लिफ्टमार्फत गलेश्वर मन्दिरमा पानी

म्याग्दी-म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालिगण्डकी नदीको पानीले स्नान गर्न सुविधा बनाइएको छ । मन्दिरको दर्शनका लागि आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्ने असुविधा भएपछि मन्दिर परिसरमै ‘लिफ्ट’ प्रविधिबाट पानी तानेर स्नान गर्ने व्यवस्था मिलाएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले स्नानका लागि तयार गरिएको ११ वटा गौमुखीधाराले भक्तजनको सुविधाका लागि निकै सहज भएको बताए । मन्दिर परिसरमा निर्मित धाराका लागि भक्तजनको साथै खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको सहयोग रहेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले नदी किनारमा बनाइएको इनारबाट विद्युतको सहायताबाट धारासम्म पानी ल्याइएको बताए । “नदीमा स्नान गर्दा ज्यानकै जोखिम थियो, कालिगण्डकीको पवित्रजल सिधै मन्दिरमा पुगेको छ,” अध्यक्ष रेग्मीले भने ।
जमिनदेखि करिब २० फिट अग्लो २५ हजार लिटर क्षमताको ओभरहेड ट्यांकीको पानी पाइपमार्फत ४५ मिटर माथि रहेको ओभरहेड ट्यांकीमा संकलन गरी धारामा पु¥याइएको छ । नदीको किनारमा नौ मिटर गहिरो इनार रहेको निर्माण समितिका सचिव राम बानियाँले बताए । आयोजना निर्माणका लागि खानेपानी कार्यालयले ३६ लाख ७६ हजार उपलब्ध गराएकामा दाताबाट आठ लाख ८७ हजार सहयोग प्राप्त भएको थियो । गलेश्वर वृद्धाआश्रममा रहेका ज्येष्ठ नागरिकलाई दैनिक कालिगण्डकीमा जान समस्या भइरहेको अवस्थामा मन्दिरमै धारा जडान भएपछि सहज भएको आश्रममा बस्ने राधिकाले बताइन् ।
पवित्र कालिगण्डकी नदीबाट उठेर नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणमा उल्लेख गरिएको पाइन्छ । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वरमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकबाट पनि भक्तजन दर्शन गर्न आउँछन् ।