भ्रष्टाचार बढ्दा लगानीको वातावरण बिग्रन्छ «

भ्रष्टाचार बढ्दा लगानीको वातावरण बिग्रन्छ

भ्रष्टाचारको सूचकांकमा नेपालले सुधार गर्न सकेको छैन । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा कायमै रहनु भनेको नेपाल पछिल्ला वर्षहरूमा भ्रष्टाचार नियन्त्रणमा असफल हुनु हो । सूचकांकअनुसार १ सय ८० मुलुकमध्ये नेपाल ३३ अंकका साथ १ सय १७ औँ स्थानमा रहेको छ । एक वर्षअगाडिको र हालैको अवस्थामा नेपालमा परिवर्तन नभएको कारण पनि सूचकांकमा पनि परिवर्तन भएको छैन । यसरी लगातार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा नै रहनु भनेको मुलुकको सरकारले भ्रष्टाचार नियन्त्रणमा कुनै चासो नदेखाएको पनि बुझिन्छ । ट्रान्सपरेन्सीले पनि अघिल्लो वर्ष र यस वर्ष नेपालको सूचकांक स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिने जनाएको छ । सूचकांकमा ५० भन्दा कम आउने मुलुकलाई ट्रान्सपरेन्सीले बढी भ्रष्टाचार हुने मुलुक मान्ने गरेको छ । ट्रान्सपरेन्सीले १ सय ८० देशको भ्रष्टाचारको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्दा नेपालको सूचकांक तथा स्थान दुवैमा परिवर्तन नआउनु सरकारहरूका असफलता हुन् । त्यसैले नेपाल सन् २०२१ मा ५० भन्दा कम सूचकांक ल्याई बढी भ्रष्टाचार हुने दुईतिहाइ मुलुकको समूहमा परेको छ । हुन त ट्रान्सपरेन्सीको प्रतिवेदनमा अत्यन्त कम भ्रष्टाचार हुने मुलुक मानिएका डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डजस्ता मुलुकमा पनि भ्रष्टाचार नै नहुने भन्ने होइन । तर, कानुन तथा व्यवस्थाअनुरूप कारबाहीको भागिदार हुने र सजाय हुने भएकाले ती मुलुकलाई कम भ्रष्टाचार हुने मुलुक मानिन्छ । तर नेपाल भने सबैभन्दा बढी भ्रष्टाचार हुने दक्षिण सुडानजस्ता मुलुकको समूहमा पर्नु भनेको कानुन तथा न्यायालयले काम नगरेको भन्ने अर्थमा बुझिन्छ । पछिल्ला तीन दशकको राज्य सञ्चालनको असफलतालाई पनि यसले उजागर गर्छ । प्रतिवेदनले भ्रष्टाचार नियन्त्रणको प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग हुनु र व्यवसायमा घुसखोरी कायमै हुनुका कारणले पनि नेपाल झन् पछि परेको उल्लेख गरेको छ । त्यसमध्ये पनि राज्यका प्रमुुख अंगहरूमा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोगबारे नेपालको अवस्था चिन्ताजनक छ ।
कुनै पनि मुलुकमा भ्रष्टाचार व्याप्त छ भने उक्त मुलुकमा कोही पनि विदेशी लगानीकर्ता लगानी गर्न आउँदैन । किनकि भ्रष्टाचारले लगानीको लागत बढाउँछ र प्रतिफल सुनिश्चित गर्न सक्दैन । कानुनभन्दा बाहिरैबाट सबै प्रकारका लेनदेन हुने मुलुकमा लगानीकर्ताले आफ्नो लगानी सुरक्षित ठान्न सक्दैनन् । मुलुकको शक्तिमा रहेका सीमित व्यक्तिले असीमित अधिकार प्रयोग गरेर व्यवसाय गर्ने वातावरण बिगार्ने, आयात–निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्यायिक निर्णयमा प्रभाव पार्नेजस्ता कार्यले मुलुक लगानीकर्ताको सम्पत्तिको सुरक्षा गर्न अयोग्य ठहरिन्छ । साथै, व्यापार, व्यवसाय, ठेक्कापट्टा, आयात–निर्यातमा घूस र भ्रष्टाचारबारे राज्यका संयन्त्रले केही काम गर्न नसक्दा लगानीको वातावरण बिग्रन्छ । जसबाट लोकतन्त्र पनि कमजोर हुन्छ र मुलुक अविकासको चक्रमा पर्छ । त्यसैले सरकारले विदेशी लगानीकर्तालाई आकर्षण गर्नका लागि पनि भ्रष्टाचार नियन्त्रणमा ध्यान दिनुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा लगानीको वातावरण धुमिल भई स्वदेशी लगानीकर्ता नै पलायन हुने खतरा पनि रहन्छ । किनकि नेपाल यसै पनि दक्षिण एसियामा लगानी र व्यापारका लागि सहज मानिँदैन । संयुक्त राष्ट्रसंघीय निकाय संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रम, एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग र युनाइटेड नेसन्स कन्फ्रेन्स अन ट्रेड एन्ड डेभलपमेन्टले संयुक्त रूपमा सार्वजनिक गरेको ‘क्लाइमेट–स्मार्ट ट्रेड एन्ड इन्भेस्टमेन्ट इन्डेक्स स्कोर’मा भारत, श्रीलंका र बंगलादेशको लगानी तथा व्यापार वातावरण राम्रो रहेको तर, नेपालका करका दरहरू निकै महँगो रहेको जनाइएको छ, जसले गर्दा नेपालमा व्यापार र लगानीको प्रतिफल लिन बढी गा¥हो रहेको उल्लेख छ । त्यसैले नेपालले तत्काल भ्रष्टाचार नियन्त्रणका प्रभावकारी उपाय गरी तथा करका दरमा समायोजन गरी लगानीको वातावरण बनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्