हिमपातले कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक अबरुद्ध, जनजीवन कष्टकर

जुम्ला – बिहीबार रातिदेखि लगातार भइरहेको वर्षा र भारी हिमपातका कारण कर्णाली राजमार्गको विभिन्न खण्ड अबरुद्ध भएको छ । प्राप्त सूचनाअनुसार कालिकोटको पिलिमा सडक अबरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताए ।
उनका अनुसार हिउँ पन्छाउन कालिकोटतर्फ जुम्लाबाट मेसिन पठाइएको छ । यद्यपि, के कति अबरुद्ध भएको भन्ने सूचना आएको छैन । त्यस्तै कर्णाली राजमार्गको जुम्ला खण्डमा पनि भारी हिमपातले गाडी सडकमै रोकिएका छन् । जुम्ला सदरमुकामदेखि झन्डै ८ किलोमिटर पश्चिततर्फ एैरेनीमा छोटो तथा लामो दूरीका गाडी हिमपातले फसेका छन् ।
निमित्त प्रमुख भण्डारीले भने, “जुम्ला सदरमुकामदेखि एैरेनीसम्म हिउँ पन्छाउँदै गाडी ल्याइयो । तर, हिमापात नरोकिएपछि गाडी गुड्ने अवस्था छैन् । सयौं गाडी जाममा परेका छन् । सम्भावित पहिलो पन्छाउन र अत्याआवश्यक यात्रा सहज बनाउन सडक डिभिजनको टोली सडकमै खटिएको छ ।”

उता लगातार वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड अन्तर्गत खडाचक्र नगरपालिमा–२ हुल्म बजार नजिक ठुलो ढुङ्गा र माटोसहितको पहिरो आउँदा अबरुद्ध भएको सडक खुलेको छ । राजमार्ग अवरुद्ध बनेको हो ।
त्यस्तै, नाग्म गमगडी सडकखण्ड पनि हिमपातले अबरुद्ध भएको छ । सडक खण्डको जुम्ला र मुगु जिल्ला जोड्ने सिमाना बुलेबलेमा ठूलो पहिरो आउँदा सडक बन्द भएको भण्डारीले जानकारी दिए । उनका अनुसार बाक्लो हिउँ जमेका कारण मेसिन पनि जान सक्ने अबस्था नरहेको र तत्तकाल केहि दिन उक्त सडकको यात्रा नगन अनुरोध गरिएको छ ।
कर्णाली राजमार्ग र नाग्म गमडी सडक खण्डका कुनै पनि भागमा हुने अबरुद्धलाई हटाउन तथा यात्रा सहजरीकरण गर्नका लागि सडक डिभिजन जुम्लाको पूरै जनशक्ति मेसिनसहित सडकमा खटिएको छ ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले अत्याआवश्यक कामबाहेक यात्रा नगर्नसमेत अनुरोध गरिएको बताइन् । हिमपात जारी रहेकोले घटना हुन सक्ने भन्दै सजक रहन उहाँको आग्रह छ । यद्यपि कुनै समस्या भए र घटना घटेमा प्रहरीलाई खबर गर्ने समेत भनिएको छ ।
हिमपातले कृषि क्षेत्रका लागि राहत गरे पनि जनजीवन कष्टकर बनेको छ । हिमपातसँगै बढेको अत्यधिक चिसोले दीर्घरोगी बालबालिका ज्येष्ठ नागरिक प्रभावित भएका छन् ।