रानीगाँउमा करिब दुई किलोमिटर सडकको ट्रयाक बन्न बाँकी छ । यो पनि केही समयभित्र बनिसक्ने जानकारी दिइएको छ । सडक बनेसँगै यहाँ नियमित बस, जिप, पिकअपजस्ता गाडी चल्न थालेका छन् । तमोर जलाशययुक्त आयोजना बन्दा असर नपर्ने गरी सडक बनेका छन् ।
सडक निर्माणसँंगै उत्पादित वस्तुको बजारीकरणमा सहज हुने भएको छ । निर्माण सामग्री ढुवानीमा सहज हुनुका साथै ओलाङ्चुङगोला जोड्ने उतर दक्षिण सडक निर्माणसँगै चिनियाँ र भारतीय बजार जोड्ने महत्पूर्ण सडक बन्ने अपेक्षा राखिएको छ । यो सडक बनेसँगै दैनिक गाडी चल्न थालेका छन् ।
करिडोरको सातवटा प्याकेजमा छुट्याएर ट्रयाक खोल्ने र ग्राभेलिङ गर्ने कार्य भइरहेको शाक्यले बताए । यो सडकबाट पूर्वी पहाडलाई तराई हँुदै काठमाडौसँग जोड्ने दु्रत सडक मार्गको रूपमा तमोर करिडोरको नाममा निर्माणकार्य अगाडि बढाइएको हो । सडक निर्माण भएसँंगै पाँचथर, तेह्रथुम र ताप्लेजुङबाट सहज रूपमा तराई हुँदै संघीय राजधानी काठमाडौंसम्म सहजरूपमा पुग्न सकिनेछ ।
करिडोरले पाँचथर, तेह्रथुम र ताप्लेजुङका कृषि उपज उत्पादन तराई पु¥याउन सहज हुने अनुमान गरिएको छ । तराईसँंग सिधा सम्पर्क हुने भएपछि यहाँका कृषकलाई सहज हुनेछ ।
चतरादेखि मूलघाट आएपछि तमोर करिडोरको बाटो पाँचथरको सुभाङ खोला हुँदै मेची राजमार्ग छोएर गणेश चोक पुग्नेछ । यसअघि बनेको मध्यपहाडी लोकमार्ग घुमाउरो भएकाले छोटो बाटो रोजिएको हो ।

प्रतिक्रिया दिनुहोस्