Logo

सिन्धुलीमा रोकिएन अबैध गाँजा खेती

सिन्धुलीमा बर्षेनी गाँजा खेती मौलाउँदै गएको छ । प्रहरीले गाँजा खेती नियन्त्रण गर्ने उद्देश्यले गाँजा फडानी गर्दै आएपनि सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रमा बर्षेनी गाँजा खेती हँदै आएको छ ।
गत मंसिर २० मा प्रहरीले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–७ स्थित अधेंरी र भुताहमा गरि पाँच¬पाँच कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी गरेको थियो । अवैध रुपमा लगाइएको लागु औषध हरियो गाँजाको बोटलाई काटेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । “खेतबारीमा व्यावसायीक रुपमा लगाइएको गाँजाको हरियो बोटलाई काटेर सोही स्थानमा नष्ट गरेका हौं” उनले भने, “अवैध रुपमा लगाएका गाँजा हामीले थाहा पाए सम्म नष्ट गरिरहेका छौं ।”
प्रहरीले हरिहरपुरगढी गाँउपालिकाकै कानसिर र दमारमा दुई कठ्ठा क्षेत्रफलमा लगाएको २५ सय बढी बोट गाँजा नष्ट गरेको छ । प्रहरीले वर्षेनी गाँजा खेती नष्ट गरेको तथ्यांक सार्वजानिक गरेपनि त्यस क्षेत्रमा गाँजा खेती रोकिएको छैन ।
तस्करहरुले लुकीछिपी गाँजा खेती गर्ने र तराईका विभिन्न जिल्ला हुँदै गाँजा भारत निर्यात गर्ने गरेका छन् । हरिहरपुरगढी गाँउपालिका भित्र बढी गाँजा खेती हुँदै आएको स्थानीय स्वयम् बताउँछन् ।
प्रहरीले पाकेर तयारी हुने समयमा मात्रै गाँजा फडानी गर्ने गरेकाले खेती गर्ने तस्करहरुले खेती गर्न छाडेका छैनन् । प्रहरीले गाँजाको बिरुवा नष्ट गर्नुपर्ने स्थानीय बताउँछन् । प्रहरीले विगतका वर्षमा समेत यस क्षेत्रमा अवैध रुपमा विघौ विगाहामा लगाइएको गाँजा खेती नष्ट गर्दै आएको भएपनि त्यस क्षेत्रमा गाँजा खेती न्युनिकरण हुन सकेको छैन ।
गाँजा खेती फडानी गरेपनि खेती गर्नेलाई भने कारवाही भएको पाइएको छैन । “खेत गर्ने किसान भएपनि गाँजाका तस्कर भएपनि कारवाही हुनुपर्छ, अनि मात्रै अबैध गाँजा खेती रोक्न सकिएला” एक स्थानीयले भने ।

प्रतिक्रिया दिनुहोस्