‘स्थानीय तह आत्मनिर्भर भएमात्रै देश विकास’

अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सकेमात्रै मुलुकले विकासको फड्को मार्ने बताएका छन् । मंगलबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको विकास गर्न स्थानीय तहलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन् । “स्थानीय तहलाई आत्मनिर्भर नबनाई सुखै छैन । उत्पादन, निजी क्षेत्र, रोजगारी, प्राकृतिक स्रोतलगायत सबै क्षेत्रमा स्थानीय तहलाई आत्मनिर्भर बनाइयो भने देश अघि बढ्छ,” उनले भने । उनले स्थानीय तहमा विकृति भए सुधार गर्नुपर्ने तर सधैं गाली गरेर खराबमात्रै देखाउन नहुने सुझाव पनि दिए ।
उक्त अवसरमा आयोगका अध्यक्ष बालानन्द पौडेलसहितका सदस्यले आगामी आर्थिक वर्ष ०७९-०८० को बजेट निर्माणमा सघाउ पुग्ने गरी ‘अन्तर–सरकारी वित्तीय सम्बन्ध’का विषयमा प्रस्तुति दिएका थिए ।
अर्थमन्त्री शर्माले स्थानीय तहलाई स्रोत जुटाउने बाटो बनाइदिनुपर्ने कुरामा जोड दिएका थिए । संघीय सरकारले सधैं मुठी कस्न नहुने भन्दै उनले स्थानीय तहलाई स्रोत व्यवस्था हुने वातावरण बनाउनुपर्नेमा जोड दिए । “केन्द्र सरकारले ऋण र धनलाई सधैं मुठी कसेर राख्नु हुँदैन । कर उठाउन सक्ने किसिमका योजनाहरू पालिकाले बनाउँछ भने संघीय सरकारले ऋण लिएर भए पनि स्रोतको व्यवस्था गरिदिनुपर्छ,” उनले भने । अर्थमन्त्रीले संघीय प्रणाली कार्यान्वयन गर्ने क्रममा कोही मन्त्री भयो भने बजेटलाई सकेसम्म केन्द्रित गर्न खोज्ने तर त्यही मान्छे बाहिर गयो भने बजेट विकेन्द्रिकरण गर्नुपर्छ भन्दै वकालत गर्ने गरेको अनुभव आफूसँग रहेको बताए । उनले संघीयतालाई बदनाम गर्न खोज्नेहरुबाट सतर्क रहन आग्रह पनि गरे । कतिपयले प्रदेशको आवश्यकता नै छैन भनेर गलत तर्क गर्ने गरेको उनको भनाइ छ ।