उत्पादनमूलक उद्योगमा फर्किन निजी क्षेत्र तयार

उद्यमी व्यवसायीहरूले सरकारी नीतिका कारण आफूहरू उत्पादनमूलक क्षेत्रबाट व्यापार (ट्रेडिङ)तर्फ केन्द्रित भएको बताएका छन् । सरकारका नीति तथा कार्यक्रमहरू राजस्वमुखी भएको तथा तयारी सामग्री आयातलाई प्रश्रय दिने खालका भएकोले आफूहरु बाध्यतावस ट्रेडिङतर्फ लाग्नुपरेको उनीहरूको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र बाध्यतावस उत्पादनमूलक क्षेत्रबाट ट्रेडिङतर्फ ‘सिफ्ट’ भएको बताए । निजी क्षेत्रको राष्ट्रलाई योगदान टेड्रिङबाट भन्दा उत्पादनमूलक उद्योगबाट नै हुने भएकाले आफूहरु यसका लागि इच्छुक रहेको उनको भनाइ छ । तर, सरकारी नीति नै उत्पादनभन्दा आयात गरेर समान बेच्नलाई प्रोत्साहन गर्ने खालको भएको उनको आरोप छ र “सरकारले उद्योगलाई संरक्षण दिने नीति लिनुपर्छ, हामी उद्यमी व्यवसायी उत्पादनमूलक उद्योगमा फर्कन तयार छौं,” वरिष्ठ उपाध्यक्ष गोल्छाले भने, “हामी दिनदिनै बढ्दै गएको व्यापारघाटा घटाउन चाहन्छौं तर अहिलेको नीतिले यो सम्भव छैन र यसमा सरकारको ध्यान जानैपर्छ ।” गोल्छा आफैं पनि उत्पादनमूलक उद्योगको पृष्ठभूमिबाट हुर्किए पनि हाल ट्रेडिङ व्यवसायको पर्यायका रूपमा आफ्नो पहिचान बनाएका छन् ।
६६ औं भन्सार दिवसको पूर्वसन्ध्यामा महासंघमा आयोजित कार्यक्रममा गोल्छाले कच्चा पदार्थमा लाग्ने कर तयारी सामानभन्दा धेरै भएका कारण नै उत्पादनमूलक उद्योगमा लगानी आउन नसकेको बताए । भन्सारमा ल्याब सुविधा नहुँदा ‘कस्ट अफ डुइङ बिजनेस’ बढेको छ भने पूर्वाधार पर्याप्तता नहुँदा पनि उपभोक्ता मूल्य बढी परेको छ । बाह्य मुलुकका उत्पादनको स्थानीय एजेन्सीका रूपमा काम गर्ने प्रवृत्तिका कारण मुलुकको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा बर्सेनि उत्पादनमूलक उद्योगको योगदान घट्दो छ भने ट्रेडिङ क्षेत्रको बढ्दो क्रममा छ । झन्डै दुई दशक अघिसम्म उत्पादनमूलक क्षेत्रको योगदान जीडीपीमा १५ प्रतिशतम रहेपनि हाल ५ प्रतिशतको हाराहारीमा छ । अहिले मुलुकका ठूला व्यावसायिक घरानादेखि उदीयमान व्यवसायीहरूको पनि आम्दानीको मुख्य स्रोत ट्रेडिङ व्यवसाय नै बनेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका नाफा धेरै हुने ठाउँमा नै लगानी गर्नु व्यावसायिक धर्म रहेको भन्दै उद्योग सञ्चालनमा धेरै चुनौती रहेको बताउँछन् । “लगानीकर्ताले छिटो प्रतिफल खोज्छ त्यसैले जहाँ लगानी सुरक्षित हुन्छ, त्यहिँ लगानी गर्ने हो,” उनी भन्छन्, “यहाँ उद्योग लगाउन न्यूनतम २ वर्ष लाग्छ, त्यो अवधिसम्म बैकको व्याज कसरी तिर्ने ? जग्गा प्राप्ती अर्काे ठूलो समस्या छ ।” उद्योगीलाई ढुक्क भएर लगानी गर्ने वातावरण नभएसम्म सेवा तथा व्यापारमा लगानी बढ्ने र उद्योगमा घट्नै भइ नै रहने उनको भनाइ छ । “व्यापारमा नाफा भए पनि म उद्योगी हुँ भन्दा हुने गर्व भने छुट्टै छ,” उत्पादनमूलक र ट्रेडिङ दुवैखाले व्यवसायमा सक्रिय रहेका मुरारका भन्छन् ।
नेपाली उद्योगमा प्रयोग हुने कच्चा पदार्थको आयातमा लाग्ने भन्सार शुल्कभन्दा तयारी बस्तुको भन्सार शुल्क तेब्बरसम्म महँगो छ । बुधबार यससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै महासंघका कर तथा राजस्व समिति सहसभापति कृष्णप्रसाद दुलालले करको दरमा पुनरावलोकन हुनुपर्ने बताए । व्यवसायीहरूको प्रश्नलाई सम्बोधन गर्दै भन्सार विभागका उपमहानिर्देशक श्रीकृष्ण श्रेष्ठले कच्चा पदार्थ पनि वहुउपयोगी हुने भन्दै कतिपय कच्चा पदार्थ नै अन्तिम सामग्रीको रूपमा आउने भएकाले निर्धारणमा समस्या हुने बताए । उनले चोरीपैठारी, यथार्थ मूल्यांकन र न्यून बीजकीकरण अहिलेका मुख्य समस्या भएको बताउँदै उनले विश्वसनीय व्यापारी पाउनसमेत कठिन भएको अनुभव सुनाए । “हामीले दिन खोजेको वास्तविक सुविधा लक्षित उद्योगले पाउनुपर्छ, त्यसका लागि विभागले गृहकार्य गरेको छ,” उपमहानिर्देशक नेपालले भने ।