गाउँ नै गएनन् वडा कार्यालय

झट्ट सुन्दा या देख्दा सबैलाई अचम्म लाग्न सक्छ, सदरमुकाममै एउटै छानोमुनि तीनवटा वडा कार्यालय सञ्चालन भएको । संघीय संरचनाअनुसार सिंहदरबारको अधिकार घरघरमा आएको छ । तर नागरिकले सिंहदरबारको अधिकार घरघरमा आएको कुनै महसुस गरेका छैनन । अहिले सिंहदरबारको अधिकार अझै परसरेको नागरिकले महसुस गरेका छन् । किनकि यसअघि आफ्नै घरदैलोमा सेवा पाएका तथा फराकिलो बस्तीमा साविकको एक गाविसका अधिकांश वडा अहिले गाभिएर एउटै वडा बनेका छन् ।
जसमा नेपालकै हिमाली जिल्लाको सुगम जिल्ला तथा कर्णालीको पहिलो चन्दननाथ नगरपालिका ज्वलन्त उदाहरण हो । संघीय संरचनापछि अहिले कर्णालीकै सुगम मानिएको चन्दननाथ नगरपालिकाको तीनवटा वडा कार्यालय एउटै छानोमुनि सञ्चालन भएका छन् । वडा नं २÷३ र ४ एउटै छानोमुनि सञ्चालन भई कार्य सम्पादन भइरहेको देख्दा जुम्लासँगै कर्णालीका अन्य सबै नगरपालिका तथा गाउँपालिकाको हालत के होला ? सजिलै बुझ्न सकिन्छ । कतै वडा कार्यालय अझै व्यवस्थापन भएका छैनन् त, कतै कर्मचारीको व्यवस्थापन हुन सकेको छैन ।
आँखा अस्पलात जुम्लाको सानो ६ कोठे भवनको एउटै छानोमुनि सञ्चालन भएका यी तीनवटै सुगम मानिएका वडा कार्यालयमध्ये वडा नं २ र ३ सदरमुकामभन्दा अली टाढा छन् । तर गाउँका वडा कार्यालय पनि सदरमुकाममै स्थापना गरिएपछि नागरिकलाई भने सेवा लिन आफ्नो वडा छोडेर अर्काको वडामा धाउनु पर्ने बाध्यता छ ।
वडा नं २ का दीपबहादुर भण्डारीले भने, “स्थानीय सरकारले घरदैलोमा सेवा दिने नारा, नारामै सीमित छ । स्थानीय सरकारबाट हामी नागरिकले गरेका अपेक्षा सार्थक हुने देखिँदैन, पहिले आफ्नै वडा कार्यालयबाट पाइने सेवा लिन पनि अहिले अर्काको वडामा जानुपर्ने यो कस्तो बाध्यता ? के यही हो त संघीयताको अधिकार ?”
वडा नं २ कि उर्मिला भण्डारीले भनिन्, “पहिले घरदैलोमै हुने बच्चाको जन्मदर्ता गर्न अहिले अर्को वडा कार्यालयमा जानुपर्दा दुःख लागेको छ । जन्मदर्ता गर्न जाँदा समयमै कर्मचारी र वडाध्यक्ष पनि भेटिएनन्, आफ्नो वडा कार्यालय वडामै भए सहज हुने थियो ।”
उनीजस्तै वडा नं २ र ३ का अधिकांश नागरिकले आफ्नै वडामै वडा कार्यालय स्थापना हुनुपर्ने माग राखेका छन् । वडा नं ३ का इश्वर खत्रीले भने, “आफ्नै वडामा कार्यालय स्थापना गर्न नसक्ने जनप्रतिनिधि र नगरपालिकाले जति प्रभावकारी सेवा दिए पनि त्यसको औचित्य हँुदैन, नियमसंगत कार्यालय स्थापना हुनुपर्छ, हामी घरदैलो सेवा चाहान्छौं, आफ्नो अधिकार अर्कासँग मागेर होइन, आफैं स्वइच्छाले प्रयोग गर्ने वातावरण हुनुपर्छ, संयुक्त वडा कार्यालय उपयुक्त हँुदै होइन ।”
