Logo

नागरिकता र राहदानी वितरण पाँच दिन बन्द

दोलखा – कार्यालयका कर्मचारीहरूमा कोरोना भाइरस पुष्टि भएपछि दोलखाको जिल्ला प्रशासन कार्यालयको मंगलबारदेखि ५ दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले मंगलबार एक सूचना प्रकाशित गरी काम गर्ने केही कर्मचारी संक्रमित भएकाले आउँदो आइतबारसम्मका लागि सेवा बन्द गरेको जनाएको छ ।
यस अघि कर्मचारी संक्रमित भएपछि ३ स्थानीयतहको आकस्मिक सेवावाहेक अन्य सेवाहरू बन्द गरिसकेका छन् । दोलखाको तामाकोसी गाउँपालिका, कालिञ्चोक र शैलुङ गाउँपालिकाले आकस्मिक सेवावाहेक पालिकाबाट प्रदान गरीने अन्य सेवाहरू कोभिडका कारण वन्द गरेको जनाएको छ । भीडभाड नियन्त्रण गर्न केही दिनयता स्थानीयतहअनुसार आलोपालो अनुसार नागरिकता र राहदानी वितरणको काम गर्दै आएको थियो ।
कालिञ्चोक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामा एन्टिजेन गर्दा कोरोनाको पुष्टि भएपछि सोमबारदेखि ५ दिन कार्यालयका सेवाबन्द गरेको छ । यस अघि शैलुङ र तामाकोसी गाउँपालिकामा कार्यरत कर्मचारीहरूमा कोभिडसम्बन्धी मिल्दोजुल्दो लक्षणसहित केही कर्मचारी परेपछि दुवै गाउँपालिकाले एक हप्ता आकस्मिक बाहेका सेवा बन्द गरेका छन् ।
दोलखा जिल्लामा सोमबारसम्म नयाँ भेरियन्ट सहितको ओमिक्रोन कोरोना २ सय ३५ सक्रिय संक्रमित छन् । कोभिडको तेस्रो तह बढ्दै गएपछि चरिकोट अस्पतालको बन्द रहेको पीसीआर पनिकर्मचारी व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको छ । सक्रिय संक्रमितहरू होम आइसुलेसनमा छन् । कोभिड नियन्त्रणका लागि प्रशासनले थप कडाइ गरेको छ । भीडभाड हुने सवै कार्यक्रमहरू जिल्लामा बन्द गरिएको छ भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनका लागि सवैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्