Logo

कालीपुल बसपार्कमा ‘टर्मिनल’ भवन बन्ने

म्याग्दी-देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन बिसौनीको रूपमा प्रयोग हुँदै आएको म्याग्दीको कालीपुल बसपार्कमा टर्मिनल भवन बनाउन सुरु गरिएको छ । बेनी नगरपालिका–८ स्थित रहेको कालीपुल बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि गुरुयोजनाअनुसार साढे दुई करोड रुपैयाँ लगानीमा टर्मिनल भवन बनाउन लागेको हो ।
सघन सहकारी तथा भवन डिभिजन कार्यालय बागलुङले दुई करोड ४८ लाख रुपैयाँमा शुभ कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरी बसपार्क बनाउन लागेको बेनी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिए । सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतिक्षालयलगायतको सुविधा रहेका टर्मिनल बन्ने योजनाअनुसार भवन निर्माणका लागि जग खन्ने काम भइरहेको अध्यक्ष बराईलीले बताए ।
१५ महिनामा सक्ने लक्ष्यसहित पुस १३ गते कार्यालयसंँग सम्झौता भएको इन्जिनियर मिलनजंग बस्नेतले बताए । उनले भने, “अपाङ्गमैत्री बन्ने टर्मिनल भवन एक तलाको हुन्छ, पार्किङस्थल ढलान गरिने छ ।” “बसपार्क निर्माण गर्ने २०७४ को सहरी विकास मन्त्रालयले २१ करोड लागत अनुमानमा बसपार्क गुरुयोजना बनाउने डीपीआर तयारी पारेको थियो । विस्तृत परियोजना प्रतिवेदनको आधारमा विगत दुई वर्षदेखि पूर्वाधार निर्माण भइरहेको छ ।”
गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघ सरकारको सहकार्यमा बजेट विनियोजनबाट पूर्वाधार निर्माणले निरन्तरता पाएको वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता बराईलीले बताए । गत वर्ष बसपार्कमा रहेको बास्केटबल मैदानलाई कालिगण्डकी किनारमा स्थानान्तरण गरेर खैलमैदान ढलान र प्यारापिट निर्माण, बसपार्कको ट्याक्सी पार्किङ निर्माण गरिएको थियो । त्यस्तै, गत वर्ष नै बसपार्कमा यात्रु प्रतिक्षालय, सार्वजनिक शौचालय, टिकट काउण्टर र चियाखाजा पसलका लागि टहरा निर्माण, बसपार्क ढलान, सडकलाई कालोपत्रेले केही रूपमा धुलो कम र बसपार्क पहिलेभन्दा अव्यवस्थित पार्किङ कम भएको छ ।
२०६४ सालमा पर्वत र म्याग्दी जोड्ने कालिगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सुरु भएको थियो । बेनीदेखि काठमाडौं, पोखरा, सुनौली, हिमालपारिको जिल्ला मुस्ताङ र देशको विभिन्न स्थानबाट सवारीसाधन पार्किङस्थल हो । यस बसपार्कलाई नदीको कटानबाट जोगाउन रुपाताल संरक्षण आयोजनाले पक्की संरचना बनाउन सुरु गरेको छ ।
नदीको कटान र व्यवसायीको अतिक्रमणले बसपार्कमा सामान राखेर बेच्ने, निजीजस्तै सम्पत्तिको प्रयोग गर्दा जिल्लाका गाउँगाउँबाट र देशका विभिन्न ठाउँबाट आउने यात्रुले सास्ती खेप्नुपरेको छ । साँघुरो बसपार्क भविष्यलाई नसोची गुरुयोजनाअनुसार पूर्वाधार निर्माण भए पनि आवश्यकभन्दा बढी संरचना निर्माण भविष्यमा पार्किङको अभाव हुने सम्भावना बढेको कालीपुलबासीको गुनासो छ । बसपार्क अतिक्रमण गरेर संरचना र ब्यवसाय हटाउन नगरपालिकाले ध्यान दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्