Logo

प्रजातन्त्र दिवसको सार्थकता

प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । यस वर्ष भने फागुन ७ गते शनिबार परे पनि प्रजातन्त्र दिवश मनाइयो । राणाशासनको अन्त्य भएको ऐतिहासिक दिनलाई प्रजातन्त्र दिवसका रूपमा मनाउने गरिन्छ । २००७ साल फागुन ७ गते राजा त्रिभुवनबाट शाही घोषणाद्वारा नेपालमा प्रजातन्त्रको घोषणा भएको थियो । प्रजातन्त्र प्राप्तिका लागि योगदान दिएका महान् योद्धा र उनीहरूको सपनालाई साकार पार्ने संकल्पका साथ हरेक वर्ष विभिन्न राजनीतिक दल र सरकारले विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने गर्छन् । तर, प्रजातन्त्रको मर्म र भावना कसैले आत्मसात् गर्न सकेको छ जस्तो मलाई लाग्दैन ।
परिवर्तनका लागि बलिदानी दिने महान् सहिदहरूले देखाएको बाटोमा न त सरकार हिँडेको पाइन्छ, न त कुनै दलले नै यसको मार्ग पहिल्याउन सकेका छन् । प्रजातन्त्र प्राप्तिपश्चात् मुलुकले विकास र स्थायित्वको गति पहिल्याउन नसक्दा प्रजातन्त्र नै अभिशाप बन्न पुगेको छ । योद्धाहरूको योगदानलाई औपचारिक कार्यक्रममा मात्र सीमित राख्नुले प्रजातन्त्रको अपमान भएको छ । त्यसमाथि अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेकोे छ । शब्दमा भन्नुपर्दा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनिए पनि आजको राजनीतिक परिवर्तनको जग भनेको २००७ सालमा स्थापित प्रजातन्त्र नै हो र नेपालमा प्रजातन्त्रको घोषणा भएको ७२ वर्ष पुगिसकेको छ ।
तर, दलहरूले मुलुकलाई सही गन्तव्य र विकासको मार्गमा अघि बढाउन सकेका छैनन् । यो हामी सबैका लागि ठूलो दुर्भाग्य हो । हामी अन्य दिवसहरू कति हर्ष अनि उल्लासका साथ मनाउने गर्छांै । यदि केही कमी–कमजोरी भएमा अर्को पटक सुधार गर्नेछौं भनेर प्रतिबद्धता गर्छौं । तर, प्रजातन्त्र दिवसमा सधैंको जस्तो विभिन्न प्रकारका सन्देशमूलक कार्यक्रमहरू आयोजना गरी सन्देश दिने र लिने कार्यक्रम गर्छौं । तर, यी सबै मौखिक रूपमा मात्र लागू भएको छ । जसरी हामीले मुलुकलाई स्वतन्त्र बनाउन लागिपरेका थियौं, त्यसरी नै राष्ट्र विकास गर्नका लागि लागिपरेको भए यहाँका जनता कोही भोकै बाटोमा सुत्ने, कोही महलमा बसेर चौरासी व्यञ्जन खाने अवस्था आउँदैन थियो । किनकि अझै पनि पूर्ण रूपमा देशका जनता स्वतन्त्र भएर बाँच्न पाएका छन् जस्तो मलाई लाग्दैन । अझै पनि देशमा जातीय छूवाछूत, महिला हिंसा, बोक्सीको आरोप तथा मानिसहरूको संकुचित सोच अनि व्यवहारका कारण बर्सेनि कैयौं मानिस पीडित बन्ने गरेका छन् । समाजमा बाहुन–क्षेत्रीकै बाहुल्यता बढी छ । घरवालाहरू कोठा भाडामा दिनुअघि जात सोधेर मात्र दिने गर्छन् भने तराईतिर कैयौं महिला बोक्सीको आरोपमा बेइज्जत भई कुटाइ खाएर मर्ने गरेकोे र दाइजो नल्याएको भनेर समेत मृत्यु भएको खबरहरूबाट हामी अवगत नै छौं । त्यसका साथै महिनावारी र सुत्केरी हुँदा मान्ने प्रथा छाउपडीको कुरा गरेर साध्य नै छैन ।
राजनीतिक दलमा महिलाको समावेशिता भए पनि खै त यस्ता उत्पीडनहरूबाट महिलाले मुक्ति पाएको ? कैयौं युवा आफ्नो क्षमताअनुसारको रोजगारी नपाएर विदेश पलायन हुने गर्छन् भने कैयांै यहीं बेरोजगार भएर बसेका छन् । खै त प्रजातन्त्र पाएपछि देश विकास भएको ? अझै पनि देशमा यस्ता ठाउँहरू छन्, जहाँ पानी र विद्युत्को सुविधा अझै पुगेको छैन । दुर्गम जिल्लाहरूमा अत्यावश्यक पूर्वाधारहरूको समेत विकास भएको छैन । पूर्वाधार विकासका लागि बजेट पास गर्ने गर्छन् तर त्यो बजेट कहाँ गएर फ्रिज र चुहावट हुन्छ, कसैलाई थाहा छैन । किनकि यहाँ सरकार र दलहरूलाई आफ्नो सत्ता र पद जोगाउनु अपरिहार्य छ । कसैको घरमा चुलो बलोस् या नबलोस्, घरमा उज्यालो होस् या अन्धकार, कसलाई मतलब छैन । किनकि पहुँचवालाहरूको हकमा यी सबै सेवासुविधा उपलब्ध हुनाले कसैले कसैका बारेमा यहाँ सोच्ने फुर्सद नै छैन ।

प्रतिक्रिया दिनुहोस्