वन्यजन्तु तस्करको पासोमा बाघ

भैरहवा-पश्चिम नवलपरासीमा मृत अवस्थामा फेला परेको बाघलाई पासो थापेर मारिएको अनुमान गीिएको छ । यद्यपि मृत बाघ फेला परेपछि अनुसन्धान टोली गठन भई छानबिन भइहरे पनि कोही पनि पक्राउ पर्न सकेका छैनन् । एक साताअघि गत शनिबार बर्दघाट नगरपालिका वडा नम्बर १६ दाउन्नेदेवी सामुदायिक वन क्षेत्रको भालु खोलामा एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको थियो ।
दाउन्नेदेवीका स्थानीय महिलाहरु शनिबार दिउँसो घाँस काटन गएका बेला दाउन्नेदेवी सामुदायिक वनमा पाटेबाघ मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । करिब ७ फिट लम्बाइ, ३ फिट उचाइ रहेको सो बाघ १ सय ५० किलो तौलको वयस्क पोथी बाघ रहेको डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका जिल्ला वन अधिकृत शंकर प्रसाद गुप्ताले बताए । उनका अनुसार बाघ कसले र किन मा¥यो भन्ने विषयमा अनुसन्धान सुरु भएको छ, तर अहिलेसम्म कोही पनि नियन्त्रणमा आउन सकेका छैनन् ।
मृत बाघको प्रकृति हेर्दा चोरी निकासी गर्ने मानिसले अन्य वन्यजन्तु मार्न पासो थाप्दा बाघ परेको हुन सक्ने अनुमान वन अधिकृतहरुको छ । बाघलाई गोली हानेर मारेको भनिए पनि अनुसन्धानका क्रममा गोली लागेको कुनै निशान देखिएको छैन, तर भालाले रोपिएको घाउ पाइएको छ ।
‘पासोमा परेको बाघलाई भालाले हान्न थालेपछि घाइते बाघ पासोबाट फुत्केर भागेको र पर गएर मरेको हुन सक्छ । बाघ मृत फेला परेको वरपर पासो थापेको कुनै वस्तुहरु फेला नपर्नुले पनि घाइते गई भाग्ने क्रममा मरेको हुन सक्छ,’ अधिकृत गुप्ताको तर्क छ ।
मृत बाघको छाला काडी वन कार्यालयमा नै राखी अन्य भागहरु सबडिभिजन वन कार्यालय बर्दघाटको कम्पाउन्डभित्र गाडिएको बताइएको छ । छाला सुकेपछि चितवन राष्ट्रिय निकुन्ज कार्यालय कसरामा पठाइने अधिकृत गुप्ताले बताए । वन्यजन्तु तस्करहरुले बाघलाई पासो थापेर नै मार्ने नियत राखेको पनि हुन सक्ने उनको भनाइ छ ।
बाघ मृत अवस्थामा फेला परेको स्थान महेन्द्र राजमार्गदेखि झन्डै पाँच किलोमिटरभित्र घना जंगलमा हो । सो जंगल क्षेत्रमा बाघ अहिलेसम्म देखिएको छैन । कहिलेकाहीँ चितुवा देखिने गरे पनि मृग, बँदेल, नीलगाई लगायतका जनावर धेरै पाइने गरेकोले ति जनावर मार्न पासो थाप्दा बाघ परेको हुन सक्ने अनुमान छ । त्यो वन क्षेत्रमा अहिलेसम्म बाघ नेदेखिएकाले नजिकैको निकुञ्जबाट आएको हुन सक्ने गुप्ताले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गैरकानुनी तरिकाले बाघ, गैंडा, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको विना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको अंगहरु राख्ने, खरिद गर्ने, बिक्रि गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।