अर्थतन्त्रको जोखिम ढाकछोप गरियो

सरकारका उपलब्धि र योजना
– ६ महिनामा आर्थिक क्रियाकलाप तीव्र
– अर्थतन्त्रका बाह्य क्षेत्रमा दबाब परेपनि सरकारले लिएका वित्त र मौद्रिक नीतिको कार्यान्वयनबाट सुधार हुने
– प्रतिस्थापन विनियोजन विधेयक समयमै स्वीकृत गरी कार्यान्वयनमा
– अघिल्लो वर्षको तुलनामा धेरै आर्थिक वृद्धिदर हुने
– वित्तीय क्षेत्रमा स्थायित्व
– संघीयतालाई शुद्धीकरण बनाउन एक खर्ब ८९ अर्ब वित्तीय हस्तान्तरण
– मल खरिदका लागि १५ अर्ब विनियोजन
– नेपालको विद्युत भारतमा निर्यात सुरु
– १७७ किमि सडक कालोपत्रे, २३ सडक पुल र ८२ झोलुंगे पुल निर्माण
– यसै वर्षभित्र मेलम्चीको खानेपानी आउने
– सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न मापदण्ड जारी गरी कार्यान्वयनमा ल्याइएको
– ५९.६ प्रतिशतलाई दुवै चरणको कोभिड खोप
सरकारले अर्थतन्त्रमा देखिएको जोखिमलाई स्वीकार नगर्दा थप क्षति पुग्नसक्ने अर्थविद्हरूले बताएका छन् । जोखिमउन्मुख अर्थतन्त्रलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सुधार गर्ने सम्बोधन आउने अपेक्षा गरेकोमा त्यसो नभएको उनीहरुको भनाइ छ ।
शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आर्थिक क्रियाकलापमा सुधार भइरहेको बताइरहँदा अर्थविद्हरूले भने सरकारले आर्थिक क्षेत्रमा देखिएको संकटलाई ढाकछोप गर्न खोजेको बताएका छन् । प्रधानमन्त्री देउवाले विगत ६ महिनामा आर्थिक क्रियाकलाप तीव्र रूपमा बढिरहेको र अर्थतन्त्रका बाह्य क्षेत्रमा केही दबाब पर्न गए पनि सरकारले लिएको वित्त र मौद्रिक नीति कार्यान्वयनबाट सुधार गरिने बताएका थिए । साथै देउवाले प्रतिस्थापन विनियोजन विधेयक समयमै स्वीकृत गरी कार्यान्वयनमा समेत गएको तर्क प्रस्तुत गरे । त्यस्तै उनले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न मापदण्ड जारी गरी कार्यान्वयनमा ल्याइएको समेत बताएका थिए । तर कुनै पनि कामको नतिजा नदेखिएको भन्दै अर्थविद्हरूले यथार्थलाई स्वीकार गरेर सुधारतर्फ जानुपर्नेमा त्यो अवस्था नदेखिएको बताउँछन् ।
अर्थविद् डा. डिल्लीराज खनालले एक त अर्थतन्त्रमा देखिएको संकट र त्यसमा थप कोरोनाका कारण बढेको खतराले अर्थतन्त्रलाई पार्नसक्ने स्थितिको लेखाजोखा गरेर सुधारका लागि यस्तो गर्दैछौं भन्नुु पर्नेमा सबै राम्रो छ भन्ने तर्क आएको बताए । “पुँजीगत खर्च भएको छैन, कोरोनाको महामारी पुनः देखिन थालेको छ, सबैले खोप पाएका छैनन्,” उनले भने, “विकासका काम हुन सकेका छैनन्, बैंक वित्तीय संस्था लगानीयोग्य तरलताको संकटमा छन्, त्यसले निजी क्षेत्रलाई प्रभाव पारेको छ, व्यापार घाटा बढ्दो तथा विदेशी मुद्रा संचिति घट्दो छ । तर, प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई स्वीकार गरेको देखिएन ।” अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई स्वीकार गरेर अब हामी यसरी अगाडि बढ्दै छौँ भनी आश्वस्त पार्नुपर्नेमा समस्यालाई ढाकछोप गरेर राम्रो काममात्र देखाउन खोजेको उनको आरोप छ । सरकारले काम गरेको भए त्यसको नतिजा देखिनुपर्ने भन्दै खनालले प्रधानमन्त्रीको सम्बोधन सतही भएको बताए ।
प्रधानमन्त्रीले आर्थिक क्रियाकलाप अगाडि बढेका कारण अघिल्लो वर्षभन्दा धेरै आर्थिक वृद्धिदर हासिल हुने बताएका थिए । डा. खनालले भने अघिल्लो वर्ष कोरोनाका कारण लकडाउनकै अवस्था भएकोमा यस वर्ष भने अहिलेसम्मको अवस्था केही सहज भएको समयमा पनि अपेक्षा अनुरुप खर्च हुन नसकेको र त्यसले आर्थिक वृद्धिमा समेत असर पार्ने बताए ।
त्यस्तै प्रा.डा. शिवराज अधिकारीले अर्थतन्त्रको त्यति नै नराम्रो अवस्था नभए पनि हरेक सरकारले त्यसलाई राम्रो नै भन्ने प्रचलन रहेको बताए । “ढाकछोप गर्ने शैली ठीक होइन,” उनले भने, “तर नेपालमा जुन पार्टीको सरकार आउँदा पनि गलत कुरा ढाकछोप गर्ने प्रयास गरिन्छ ।” अहिलेको अर्थतन्त्रको समस्या नेपाल राष्ट्र बैंकको तथ्यांक एवं सञ्चारमाध्यमबाट सबैलाई जगजायर भएको भन्दै अधिकारीले ढाकछोप गर्ने शैलीले जनतामा सरकारको विश्वास घट्दै जाने बताए ।
विगत ६ महिनामा अर्थतन्त्र चलायमान भए पनि त्यो आयातका कारणले भएको भन्दै उत्पादनमा त्यसले के कति योगदान ग¥यो भन्ने कुरा महत्वपूर्ण हुने उनको तर्क छ । अर्थतन्त्रको समस्यालाई स्वीकार नगरी त्यसको सुधार गर्ने नीति आउन नसक्ने भन्दै अधिकारीले हाम्रो स्रोत कता गइरहेको छ त्यसको अध्ययन गर्नुपर्ने बताए ।