जाडोमा महको फाइदा «

जाडोमा महको फाइदा

अहिले मौसम निकै परिवर्तन भइराखेको छ । आज मज्जाले घाम लागेको हुन्छ भने भोलिपल्ट एक्कासि चिसो बढ्ने, हावा चल्ने, तुसारो पर्ने र बेमौसमी बर्सात हुनेसमेत भइराखेको छ । घाम मज्जाले लागेको देखेर अब त सायद जाडो बिस्तारै कम भइराखेको छ जस्तो महसुस हुन्छ, तर अर्को दिन फेरि ह्वात्तै चिसो बढिराखेको हुन्छ । कैयौं ठाउँमा हिउँ परिराखेको दृश्य पनि देख्नमा आइराखेको छ । पर्यावरणमा तापक्रम घट्दै जाँदा शरीरमा पनि अनेकौं समस्या आउँछन् । त्यसैले यस्तो चिसोबाट जोगिनु अति नै जरुरी छ । यस्तै चिसो पर्यावरणका कारण जाडो महिनामा हातखुट्टा सुक्खा हुने, छाला सुक्खा हुने, ओठ फुट्ने गर्छ भने चिसोका कारण रुघाखोकी लाग्ने, घाँटी दुख्ने, दम बढ्ने, निमोनियाँ हुनेजस्ता अनेकांै समस्याले पिरोल्ने गर्छ । यदि रुघाखोकी सामान्य खालको छ भने आत्तिएर औषधि खाइहाल्नु उचित हुँदैन । सकभर त्यसका लागि प्राकृतिक उपचार खोज्नु नै बुद्धिमानी हुन्छ ।
प्राकृतिक उपचारमध्ये अति उपयोगी औषधि मह पनि हो । जाडोयाममा धेरैले महको प्रयोग गर्ने गर्छन् । यदि ओठ फुटेमा महमा थोरै मात्रामा नरिवल वा जैतुनको तेल, गुलाफ जल र थोरै मैन मिसाएर लगाएमा ओठ फुटेको निको हुन्छ । साथसाथै ओठ फुट्नाबाट पनि जोगाउँछ भने छालामा सुक्खापन आएमा दूध र सुन्तलाको रससँग मह मिसाएर छालामा लगाएमा छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर छालाको सुक्खापन कम गरी छाला नरम बनाउने गर्छ । त्यसरी प्रयोग भएको दूधले छालामा मरेका कोषको पुनर्निर्माण गर्छ । त्यस्तै घाँटी दुखेमा तातो दूधसँग वा चियासँग मह मिसाएर खाने गरेमा घाँटी दुखेको निको हुन्छ । साथै अदुवालाई ससाना टुक्रा बनाई काटेर महमा भिजाई चुस्ने गर्दा पनि घाँटी दुखेको निको हुन्छ ।
हरेक बिहान तातोपानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरीर स्वस्थ हुन्छ र यसले चिसोबाट जोगाउँछ । नियमित प्रयोगले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ, जसले रुघाखोकी लाग्न दिँदैन । अदुवाको रस वा काँढामा मह मिसाएर खानाले खोकी सन्चो हुन्छ भने पाकेको आँपको रसमा मह मिसाएर जन्डिसको बिरामीलाई खुवाउनाले लाभ हुन्छ ।
हृदयको धमनीका लागि मह शक्तिवद्र्धक हुन्छ । सुत्ने बेला एक गिलास पानीमा मह र कागती मिसाएर खादा कमजोर हृदयलाई शक्ति सञ्चार हुन्छ । त्यस्तै पेटको सानो सानो घाउ र सुरुवातीको स्थितिको अल्सरमा महलाई दूध वा चियाको साथ पिउनाले ठीक हुन्छ । सुक्खा खोकी लागेको बेला मह र कागती मिसाएर खाँदा, कब्जियतमा गोलभेंडा वा सुन्तलाको रसमा एक चम्चा मह हालेर खाँदा राम्रो हुन्छ ।
रक्तचाप बढेको बेला लसुन र मह सेवन गर्दा लाभ प्राप्त हुन्छ । त्यसैले महलाई सही तरिकाले खाएमा यसबाट धेरै लाभ प्राप्त हुन्छ । तर, यसको उपयोग सही तरिकाले गर्न नजानेमा यो शरीरका लागि हानिकारक पनि हुन सक्छ । किनकि जुनसुकै कुराको पनि राम्रो र नराम्रो पक्ष अवश्य हुने गर्छ । यदि हामीले माछा, मासुसित मह खाएमा, चिया र कफीको साथ मह खाएमा र ज्वरो आएको समयमा खाएमा विषसरह हुने गर्छ । महलाई कहिले पनि तताउनु वा उमाल्नु हुँदैन । निकै गर्मीको बेला वा धापिएर आएको बेला मह खानु हानिकारक हुन्छ भने मह सेवन गर्नासाथ तातो पानी खानु हुँदैन । त्यसैले महको ज्यादा उपयोग पनि हानिकारक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्