माथिल्लो त्रिशूली ‘थ्री ए’को विद्युत् उत्पादन वैशाखभित्रै «

माथिल्लो त्रिशूली ‘थ्री ए’को विद्युत् उत्पादन वैशाखभित्रै

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको त्रिशूली ३ ए जलविद्युत् आयोजनाको पहिलो युनिटको उत्पादन आगामी १७ वैशाखदेखि हुने भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सोमबार बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारणलाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरूको बैठकले पहिलो युनिट ३० मेगावाटको विद्युत् १७ वैशाखभित्र उत्पादन सुरु गर्ने निर्णय गरेको हो । २०६७ सालको जेठमा २०७१ सालमा सम्पन्न हुने गरी आयोजना निर्माण सुरु भए पनि बल्ल पहिलो युनिटको विद्युत् उत्पादन हुन लागेको हो । ६० मेगावाटबाट ९० मेगावाट क्षमता बढाउनका लागि ठेकेदार कम्पनीले प्रस्ताव गरेपछि बढेको विवादका कारणसमेत आयोजनाको निर्माणकार्यमा ढिलाइ भएको थियो । दोस्रो युनिटको विद्युत् भने आगामी १५ असारदेखि उत्पादन गर्ने लक्ष्य छ । “पहिलो युनिटबाट १७ वैशाखभित्रमा र दोस्रो युनिटबाट १५ असारबाट विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम सम्पन्न गर्न ठेकेदार कम्पनीहरूले प्रतिबद्धता जनाएका छन,” कार्यकारी निर्देशक घिसिङले भने, “यसबाट एकातर्फ काठमाडौं उपत्यकाबाट नजिक रहेकाले यहाँको विद्युत् माग र आपूर्तिको व्यवस्थापनका लागि आयोजनाको योगदान महत्वपूर्ण छ ।”
शुक्रबारबाट आयोजनाको बालुवा थिग्रयाउने पोखरीभन्दा बाहिर रहेका बाँध, त्यहाँ रहेका गेटलगायतका संरचनाको परीक्षण गरिरहेको आयोजनाले ११ चैतभित्र सक्ने समय तालिका तय गरेको छ । आयोजनाका अनुसार, २ वैशाखसम्म बालुवा थिग्रयाउने पोखरी, मुख्य सुरुङ,लगायतका संरचनाको ड्राई तथा बेट टेस्ट गरिने छ । २ वैशाखपछि विद्युत्गृहमा रहेको जेनेरेटर लगायतका उपकहरण, पानी निकास सुरुङको ड्राई तथा बेट टेस्ट सम्पन्न गरी १७ वैशाखबाट पहिलो युनिटबाट विद्युत् उत्पादनको लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए । “अहिले हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरूको जडान र परीक्षण गर्ने काम भइरहेको छ,” जोशीले भने । “प्रसारणलाइन पनि १७ वैशाख अगाडि नै तयार पार्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौं ।” आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनले गरिरहेको छ । मातातीर्थमा १३ सय मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ । कम्पनीसँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।
अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ विगतमा विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि म्याद १६ असार २०७३ सम्म थपिएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ सम्म थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्