घरघरबाट रकम उठाएर गाउँमा खानेपानी

जिल्लाको बाँफिकोट गाउँपालिका–२ जिपुका स्थानीयले आफ्नै लगानीमा पाँचवटा खानेपानी आयोनजा निर्माण गरेका छन् । गाउँमा खानपानी समस्या बढ्दै गएपछि गाउलेले आफ्नै लगानीमा आयोजना निर्माण गरेका हुन् । गाउँका गोपीगौंडा, बलिहाल्ना, बस्नेतटोल र बौलेखोलालगायतका टोलमा साना तथा ठूला गरी करिब पाँचवटा खानेपानी आयोजना निर्माण गरिएको हो ।
गाउँमा खानेपानी समस्या भए पनि कुनै सरकारी निकायबाट सम्बोधन नहुँदा स्थानीय आफैंलै खानेपानी आयोजना सम्पन्न गरेर गाउँमा खानेपानी पुर्याएको स्थानीय नरेन्द्र खत्रीले जानकारी दिए । बाउसे तरवरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरेर प्रतिघर ६ हजारको दरले २ लाख २९ हजार संकलन गरी खानेपानी गाउँमा पुगको हो । “४० घरधुरीले करिब २० दिनको श्रमदान पनि गरेका छन्, करिब ३ किमि टाढाको मुहानबाट खानेपानी गाउँमा ल्याएका छौं,” खत्रीले भने, “भौगोलिक विकटताका कारण पानी ल्याउन समस्या भए पनि गाउँलेको सहयोगका कारण त्यो सम्भव भयो ।” त्यस्तै बलिहान्ना टोलमा पनि गाउँलेको लगानीमा खानेपानी पुगको छ ।
उपभोक्ता समिति अध्यक्ष सदुनाथका अनुसार खानेपानी योजनाका लागि ३३ घरबाट १ लाख ६० हजार संकलन गरिएको छ । त्यसैगरी अर्को थगरेखोला खानेपानी आयोजना पनि सम्पन्न भएको छ । जसमा ३ लाख २० हजारको पाइप र एक लाख ७६ हजार जनश्रमदान लागत लागेको स्थानीय बिर्खबहादुर बस्नेतले जानकारी दिए । गाउँगाउँमा खानेपानी पुगेपछि वर्षाैंदेखि खानेपानी समस्या झेल्दै आएका स्थानीय खुसी छन् ।