फोहोरपानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) अन्तर्गत ललितपुरको धोबिघाटका दुईमध्ये एउटा फोहोरपानी प्रशोधन केन्द्रको सिभिलतर्फको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणको अन्तिम चरणमा पुगेको धोबिघाटस्थित उक्त केन्द्रमा फोहोरपानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरण जडान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको हो ।
यस केन्द्रबाट फोहोरपानी प्रशोधनको परीक्षण कार्य आगामी साउन महिनाभित्र सुरु गरिने पीआईडीको भनाइ छ । पीआईडीका अनुसार धोबिघाटस्थित यो केन्द्र र यहाँ नै निर्माणका क्रममा रहेको अर्को फोहोरपानी प्रशोधन केन्द्रको क्षमता प्रतिकेन्द्र प्रतिदिन तीन करोड ७० लाख लिटर रहेको छ । कोड्कु (बालकुमारी) मा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रको क्षमता प्रतिदिन एक करोड ७५ लाख लिटर फोहोरपानी प्रशोधन गर्ने लक्ष्य छ ।
भक्तपुरको सल्लाघारीमा पनि प्रतिदिन एक करोड ४२ लाख लिटर फोहोरपानी प्रशोधन क्षमता भएको फोहोरपानी प्रशोधन केन्द्रको निर्माणकार्य जारी भएको पीआईडीले जानकारी जनाएको छ । आयेजनाका उपनिर्देशक तथा प्रवक्ता लोकेन्द्रप्रसाद यादवले यसअघि, गुहेश्वरीमा निर्माण सम्पन्न भएको दैनिक तीन करोड २४ लाख लिटर क्षमताको फोहोरपानी प्रशोधन केन्द्र हाल सञ्चालनमा रहेको बताए । “डिजाइन, निर्माण र संचालनको अवधारणाअन्तर्गत निर्माण सम्पन्न भएको र निर्माणाधीन केन्द्रहरूको कुल क्षमता प्रतिदिन १० करोड ५७ लाख लिटर फोहोरपानी प्रशोधन गर्ने रहेको छ,” उनले भने, “जसअनुसार, गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक तीन करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन गरी बागमती नदीमा प्रवाह भइरहेको छ भने सल्लाघारी फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक एक करोड ४२ लाख लिटर फोहोरपानी प्रशोधन गरी हनुमन्ते नदीमा, कोड्कु (बालकुमारी) केन्द्रबाट एक करोड ७५ लाख लिटर फोहोरपानी प्रशोधन गरी मनोहरा नदीमा र धोबिघाट फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक सात करोड ४० लाख लिटर फोहोरपानी प्रशोधन गरी बागमती नदीमा प्रवाह गरिनेछ ।”
यादवका अनुसार गोकर्णमा ३० लाख लिटर क्षमता र हनुमानघाटमा १० लाख लिटर क्षमताका फोहोरपानी प्रशोधन केन्द्र निर्माणका लागि समेत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
काठमाडौं उपत्यकाका घरपरिवारबाट खानेपानीको उपभोगपछि झण्डै ८० प्रतिशत पानी फोहोरपानीका रूपमा उत्सर्जन भई नदी तथा खोलामा मिसिन जाने भएकाले नदी तथा खोलाको मुहानदेखि नै फोहोरपानी मिसिन नदिई नदी तथा खोलाहरूमा स्वच्छ एवं सफापानीको बहावलाई निरन्तरता दिनका लागि ठूला तथा साना क्षमताका फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको उनको भनाइ छ ।
उनले मेलम्ची खानेपानी आयोजनाको मर्मतपछि भित्रिने दैनिक १७ करोड लिटर र त्यसपछि याङ्ग्री तथा लार्के खोलाबाट दैनिकरूपमा भित्रिने १७-१७ करोड लिटर गरी कुल ५१ करोड लिटर तथा स्थानीय स्रोतबाट उत्पादित उल्लेख्य परिमाणको खानेपानी उपभोग एवं प्रयोगपछि झण्डै ८० प्रतिशत फोहोरपानीका रूपमा विसर्जन हुने भएकाले थप फोहोरपानी प्रशोधन केन्द्रहरू निर्माण गर्नु आवश्यक रहेको बताए ।
उनका अनुसार काठमाडौं उपत्यकाका घरघरबाट निस्कने फोहोरपानी नजिकैका फोहोरपानी प्रशोधन केन्द्रहरूमा पु¥याउनका लागि हनुमन्ते र मनोहरासमेतका नदी तथा खोलाका दुवैतर्फका किनारहरूमा करिब ३० किलोमिटर ढल प्रणाली निर्माण कार्य सम्पन्न भएको छ । उनले ललितपुर महानगरपालिका र गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा गरी करिब आठ किलोमिटर ढल संजाल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको पनि बताए ।
सन् २०३० सम्ममा काठमाडौं उपत्यकामा वृद्धि हुने जनसंख्या र बढ्दो खानेपानीको मागका आधारमा प्रतिदिन करिब ४९ करोड लिटर फोहोरपानी उत्सर्जन हुने अनुमान गरिएको छ । हाल काठमाडौं उपत्यकामा दैनिकरूपमा करिब २३ करोड लिटर फोहोरपानी उत्सर्जन हुने गरेको छ ।