Logo

धार्चेलाई मनास्लु संरक्षण क्षेत्रमा समेट्न माग

गोरखाको धार्चे गाउँपालिकाले आफ्नो सम्पूर्ण भू–भागलाई मनास्लु संरक्षण क्षेत्रमा समेट्न माग गरेको छ ।
गाउँपालिकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्राचार गर्दै चुमनुब्री गाउँपालिका समेटेर रहेको मनास्लु संरक्षण क्षेत्र विस्तार गरी आफ्नो पालिकालाई पनि समेट्न माग गरेको हो ।
चुमनुब्री गाउँपालिकाको ११६३ वर्ग किलोमिटर भूभाग समेटेको ७ वटै वडा विगत २३ वर्षदेखि नेपाल सरकारले मनास्लु संरक्षण क्षेत्रका रुपमा राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत व्यवस्थापन गर्दै आएको छ । कोषमार्फत सो क्षेत्रको जैविक विविधता, वन तथा वातावरण संरक्षण र दिगो पर्यटन विकासका लागि स्थानीयको प्रत्यक्ष जनसहभागितामा आधारित कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । त्यसैले भूगोल र जैविक विविधता तथा संस्कृति र रहनसहन पनि मिल्ने छिमेकी धार्चे गाउँपालिकालाई पनि राष्ट्रिय संरक्षण कोषमार्फत व्यवस्थापन गर्न माग गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।
“धार्चेमा प्राकृतिक र सांस्कृतिक सम्पदालाई ह्रास हुन नदिई उचित संरक्षण र दिगो पर्यटन विकासका लागि संरक्षण क्षेत्रका रूपमा विस्तार गर्न जरुरी छ” उनले भने, “स्थानीय बुद्धिजिवी, राजनीतिक दललगायत पर्यटनसँग सरोकार राख्नेहरुको सल्लाह सुझावका आधारमा कम्तीमा १० वर्ष धार्चेलाई संरक्षण क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्न परिपत्र गरेका हौं ।” संरक्षण क्षेत्र घोषणा भएमा प्रकृति र संस्कृतिको खुला संग्रहालयका रुपमा धार्चेमा पर्यटन प्रवद्र्धन गर्ने योजनामा पनि सहयोग पुग्ने उनको भनाइ छ ।
गाउँपालिकासँगै धार्चे मनास्लु पर्यटन विकास समितिले पनि धार्चेलाई संरक्षण क्षेत्र घोषणाका लागि वन तथा वातावरण मन्त्रालयमा पत्राचार गरेको छ । धार्चे संरक्षित क्षेत्रका रूपमा समेटिए वन्यजन्तु र जडीबुटीको संरक्षण हुने समितिका अध्यक्ष साने गुरुङले बताए ।
“यहाँ ओत, सालकलगायत महत्वपूर्ण वन्यजन्तु पाइन्छ । बहुमूल्य जडिबुटीको खानी पनि हो धार्चे” उनले भने, “संरक्षण क्षेत्र घोषणा भए अबैध रुपमा हुने बन्यजन्तु र जडिबुटीको चोरी निकासी रोक्न सकिन्छ । दिगो पर्यटन विकासका लागि पनि मद्दत पुग्छ ।” संरक्षण क्षेत्र विस्तारले सो क्षेत्रमा पर्ने धार्चे रुविनाला, मनालु लार्के, गणेश हिमाल, गणेश कुण्ड पदमार्गको प्रवद्र्धन र संरक्षणमा सघाउ पुग्ने पत्रमा उल्लेख छ ।
धार्चेमा संरक्षण क्षेत्र विस्तार गर्न सकेमा जैविक विविधतासँगै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख सत्यनारायण शाहले जानकारी दिए । पालिकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा बुझाएको पत्रका आधारमा थप प्रक्रिया अघि बढ्ने उनले बताए ।
अब विभागले विज्ञ समूह गठन गरी सो क्षेत्रको भूगोल, सामाजिक र सांस्कृतिक अवस्थालगायत अन्य विषयको अध्ययन गरी संरक्षण क्षेत्रमा समेट्ने -नसमेट्ने विषयमा आवश्यक रायसहितको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाउने र थप प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्