कृषि क्षेत्रलाई राहत, किसान उत्साहित
हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध

कर्णालीमा पुनः तेस्रो पटक वर्षासहित भारी हिमपात भएको छ । बिहीबार साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको छ । नाग्म–गमगडी सडकको जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै झण्डै २ फिटभन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताए ।
उनले भने, “जुम्ला र मुगु जोड्ने सीमा क्षेत्र बुलेबुलेमा बाक्लो हिउँ जमेको छ । हिउँ पन्छाउन मेसिन तयारी अवस्थामा छ । घाम लागेको खण्डमा दुई दिनभित्र सडक सुचारु हुन सक्छ । तत्काल भने सडक खुल्ने सम्भावना छैन ।”
बोतादेखि पिनासम्म उकालोमा झण्डै सातवटा मोड भएकाले हिउँ पन्छाए पनि गाडी चिप्लिने सम्भावना छ । त्यसैले पूर्णरूपमा सडक सञ्चालनमा आउन झण्डै एक हप्ता लाग्ने सक्ने देखिएको छ । सडक अवद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ । मुगुमा हुने आयात निर्यात सबै ठप्प हुने छ । अघिल्लो पटकको हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनः अवरुद्ध भएको हो ।
त्यस्तै जुम्ला हुँदै मुगु राराताल जाने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पूर्णरूपमा अवरुद्ध भएको छ । उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् । साथै जुम्लाका आठै पालिका जोड्ने ग्रामीण सडक पनि हिमपातले अवरुद्ध छन् । कर्णाली राजमार्गको त्रिवेणी हुँदैं ताम्ती टोप्ला इमिल्छा जाजरकोट जोड्ने सडक,जुम्ला सदरमुकामदेखि पातारासी जोड्ने सडक, जुम्लाबाट गुठिचौर जाड्ने सडकलगायतका दर्जनौ ग्रामीण सडक अवरुद्ध भएका छन् । सुत्केरी विरामीलाई अस्पताल ल्याउनसमेत सकस हुने देखिएको गुठिचौर गाउँपालिका–२ का क्षेत्र बुढाले बताए ।
उता बिहीबार हिमपातले विभिन्न ठाउँमा अवरुद्ध कर्णाली राजमार्ग भने बिहीबार रातीदेखि नै सञ्चालनमा आएको छ । जुम्ला खण्डको एैरेनीदेखि धौलापानीसम्म जाम भएका गाडी खुलेका छन् भने कालिकोटको पिलि र विर्तामोडमा पहिरोले अवरुद्ध सडक पनि खुलेको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख भण्डारीले जानकारी दिए । जुम्लामा विद्युत सेवा पनि अवरुद्ध भएको छ । विभिन्न ठाउँमा पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो ।
कृषि क्षेत्रलाई राहत, किसान उत्साहित
कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातसँंगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीको दैनिकी कष्टकर बनेको छ भने अन्तरपालिका र अन्तर जिल्ला आवतजावतमा समेत समस्या भएको छ । तर माघ अन्तिममा परेको हिँउले कृषि क्षेत्रलाई ठूलो राहत पु¥याउने भएपछि किसान निकै उत्साहित भएका छन् ।
पातारासीका स्याउ किसान ताराबहादुर बोहोरा भन्छन्, “माघ अन्तिममा परेको हिउँले कर्णालीको हिउँदेबालीलाई निकै राहत गर्छ । भने स्याउ बगैचा व्यवस्थापन, सिँचाइमा समेत सहयोग पुग्छ । बिरुवा काँटछाँट र हिउँ संकलन पोखरी बनाउने, हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम सुरु हुन्छ । सिँचाइ पहुँच नभएको ठाउँमा हिउँले राहत पु¥याउँछ ।”
माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने, भोकमरी नहुने पनि विश्वास गरिन्छ । विशेषगरी अहिलेको हिउँले स्याउ बगैंचा व्यवस्थापनमा टेवा पु¥याउँछ । हाल जुम्लाका झण्डै १७ हजार बढी घरधुरी स्याउ खेतीमा निर्भर रहेका छन् ।
उता कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी अहिले परेको हिउँलाई संकलन गरी हिउँपोखरी बनाएमा सिँचाइका लागि टेवा पुग्ने बताउँछन् । विभिन्न गाउँमा हिउँ संकलन पोखरी निर्माण भएकोले हिउँ जम्मा गरी स्याउ बगैचा, तरकारीबारीमा सिँचाइ गर्न सकिने उनको भनाइ छ ।
हिउँसंकलन पोखरी नभएका किसानले भर्खर रोपेका स्याउको विरुवा वरिपरि खाडल बनाएर हिउँ जम्मा गरिदिएपछि महिनौ दिन सम्म सिँचाई गर्नु नपर्ने समेत प्रमुख अधिकारीले जानकारी दिए । यतिबेलाको हिउँलाई सदुपयोग गर्न सके हिउँदे बाली र स्याउ उत्पादन वृद्धिमा टेवा पुग्ने देखिन्छ ।