बस दुर्घटनामा १५ जनाको मृत्यु

संखुवासभाको मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार बस दुर्घटनामा हुँदा १५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार १४ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा मृत्यु हुने मादी नगरपालिका–५ की युका पोखरेल हुन् ।
उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर धरान लगिएको थियो । घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटुवाल र सुवास तामाङको धरानमा उपचार भइरहेको छ ।
घटनास्थलमै मृत्यु हुनेमा मादी नगरपालिकाकी सीता विक, अञ्जना कटुवाल, भवानी प्रसाद दाहाल, ईन्द्र अधिकारी, दीक्षा कटुवाल, बलबहादुर कार्की, सविता कार्की, दिपक कुमार दाहाल छन् । त्यसैगरी ताप्लेजुङकी समीक्षा योञ्जन, उनका छोरा सुदीप घिसिङ, मादीका श्याम शेर्पा, आइतबहादुर तामाङ, तेह्रथुमका चालक विपिन निरौला र मादीका सहचालक उमेश भट्टराईको पनि मृत्यु भएको छ ।
मादीबाट झापाको दमक जाँदै गरेको ना ४ ख ७३५ नम्बरको यात्रुबस मादी नगरपालिका–६ को पुलुस्थित सात घुम्तीमा बिहीबार बिहान पौने ८ बजेतिर दुर्घटना हुँदा भएको हो । बसमा १९ जना यात्रु सवार थिए । प्रहरीका अनुसार तीव्र गतिमा रहेको बस घुम्तीमा मोडिन नसक्दा सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।