संघीयतापछि राजनीतिदेखि आर्थिक पहुँचमा महिला

जुम्ला-संघीयतापछि ग्रामिण महिला राजनीतिकेखि आर्थिक पहुँचमा पुगेका छन् ।
घरधन्दा मेलापातमै सीमित भएपनि संघीयतासँगै राजनीतिमा महिला सहभागिता अनिवार्य गरेपछि राजनीतिमा उनीहरुको पहुँच बढेको छ । स्थानीय तहको निर्वाचनबाट मेयर उपमेयर र उपाध्यक्षसहित वडासदस्यमा गरी जुम्लाका १ सय २९ जना महिला जनप्रतिनिधि बनेका छन् । अनिवार्य दलित महिला सदस्य सहित प्रत्यक वडामा दुई जना महिला सदस्य हुनु पर्ने प्रावधान अनुसार जुम्लाका ६० वटा वडामा १ सय २० जना महिला चुनिएका छन् ।
आठ स्थानीय तह मध्य चन्दननाथ नगरपालिकामा मेयर उपमेयर दुवै महिला र बाँकी ७ स्थानीय तहको उपाध्यक्ष महिला नै छन् । तुलनात्मक रुपमा महिला मेयर, अध्यक्ष र वडाध्यक्ष पदमा नआउनु राजनीतिमा पनि पुरुषवादी चिन्तन हावी भएको उदाहरण हो । यद्दपी विगतको तुलनामा चुलो चौकामै सीमित महिला एकाएक वडाध्यक्ष, कार्यपालिका सदस्य, उपाध्यक्ष हुँदै उपमेयर मेयरसम्म पुग्नु राजनीतिमा महिलाको पहुँच वृद्धिका हिसाबले संघीयताको ठूलो उपलब्धी मानिएको छ ।
चन्दननाथकी मेयर कान्तिका सेजुवाल संविधानले महिला सधै उपमै सीमित हुनुपर्ने कानुन नबाएकोले राजनीतिमा भएको पुरुषवादी चिन्तनलाई तोड्दै अब आउने चुनावमा वडाध्यक्ष, पालिका अध्यक्ष र मेयरका रुपमा अघि बढ्नु पर्ने बताउँछिन् ।
उनले भनिन्, “घरधन्दा बाहिरको संसार नदेखेका ग्रामिण महिला संघीयतापछि राजनीतिमा आउनु खुसीको कुरा हो । तर हरेक पदमा महिला सहायक हुनु पर्ने, नेतृत्वका लागि महिला सक्षम छैनन् भन्ने माथिल्लो तहको नेतृत्वमै भेदभावपूर्ण प्रवृत्ति छ । अब आम महिला एकजुट भएर सहायक पदमा मात्रै सीमित नभइ राजनीतिक पहुँचमा आउनुपर्छ ।”
त्यस्तै, महिलाको वित्तीय पहुँच वृद्धिको सबालमा समुह सहकारी संस्थाको ठूलो योगदान छ । संघीयतापछि उपभोक्ता समितिको कोषाध्यक्षमा अधिकांश महिला रहेको पाइन्छ भने समुह सहकारी तथा वित्तीय संस्थामा आबद्ध पनि महिला नै बढी छ ।
जुम्लाको चन्दननाथ बहुउद्देश्यी सहकारी संस्थामा मात्रै झण्डै २० हजार महिला सेयर सदस्य छन् । सहकारीका प्रबन्धक ऋषिराम पाण्डे भन्छन्, “सहकारीबाट ग्रामिण महिलामा बचत गर्ने बानीको विकास, फजुल खर्च रोक्ने, घयरासी हिसाब किताब राख्ने, आर्थिक गतिविधिमा चनाखो बनेका छन् । कुनैबेला ५-१० हजार हातमा पर्दा डराउने महिला अहिले १०-१५ लाखको कारोबार आफैं गर्न सक्षम छन् । ऋण लिने दिने लगानी गर्ने कुरामा पनि पुरुष भन्दा महिला अग्रसर छन् ।”
जुम्लाका आठै पालिकाले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न उद्यमशीलताका तालिम सञ्चालन गर्ने उद्योग खोल्ने र जस्ता काममा प्रथामिकता दिएका छन् ।