खोप कार्ड अनिवार्य गर्दा बढेको भीड

कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन दिन–प्रतिदिन तीव्र रूपमा फैलिराखेको छ । विज्ञहरूका अनुसार यो भाइरस सामान्यतया शरीरभित्र प्रवेश गरेपछि एकदेखि तीन दिनसम्म मात्र सक्रिय रहनेछ । कोरोनाविरुद्धको खोप नलगाएका मानिसहरूलाई छिटो संक्रमण गर्ने र रोगसँग लड्न निकै गाह्रो पनि बनाउने गर्छ । चिकित्सकहरूका अनुसार खोप लगाएकाहरूलाई पनि यो भाइरसले आक्रमण गर्छ र श्वास–प्रश्वासमा पनि समस्या ल्याउँछ । तर, हत्तपत्त मृत्यु भने नहुने र स्वास्थ्यमा पनि शीघ्र लाभ हुने गर्छ । यसका साथै पहिलेको दाँजोमा मृत्युदरको मात्रामा धेरै कमी आएको छ । त्यसैले सबैले अनिवार्य रूपमा खोप लगाउन आवश्यक छ । तर, हाम्रो देशको नियम–कानुन भनौं या कमजोरी, जता पनि नातावाद र कृपावाद नै चल्ने गर्छ । हँुदाहँुदा खोप आउनासाथ प्राथमिकताको हिसाबमा नगई सबैले आफ्नो परिवार, साथीजनलाई प्राथमिकतामा राखी खोप बाँड्ने गर्छन् । खोप लगाउन जाँदाको दृश्य हेर्दा लाग्छ कि कोरोना त्यहींवरपर नै घुमिराखेको छ ।
केही दिनअघि म आफ्नै घरपायकको स्थान (वडा) मा बुस्टर डोज खोप लगाउन जाँदा त्यहाँ यति धेरै भीड थियो कि लगभग ३÷४ सय जना व्यक्ति लाइनमा बसिराखेका थिए । कोहीले मास्क लगाएका थिए भने कसैले चिउँडोमा झुन्ड्याएका थिए । लाइन देख्दा लग्थ्यो, कतै हामी ग्यास लिने लाइनमा त छैनौं ? जहाँ वृद्ध, अशक्त, बच्चा बोकेका महिलाहरूलगायत सबै जना एकै लाइनमा थिए । न त त्यहाँ लाइन नै व्यवस्थित थियो, न त राम्रोसँग खोपका बारेमा सूचना नै दिइएको थियो ।
कोही भन्छन्, टोकनको व्यवस्था छ । कोही भन्छन्, यहीं लाइन बसेर पालो आएपछि जाने हो । आखिर यति धेरै लापरवाही किन ? अशक्त, वृद्ध अनि साना नानीबाबु साथमा लिएर आएकालाई पहिलो प्राथमिकता दिएर प्रथम, दोस्रो अनि बुस्टर डोज लगाउनेहरूलाई खोप उपलब्ध छ या छैन, सम्पूर्ण कुराको जानकारी दिएर भीड नियन्त्रण गर्नु त्यहाँको पहिलो अनिवार्यता थियो । तर, यहाँ सबैलाई भीड मिचेर होस् या झैझगडा गरेर होस्, हरहालतमा खोप लगाउनु नै छ । जबकि अघिल्लो दिनसम्म उक्त खोप लगाउने ठाउँमा मान्छे नभएर सुनसान थियो र गएको ५ देखि १० मिनेटमा फर्किएको भन्ने जस्ता भनाइहरू पनि समुदायमा सुन्नमा आइराखेको थियो । त्यसैले सूचनाको राम्रोसँग र सही समयमा सम्प्रेषण हुन अत्यन्तै जरुरी छ ।
पहिलो, दोस्रो या बुस्टर डोज कुनलाई र कुन उमेर समूहको मानिसलाई बढी प्राथमिकता दिने हो ? यो विषयलाई मध्यनजर गरी सबैले नियमको इमानदारीपूर्वक पालना गर्नु आवश्यक छ । खोप लगाउने भीडको प्रसंगको विषयमा भन्नुपर्दा मेरो एक मित्र, बुस्टर डोज लगाउनलाई थापाथली अस्पतालमा जाँदा त्यहाँ पनि ३ देखि ४ सय व्यक्ति लाइनमा बसिराखेका र सिभिल अस्पतालमा पनि यस्तै अनियन्त्रित भीड भएको कारणले खोप लगाउन गएका मानिसहरूले निकै सास्ती खेप्नुपरेको अनुभव सुन्नमा आइराखेको थियो । त्यस्तै सरकारले दिन–प्रतिदिन ओमिक्रोनको संक्रमणदर बढेका कारण देशका सबै नागरिकले खोप लगाउन अनिवार्य गर्नुका साथै खोप लगाएका व्यक्तिहरूले सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरेको छ । यदि साथमा कार्ड उपलब्ध नभएमा मोबाइलमा खोप कार्डको फोटो खिचेको भए पनि मान्य हुनेछ । यसैगरी सपिङ मलदेखि पार्टी प्यालेससम्म प्रवेश गर्न खोप कार्ड अनिवार्य गरिएको छ ।
मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश गर्न नदिइने भएको छ । त्यस्तै युवासंघ नेपालले काठमाडाँैका विभिन्न चोक चोकमा ‘मास्क लगाऊँ कोरोना भगाऊँ’ जस्ता अभियानहरू पनि सञ्चालन गर्नुका साथै मास्क नलगाई हिँड्ने मानिसलाई १ सय रुपैयाँ जरिवानासमेत लिने गरिएको छ । केही समयअघि मात्र नक्सालको भाटभटेनीमा १ सय २ जना र काठमाडाँै मलमा ६४ जना व्यक्ति मास्कबिना भेटिएका कारण प्रतिव्यक्ति १ सयका दरले जरिवाना लिइएको खबर पनि सुन्नमा आइराखेको थियो । मास्क लगाउनु र स्वास्थ्यको मापदण्ड पालना गर्नु अरूका लागि नभई आफ्नै स्वास्थ्यका लागि भएकाले यस्तो संवेदनशील कुरालाई लापरवाही गर्नु हुँदैन । किनकि हामी स्वस्थ रहेमा मात्र घर, परिवार, समाज र देश स्वस्थ हुन्छ ।