Logo

खानेपानीको गुणस्तर परीक्षण प्राथमिकतामा


खानेपानी मन्त्रालयले खानेपानीको गुणस्तर परीक्षणलाई प्राथमिकता दिएर अभियानका रुपमा अगाडि बढाउने जनाएको छ ।
२० प्रतिशत उपभोक्ताले मात्रै गुणस्तरिय खानेपानी पिउन पाएको भन्दै मन्त्रालयले अब गुणस्तर परीक्षणलाई मुख्य प्रथामिकतामा राखेर अभियान नै सञ्चालन गर्ने जनाएको छ । नेपालको संविधानले स्वच्छ पिउने पानी पाउनु नागरिकको मौलिक हकको रुपमा व्याख्या गरे पनि अधिकांश उपभोक्ताले त्यसको उपयोग गर्न पाएका छैनन् । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको आगामी नीति तथा कार्यक्रममा खानेपानीको गुणस्तर परीक्षणलाई राष्ट्रिय अभियानको रुपमा परिचालन गरिने बताएका छन् ।
“सबै सर्वसाधरणले गुणस्तरिय खानेपानी पाउनुपर्छ, उपभोक्ताले प्रयोग गरिरहेको खानेपानीको गुणस्तर अभियानको रुपमा परीक्षण गर्ने छौं” उनले भने, “यसका लागि आवश्यक परामर्श तथा तयारी सुरु गरिएको छ ।” भूकम्प, जलवायु परिवर्तनको असरका कारण पानीको स्रोत÷मुहान सुक्दै गएको र भूमिगत पानीको सतह घट्दै गएकोमा निकट भविश्यमा खानेपानीका स्रोतहरुको संरक्षण र मूल फुटाउ अभियान सञ्चालन गर्न एकीकृत जलस्रोत व्यवस्थापन गर्न विशेष कार्यक्रम ल्याउने मन्त्रालयले जनाएको छ ।
दिगो विकास लक्ष्य २०३० हासिल गर्न गुणस्तरीय खानेपानी वितरणका लागि पानीको परीक्षणको दायरा बाढने, प्रशोधनयुक्त ढल प्रणालीका लागि यसै वर्षबाट विशेष कार्यक्रम सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले सबै सर्वसाधरणहरुमा खानेपानी पुगे पनि उनीहरुले गुणस्तरीय खानेपानी पिउन नपाएको भन्दै सरकारले गुणस्तर परीक्षणमा जोड दिनुपर्ने बताए । “खानेपानी पाउने मात्रै ठूलो कुरा होइन, कयौं, उपभोक्ताहरुले अझैसम्म पनि गुणस्तरिय खानेपानी पिउन पाएका छैनन्” उनले भने, “सरकारले जतिसदो छिटो सर्वसुलभ रुपमा उपभोक्तालाई गुणस्तरिय खानेपानी उपलब्ध गराउने नीति लिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्