Logo

धनगढीमा पनि नयाँ मूल्य

milk splash

धनगढी-कैलालीको टीकापुर नगरपालिकामा दूध र दुग्धजन्य पदार्थको मूल्य निर्धारण गरिएको छ ।
नगरपालिकाले गठन गरेको दूध र दुग्धजन्य पदार्थको मूल्य निर्धारण समितिले फागुन १ गते (आज) देखि लागु हुने गरी दूध र दुग्धजन्य पदार्थको नयाँ मूल्य कायम गरेको छ । समितिले फागुन १ गतेदेखि किसानबाट डरी व्यवसायीले ५९ रुपैयाँमा खरिद गरी ७० रुपैयाँमा उपभोक्तालाई बिक्री गर्ने गरी दूधको मूल्य निर्धारण गरेको छ । दहीको मूल्य प्रतिलिटर एक सय, महीको ५०, घ्यू प्रतिकिलो एक हजार, खुवा सात सय र छुर्पी एक हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
समितिका संयोजक तथा टीकापुर नगरपालिकाको पशुसेवा शाखाका प्रमुख श्यामराज पाण्डेले व्यवसायीले किसानबाट फागुनदेखि साउनसम्म प्रतिलिटर ५९ र भदौदेखि माघसम्म प्रतिलिटर ५८ रुपैयाँमा खरिद गर्ने गरी दूधको मूल्य निर्धारण गरिएको बताए । उनका अनुसार यसअघि प्रतिलिटर ५५ रुपैयाँ दूधको खरिद दर र ६५ रुपैयाँ बिक्री दर निर्धाण गरिएको थियो ।
यद्दपि, व्यवसायीहरुले नगरपालिकाले निर्धारण गरेकै मूल्यमा किसानबाट दूध खरिद गरी ८० रुपैयाँ प्रतिलिटर बिक्री गर्न थालेका थिए । उपभोक्ता हित संरक्षण मञ्च टीकापुरले सोको विरोध गरेपछि टीकापुर नगरपालिकाले दूधको मूल्य पुनरावलोकन गर्न समिति गठन गरेको थियो ।
शाखाका प्रमुख पाण्डेले दूधको गुणस्तर समेत मापदण्ड अनुसार ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ हुनेपर्ने र प्लाटिकका भाडामा दूध ढुवानी, कालो पोलिथिनमा दूध बिक्री कार्य बन्द गर्ने निर्णय भएको बताए । उनले यस आर्थिक वर्षको मसान्तसम्म सबै डेरी उद्योगहरुले मापदण्ड पूरा गरी नगरपालिकामा दर्ता भइसक्नु पर्ने निर्णयसमेत गरिएको बताए । धनगढीमा व्यवसायीले ६५ रुपैयाँमा दूध खरिद गरी ८० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्