मन्त्री श्रेष्ठद्वारा दुबईस्थित घरेलु कामदारको तडवीर सेल्टर अवलोकन

काठमाडौं – संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोलीले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा यूएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाहरुबाट जानकारी लिएका छन् ।
दुबई भम्रणका क्रममा त्यहाँको सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्था (तडवीर सेन्टर) मा भ्रमण गरी घरेलु कामदारको कार्यस्थल अवस्था, कानूनी व्यवस्था, पारिश्रमिक, विदा, सामाजिक सुरक्षा, हिंसामा पर्नसक्ने जोखिम तथा सुरक्षाको प्रत्याभूतिलगायतबारे जानकारी लिएका हुन् । सो अवसरमा यूएईका सरकारी अधिकारी तथा तडवीर सेन्टर सञ्चालकले यूएईमा घरेलु कामदारको सुरक्षा प्रत्याभूति रहेको बताएका थिए । उनीहरुले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउनुपूर्व गर्नुपर्ने तयारी, घरेलु कामदारको अधिकार तथा सुरक्षाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।
सरकारले २०७३ सालदेखि खाडीमुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपनि अवैध बाटोबाट आउने क्रम रोकिएको छैन । हालै सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ ।
कानुनी बाटोबाट कामदार पठाउँदाभन्दा गैरकानूनी बाटोबाट जाँदा जोखिम बढेकोले कामदारलाई सुरक्षित र वैधानिक तरिकाले काम गर्ने वातावरण मिलाउनुपर्ने आवाज पनि उठेको छ । मन्त्री श्रेष्ठले घरेलु कामदारका रुपमा जाने श्रमिकलाई सुरक्षाको प्रत्याभूति दिने र व्यवस्थित बनाउनेबारे सरोकारवलाहरुसँग छलफल गर्दै आएका छन । एक दिनअघि नेपाल–यूएई संयुक्त समितिको बैठकमा पनि यसबारे छलफल भएको थियो ।