बालिकाको बलात्कारपछि हत्या गर्ने अभियुक्त सार्वजनिक «

बालिकाको बलात्कारपछि हत्या गर्ने अभियुक्त सार्वजनिक

विराटनगर – मोरङको लेटाङ नगरपालिकामा भएको बालिका बलात्कार तथा हत्या प्रकरणमा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
फागुन ११ गते भएको घटनामा प्रहरीले लेटाङ नगरपालिका–८ का ६४ वर्षीय दीपक गिरीलाई सार्वजनिक गरेको हो । लेटाङ–८ कै जाँते उच्च माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने १२ वर्षीया बालिका विद्यालयबाट घर फर्किने क्रममा फागुन ११ गते बेपत्ता भएकी थिइन् । खोजतलासको क्रममा फागुन १३ गते बालिकाको शव घरदेखि ३ किलोमिटर दक्षिण लेटाङ–८ कै लालहिरा सामुदायिक वनमा फेला परेको थियो । बालिकाको शव खाडलमा ढुंगाले छोपिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
विद्यालयबाट २ घन्टा टाढा रहेको घर एक्लै फर्किने क्रममा अभियुक्तले देखेको र छोटो बाटो जाउँ भन्दै बालिकालाई ललाइफकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए । बलात्कारपछि बालिकाले ‘बुवालाई भनिदिन्छु’ भन्दै दौडिएपछि पोल खुल्ने डरले अभियुक्तले बालिकाको घाँटी थिची हत्या गरेको एसपी जिसीको भनाइ छ । हत्यापछि अभियुक्तले नजिकै रहेको खोल्सीमा ढुंगाले शव पुरेको जिसीले बताए । शव पुरेपछि अभियुक्तले बालिकाको लुगाकपडा र जुत्तासमेत ल्याई आफ्नै घर पछाडि रहेको खोल्सीमा जलाएर घर फर्किएको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्