वडा नं २ को कार्यालय स्थापनाका लागि उपयुक्त ठाउँ २४ नं बाहिनीमाथि भण्डारीबाडा गाउँनजिक सडक सञ्जाल नजोडिएकाले समस्या छ भने वडा नं ३ को कार्यालय स्थापनाका लागि २ पटक प्रकाशित सार्वजनिक सूचनाका आधारमा निवेदन नपर्दा विवाद आएपछि समस्या छ । अनुपयुक्त स्थान, घर भाडा दर र सडकले नछोएको घरहरू कार्यालय स्थापनाका लागि विवादित भएका हुन् । वडा नं ४ को कार्यालयमा अन्य दुई वडाका कार्यालय गाभ्दा साँघुरो भवनमा फराकिलो तवरले काम गर्न समस्या छ ।
तीन वडाले २-२ कोठा कार्यालय प्रयोजन स्वरुप काम गर्दै आएको आँखा अस्पतालको ६ कोठे भवनको मासिक १५ हजार बढी भाडा चन्दननाथ नगरपालिकाले तिरिरहेको छ ।
सेवा प्रवाह प्रभावकारी रहेको दाबी
तीनवटै वडा कार्यालय संयुक्त रूपमा सञ्चालन भए पनि सेवा प्रवाहमा भने, कुनै कमजोरी नरहेको भन्दै सेवा प्रवाहलाई सजिलो, छिटो छरितो रूपमा प्रभावकारी बनाइएको वडा कार्यालयका कर्मचारीहरूले दाबी गरेका छन् । २ नं वडा सचिव मिना बुढ्थापाल भन्छिन्, “कार्यालय संयुक्त भएपछि सेवा भने छुट्टाछुट्टै प्रवाह हुन्छ, सेवाग्राहीलाई सेवा लिँदा कुनै समस्या छैन, तर नागरिकको घरदैलो सेवा प्रवाहमा मागका आधारमा आगामी दिनमा जोड दिन आवाश्यक छ ।”
सेवाग्राहीहरूले सेवा लिन आउँदा ल्याएको आवश्यक कागजातका आधारमा तत्काल सेवा दिएको वडा नं ४ की वडासचिव लक्ष्मी परियारले दाबी गरिन् । कागजात मिलेन भने सेवाग्राही पुनः प्रमाणको खोजीमा जाँदा सेवा प्रवाह ढिलो हुने उनले बताइन् । संयुक्त वडा कार्यालय नगरपालिकाको हाताभित्र भएकाले आवश्यक सोधपुछ गर्न र कुनै वडाको कर्मचारी नभएमा अर्को वडाको कर्मचारीले काम गरी दिने वातावरण मिलाउन सहज भएको कर्मचारीहरू बताउँछन् ।
कार्यालय छुट्याउँदै जनप्रतिनिधि
एउटै छानोमुनि सञ्चालन तीनवटै वडाध्यक्षहरू नागरिकको माग र आवश्यकताका आधारमा वडामै कार्यालय स्थापना गर्ने तरखरमा रहेका छन् । त्यसका लागि आवश्यक मापदण्डका आधारमा सर्वसहमति जुटाउने प्रक्रियाअघि बढिसकेको २ नं वडाध्यक्ष धनरासी भण्डारीले बताए । उपयुक्त स्थानको खोजी, भाडाको घर छनोट र आर्थिक स्रोतको खोजी गरी तत्काल वडामै कार्यालय स्थापना गर्ने उनको भनाइ छ । “गाँउमै वडा कार्यालय हुँदा अपांग, अशक्तले पनि सहज रूपमा सेवा पाँउछ, संयुक्त वडा कार्यालय उपयुक्त होइन, बाध्यताले केही समयसँगै छौं, तर आफ्नै वडामा कार्यालय स्थापना गरेर जनताको घरदैलो सेवा प्रवाह गर्नेछौं,” ३ नं वडाध्यक्ष नन्दबहादुर बुढ्थापाले भने ।
कार्यकारी नगरअधिकृत लक्ष्मीप्रसाद उपाध्यायका अनुसार वडा कार्यालय व्यवस्थापनमा समस्या आएपछि नगरपालिकाले तत्कालका लागि एउटै छानोमुनि बसेर सेवा प्रवाह गर्न दबाब दिएको हो । उनले भने, “नगरपालिकाले अहिले सबै वडा कार्यालयको भाडा तिरिरहेको छ, छुट्टाछुट्टै वडा कार्यालय हुन्छ, नगरपालिका र देशकै आर्थिक अवस्था कमजोर भएकाले तत्काल आफ्नै भवनमा वडा कार्यालय सञ्चालन गर्न सम्भव छैन, तर हाम्रो पहल निरन्तर रहनेछ ।” नगरपालिकाका १० वडामध्ये अहिले ७ वडा कार्यालय भाडाकै घरमा सञ्चालन भएका छन् ।
सागर परियार