Logo

स्वास्थ्यचौकीमा घरबाटै पानी ल्याउनुपर्छ

pouring water into glass from a bottle, on blue background

तुलसीपुर- स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन् । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन । वि.सं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए ।
“सबैभन्दा समस्या हाम्रो स्वास्थ्यचौकीमा खानेपानीकै छ, यहाँ पानीको व्यवस्था नभएकाले बिरामीले घरबाटै पानी बोकेर ल्याउनुपर्ने अवस्था छ,” उनले भने, “यहाँ कार्यरत कर्मचारीले पनि घरबाटै पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।” बिरामीलाई पनि कहिलेकाहीँ औषधि खुवाउन कर्मचारीले नै पानी ल्याएर खुवाउनुपर्ने अवस्था छ ।
धारा जडानका लागि पटक–पटक सम्बन्धित निकायमा आग्रह गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । कार्यालयमा स्यालो ट्युबेल जडान गर्न सकिने भएकाले यसका लागि पनि भने छलफल अघि बढाइएको इञ्चार्ज डाँगीले बताए ।
उक्त स्वास्थ्य चौकीमा एक अनमी, दुई अहेब, एक जनस्वास्थ्य निरीक्षक, एक ल्याब असिस्टेन्ट कार्यरत छन् । त्यहाँ ल्याब, बर्थिङ सेन्टरलगायत सेवा पनि सञ्चालनमा रहेपनि मापदण्डअनुसारको भवन नहुँदा पनि समस्या भएको इञ्चार्ज डाँगीको भनाइ थियो । “हामीसँग १० कठ्ठा जग्गा छ, त्यहाँ राम्रो मापदण्ड भएको भवन निर्माण गर्न सकिन्थ्यो,” उनले भने, “अहिलेसम्म पुरानै भवनमा छौँ, मापदण्ड अनुसारका भवन नहुँदा समस्या भएको छ ।” एउटा कोभिड भवन पनि आवश्यक रहेको इञ्चाज डाँगीको भनाइ थियो ।

बर्थिङ सेन्टरमा मासिक छ जना
स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा मासिक सरदर छ जनाले सेवा लिने गरेका छन् भने ल्याब सेवामा मासिक सरदर २०–२२ जनाले सेवा लिने गरेका छन् । ल्याबका लागि चाहिने आवश्यक सामग्रीसमेत उपमहानगरपालिकाले उपलब्ध नगराएकाले कर्मचारीले नै ल्याउनुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्