Logo

दलित महिला हत्याको ३ आरोपित सार्वजनिक

सर्लाही – दलित महिलाको बीभत्स तरिकाले हत्याको गरेको आरोपमा प्रहरीले ३ जना आरोपितलाई सार्वजनिक गरेको छ ।
सर्लाहीको बरहथवा नगरपालिकास्थित इलाका प्रहरी कार्यालयले शनिबार घटनामा संलग्न एकै गाउँका तिनै जना साथीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
बरहथवा नगरपालिका–१० कटानी टोल बस्ने सुरत राम महराको श्रीमती वर्ष ३२ की सावित्रीकुमारी महराको हत्यामा संलग्न हरिवन नगरपालिका–१०, ताइवान टोल बस्ने २७ वर्षीय सन्तोष साह, सोही ठाउँ निवासी २७ वर्षीय मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरालाई सार्वजनिक गरेको हो ।
गत पुस १७ गतेका दिन वीरगन्ज औषधि गराउन जान्छु भनी घरबाट निस्केकी महिलाको एक सातापछि २३ गते बिहान सोही वडास्थित राम छविला साहको उखू खेतभित्र महिलाको शवको केही भाग जलेको अवस्थामा निर्वस्त्र फेला परेको थियो ।
इलाका प्रहरी कार्यलय बरहथवाका प्रमुख डीएसपी उमा शंकर यादवका अनुसार घटनाको सुक्ष्म अनुसन्धान गर्र्दै जाँदा मृतक महिला र अभियुक्त सन्तोष साहबीच केही समययता प्रेमसम्बन्ध रहेको रहस्य खुलेको जानकारी दिए । मृतक महिलाको श्रीमान् विगत लामो समयदेखि वैदेशिक रोजगारमा छन् ।
सोही सम्बन्धका कारण मृतक महिलाले अभियुक्त सन्तोषलाई आफूलाई बिहे गर्न (भगाउन) बारम्बार दबाब दिँदै आएकी थिइन् । विवाहित सन्तोषले भगाउन नसक्ने भएका कारण अवैध सम्बन्ध लुकाउन गाउँकै दुई साथीहरूलाई केही पैसा दिने लोभसमेत देखाएर हत्याको योजना बनाएको प्रहरीले जनाएको हो ।
वैदेशिक रोजगारीका लागि श्रीमानले पठाएको १० लाख रुपैयाँबाट घडेरी किन्ने सोचमा रहेकी मृतक महिलालाई आफनै बुबाको माध्यमबाट दलाल सन्तोषसँग चिनजान भएको थियो ।
घटनाको अनुसन्धानका क्रममा घटनामा उनीहरूको संलग्नता पाइएको डिएसपी उमा शंकर यादवले जानकारी दिए । प्रहरीले घटनामा प्रयोग भएको एक थान मोटरसाइकल तथा घटनास्थलबाट बरामद भएको सामग्रीसमेत पत्रकार सम्मेलनको क्रममा सार्वजनिक गरेको थियो ।
जग्गा किन्न भनेर मृतक महिलाले सन्तोषलाई २ लाख बैनासमेत दिएकी थिइन् । यसरी उनीहरूको नियमित भेटघाट र फोन सम्पर्क भएको प्रहरीको भनाइ छ । त्यसपछि उनीहरू नियमित भेट गर्ने विभिन्न काम पर्दा सन्तोष महिलाको घरमा पुग्ने गरेका थिए। मृतक महिलाका श्रीमान्ले पठाएको पैसा उनीहरूले खर्च गरेको देखिएको छ ।
जलाएको अवस्थामा मृत लाश फेला परेको ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्