वित्तीय पहुँचसँगै सम्पत्तिमा महिलाको हक बढ्दै «

वित्तीय पहुँचसँगै सम्पत्तिमा महिलाको हक बढ्दै

जुम्ला-महिलालाई घरधन्दा मेलापातमै सीमित राख्नुपर्छ, पुरुष हुँदा हुँदै महिलालाई सम्पत्तिको हक दिनु हुँदैन् भन्ने मानसिकता अब परिवर्तन भएको छ ।
विगतका कुनै पनि महिलाले घरको सम्पत्तिमा हक दाबी गर्न पाउने अवस्था नभएपनि अब भने समय फेरिएको छ । पुरुष प्रधान समाजमा महिला घरको सम्पत्तिदेखि समाजको नेतृत्व गर्ने अवसरबाट पनि सधै वन्चित हुनुपर्ने विगतको बाध्यता अब टरेको छ ।
नेपालको संविधान २०७२ ले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक पहुँचमा ल्याउन ३३ प्रतिशत महिला सहभागितादेखि महिलाका नाममा जग्गा नामसारी गर्दा, उद्योग दर्ता गर्दा लाग्ने राजस्वमा विशेष छुट दिने नीति ल्याएपछि जुम्ली महिला सम्पत्तिको हकमा वृद्धि, वित्तीय पहुँचमा वृद्धि र आर्थिक रुपमा सक्षम हुन थालेका छन् ।
अपेक्षित रुपमा राजनीति अवसर महिलाले नपाएपनि आर्थिक विकास र सामाजिक सशक्तिकरणको ठूलो हिंस्सा महिलाले नै ओगेटेको देखिन्छ । समुह सहकारीको सशक्तिकरणले सरकारी नीतिले आर्थिक रुपमा सक्षम र सम्पत्तिमा पनि महिलाको पहुँच वृद्धि भएको पाइन्छ ।
महिलाका नाग्ममा जग्गा पास गर्दा ५० प्रतिशतसम्म राजस्व छुट दिने सरकारी नीतिले यसमा मुख्य भूमिका खेलेको छ । यो नीतिले जुम्लाका महिला घरको सम्पतिको पहुँचमा पुगेका छन् । मालपोत कार्यालय जुम्लाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म मात्रै जुम्लाका १ सय २५ जना महिलाको नामममा सबै घर जग्गा पास भएको छ ।
जसमा ५४ जना सात गाउँपालिका र ७१ जना चन्दननाथ नगरपालिकाका महिला रहेका छन् ।
महिलाका नाममा जग्गा पास गर्ने, नामसारी गर्ने नगरपालिका भन्दा गाउँँपालिकामा अझै कम छन् । “राजस्वमा छुट नीतिले सम्पत्तिमा महिला हक बढ्दै गएको छ । सधै अपहेलित महिलाहरु पनि सम्पत्तिमा हक बढेपछि जिम्मेवारी भएको महसुश गरिहेका छन्” मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्र रोकाया भन्छन्, “छुट नीतिले पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको संख्या उल्लेख्य छ ।”
नगरपालिकाको महिलाको हकमा जग्गा नामसारी, दर्ता, पास गर्दा लाग्ने राजस्वमा २५ प्रतिशत र गाउँपालिकाका महिलाको नाममा हकमा ५० प्रतिशत छुट दिइने प्रावधान छ । चालु आवको पुस मसान्तसम्म महिलाको नाममा जग्गा नामसारी, दर्ता,पास हुँदा झण्डै १० लाख ७३ हजार ८ सय ३५ रूपैयाँ राजस्व छुट भएको छ । यो नीतिले एकातिर महिला पनि सम्पत्तिको पँहुचमा आएका छन् भने अर्कोतिर विपन्न नागरिकलाई पनि राहत भएको कार्यालय प्रमुख रोकायाको भनाइ छ । त्यसका साथै जग्गा पास गर्दा दलित अपांगलाई २५ प्रतिशत छुट दिने नीति छ । जसअनुरुप जुम्लाका ३१ जना दलित महिलाले आफ्नो घरको सम्पत्तिको पहुँचमा पुगेका छन् ।

आर्थिक रुपमा सक्षम महिला
समुह सहकारी कारण बजारका भन्दा ग्रामिण महिला आर्थिक रुपमा सक्षम हुन थालेका छन् । ऋण ल्याउने, व्यवसाय गर्ने, ऋण बुझाउने, नियमित बचत गर्ने जस्ता आर्थिक गतिविधिमा पुरुषभन्दा महिला बढी सक्रिय देखिन्छ । आर्थिक कारोबारमा सहकारी वित्तीय संस्थाले पुरुष भन्दा महिलाको विश्वास बढी गर्न थालेका छन् ।
“हामी महिला विगतको जस्तो कमजोर छैनौ । आर्थिक गतिविधिमा पनि उत्तिकै सक्रिय छौं” तातोपानी २ की मायादेवी दमाई भन्छिन्, “सहकारी वित्तीय संस्थाले पनि महिलालाइ आर्थिक रुपमा सक्षम बनाउन विभिन्न कार्यक्रम गर्दा थप उर्जा मिलेको छ ।” समुह सहकारीका कारण बजारका भन्दा गाउँका महिला बढी सक्षम र सक्रिय छन् ।
चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाका सदस्य सचिव ऋषिराम पाण्डले सहकारीले महिलालाई वित्तीय पहुँचमा ल्याउन, घरका हुने आर्थिक कारोबारका अग्रसर बनाउन, घरको कामसँगै आर्थिक गतिविधि पनि गर्न गर्ने सक्षम बनाउनसफल भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्