फेरियो आलु भण्डारण गर्ने तरिका

दोलखा-उच्च लेकाली भेगका किसानलाई आलु रोप्न अन्तिम चटारो छ । राजधानीमा तरकारीका लागि आलुको मुख्य स्रोत शैलुङ र भीमेश्वर नगरपालिकाका बोच र लाँकुरीडाँडाका किसानहरुको पुस र माघ आलु रोप्ने मुख्य सिजन हो ।
रोप्नका लागि जग्गा तयारी सकेपछि बीऊ भण्डारण नै किसानलाई मुख्य समस्या हुन्छ । रोप्ने बेलामा आलुको बीउ छान्नै एक दिन लाग्थ्यो । बीऊ राम्रो भयो भने फलपनि राम्रो लाग्छ ।
घरमै आलुको बीऊ राख्दै आएका किसानहरुको आजभोली दिन फेरिएको छ । घरमा राख्दा लामो लामो टुसा आउँदा पुसमै रोपिसक्नु पर्ने आलु रस्टिक स्टोरमा राखेपछि एक महिना पछिसम्म आलु रोपे हुने भएपछि किसानलाई राहत भएको हो ।
भीमेश्वर नगरपालिका–८ खानीडाँडामा बनेको ‘रस्टिक आलु भण्डार’मा स्थानीय टकमाया श्रेष्ठले पहिलो पटक गएको वर्ष बीउ राखिन् । जसबाट आलुको बीउमा मुना पलाएर खेर जाने समस्या रहेन । बीउ सुरक्षित रहने भएकाले भण्डारमा ल्याएर राख्ने गरेको उनले बताइन् ।
यो भण्डारमा हाल २५ जन किसान ले आलुको बीउ राखेका छन् । “परम्परागतरूपमा घरमा राख्थ्यौं, मुना पलाएर केलाउनुपर्ने झन्झट थियो” स्थानीय हस्तमाया श्रेष्ठले भनिन्, “यहाँ राखेपछि रोप्ने समय पनि मिल्ने, बीउ कुहिने र खेर जाँदैन ।” घरमा राखेको आलुको बीउ आधा नष्ट भएर जाने गरेको उनले बताइन् । “हिमपात र हिउँदे वर्षा नभई हतारमा आलु रोप्थ्यौं” उनले भनिन्, “अहिले माघ पहिलो साता आलु रोप्न पर्याप्त समय मिलेको छ ।”
आलुको बीउ भण्डारणका लागि भीमेश्वर नगरपालिकाको लाँकुरी र बोचसहित शैलुङ गाउँपालिकामा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले ६ वटा रस्टिक भण्डार बनाइदिएको छ । ६२ लाखमा बनेका यी नमुना रस्टिक भण्डारमा २ सय बढी किसानले सामूहिकरूपमा आलुको बीउ राख्ने गरेका छन् । घरमा राखेको बीउ आधा नष्ट हुँदा किनेर समेत आलु लगाउने गरेको स्थानीय शैलुङ २ भुषाफेदाका सुकममान लामालेले सुनाए ।
शैलुङ–२ भुषाफेदाकी चन्द्रमाया तामाङले पनि पहिलो पटक सामूहिक रूपमा रस्टिक भण्डारमा आलुको बीउ राखेकी छन् । “आलुको बीउ किन्न अन्तै धाउनुपथ्र्यो, तर रस्टिकमा राखेपछि आफ्नै बीउ रोप्न पाएका छौं,” उनले भनिन्, “उत्पादन पनि बढेको छ, समय पनि बचेको छ ।”
उच्च हिमाली क्षेत्रका करिब १० हजार किसान आलु खेतीमा निर्भर छन् । तर बीउ भण्डारण गर्न यस्ता केन्द्र छैनन् । जसका कारण रोप्ने बेला बीउ खोज्दै भौंतारिनुपर्ने बाध्यता छ । आलुको बीउको गुणस्तर र उत्पादकत्व बढाउन रस्टिक भण्डारको अवधारणा ल्याइएको हो । केही पालिकाले यस्ता भण्डार कक्ष निर्माण थालेका छन् ।
घरमा राख्दा बीऊका टुसा लामो लामो हुन्छ । सबै नउम्रिदा किसानलाई रोप्ने बेला झन् समस्या हुन्छ । तर रस्टिक स्टोर बनाए पछि बीऊ राम्रो हुने किसानहरुकै अनुभव छ । ५५ जनाको समूह मिलेर रस्टिक स्टोर चलाएका शैलुङ ३ का पूर्णबहादुर खड्काले आलु भण्डारण र बीऊका लागि असाध्यै राम्रो भएको बताए ।
उच्च लेकाली आलु स्वादिलो र पौष्टिक भएकाले पनि शैलुङ र आसपासका क्षेत्रबाट नै काठमाडौंमा वर्षे आलुको राम्रो माग छ । शैलुङ आसपासबाट मात्र वार्षिक ५० करोड बढीको आलु र तरकारी काठमाडौं जान्छ । शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले सहयोगी संस्थाले बनाइदिएका यस्ता रस्टिक स्टोर लाभदायक भएको बताए । गाउँपालिकाको तर्फबाट पनि स्थानीय तहले पनि किसानहरुका लागि पूर्वाधार तयारी र अनुदान दिंदै आएको जानकारी दिए ।
पछिल्लो समय बजारमा राम्रो माग हुन थालेपछि उच्च लेकालीआलु र तरकारीको माग बढ्न थालेपछि किसानहरु व्यवसायीक बन्दै गएका छन् । लेकाली किसानको मुख्य पेशा पनि आलु खेती नै हो । तर वर्षामै सडककै कारण समयमा ढुवानी हुन नसक्दा कुहिने बिग्रिने समस्या हुने र उचित मूल्य पाउँदैनन् । बीऊ र मलको समस्या पनि बेला बेलामा भोग्दै आएका छन् । साझेदारीमा बनेका बीऊ भण्डारणका लागि राज्यले पनि लगानी गरे किसानलाई थप राहत हुने र उत्पादन समेत बढाउन हौसला मिल्ने छ ।