१२औं राष्ट्रिय जनगणना
‘प्रारम्भिक तथ्यांक तथ्यपरक भएन’

प्रतिनिधिसभाका सांसदहरूले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक कांग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहेअनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर्गणना गर्नसमेत माग गरे । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रीय तथ्यांक विभागसँग माग गरे । उनले काठमाडौंमा सधैं माईग्रेसन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घटने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नतिजामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताए ।
काग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरे । उनले विदेशमा गएका नेपालीको जनगणना गर्ने कार्य योजना के छ ? भनी केन्द्रीय तथ्यांक विभागलाई प्रश्न गरे । सांसद राईले गणकहरूलाई घरघरमा पु-याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाइन् ।
यता, केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुनसक्ने बताए । उनले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरूको ध्यानाकर्षण गराए । महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नतिजाको कामलाई विभागले इमान्दारिताका साथ समयमै सम्पन्न गराएको पनि बताए ।